सुर्खेतको मेहेली र सल्यान जिल्लाको कालाखोलाका स्थानीयहरु जंगली जनावरको त्रासमा बस्नु परेको छ । जंगली जनावर बाघले पशुचौपायमाथि आक्रमण गर्दै गएपछि यहाँका बस्तीहरु त्रासैत्रासमा रात बिताउन बाध्य छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ मा पर्ने मेहेली क्षेत्रमा बाघले आतंक नै मच्चाउन थालेको छ ।
मेहेली र कालाखोलावासी बाघको त्रासले दिउँसै एक्लै हिड्न डराउन थालेका हुन् । पछिल्लो ३ महिनाको अवधिमा मात्रै बाघले ६० बढी पशु चौपायहरु मारेपछि स्थानीयहरु आतंकित छन् । वीरेन्द्रनगर नगरपालिका–१६ का वडाध्यक्ष डण्डबहादुर विकले एक हप्ताअघि मात्रै गोठमा बाधिएको गोरु बाघले मारेको जानकारी दिए ।
उनले भने, ‘बाघले हाम्रो वडाको सबै भन्दा धेरै मेहेली लगायत डाँडा खोरिया, तीनघरे, काफलगैरी, देवस्थल, लेकछडा, भित्रीगैरी बस्तीमा पशुचौपाया मार्ने गरेको छ । जंगलमा चराउन लगिएका बाख्राहरु जंगलमै मार्ने गरेपछि स्थानीय नागरिकहरुलाई समस्या भएको छ ।’ वडाध्यक्ष विकका अनुसार खोच र जंगल क्षेत्र धेरै भएकाले बाघ देखिँदैन ।
तर, चराउन लगिएका पशु चौपायमा क्षती पुर्याउने गरेको छ । केही दिनको फरकमा बाघले धमाधम पशुधनमा क्षती पुर्याउन थालेपछि स्थानीय पीडामा छन् । बाघको व्यवस्थापनका लागि डिभिजन वन कार्यालयसँग समन्वय गरेपनि प्रभावकारी हुन नसकेको वडा कार्यालयले जनाएको छ ।
बाघलाई नियन्त्रणमा लिन कठिन भूगोलका कारण समस्या भएको र एकै ठाउँ नबस्ने हुँदा स्थानीय कृषकले पालेका पशुहरु सखाप पार्ने गरेको वडाध्यक्ष विकले बताए । उनका अनुसार पछिल्लो १ वर्ष यतादेखि मेहेली क्षेत्रमा बाघ देखिदै आएको छ । बाघले आतंक मच्चाएको मेहेली क्षेत्र वीरेन्द्रनगर नगरपालिका–१६ र लेकवेशी नगरपालिका–८ नम्बर वडा बीचमा पर्दछ ।
यस्तै, सल्यानको कालिमाटी गाउँपालिका–२ कालाखोलामा बाघले बस्तीमा पसेर गत आइतबार दुई किसानका चार बाख्रा मारेको छ । साथै एउटा बाख्रालाई घाइते बनाएको छ । रातिको समयमा कालाखोलाका धामप्रसाद अधिकारी र कृष्णप्रसाद अधिकारीको घरसँगै जोडिएको खोरमा पसेर बाघले बाख्रा मारेको हो ।
किसान धामप्रसाद अधिकारीले बाघले खोरमा पसेर ३ वटा बाख्रा मारेर खाएको र एउटालाई घाइते बनाएको बताए । यस्तै, अर्का किसान कृष्णप्रसाद अधिकारीको पनि एउटा बाख्रा मारेर खाएको छ । बस्तीमै छिरेर घरसँगै सटेको गोठमा पसी बाघले बाख्रा मारेर खाएपछि सिंगो बस्ती नै त्रसित बनेको हो । बाघको त्रासका कारण स्थानीय एक्लै घरदेखि टाढा जान सकेका छैनन् ।
बाघबाट पशुचौपायासँगै सर्वसाधारणको ज्यान बचाउन स्थानीयले सम्बन्धित निकायमा आग्रह गरेका छन्,’ वडा नं २ का सदस्य अमरबहादुर ओलीले भने, ‘बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेपछि सिमानामा पर्ने कालिमाटी गाउँपालिकाको विभिन्न वडामा बाघले बेलाबेलामा पशुचौपाया मार्दै आएको छ । तीन महिनाअघि मात्र बाघले कालाखोलाकै एक स्थानीयका धेरै बाख्रा मारेर खाएको थियो ।’
बाघ बस्तीमा पस्न थालेपछि राती शौचालय जानका लागि बाहिर निस्कन र दिउँसो घरमा स–साना बालबालिकालाई एक्लै छाडन नसकिने अवस्था सृजना भएको स्थानीयको भनाइ छ । स्थानीय टीका अधिकारीले बस्तीका सबै मिलेर चारैतिरबाट धपाउन खोजेपनि बाघलाई भगाउन नसकिएको जानकारी दिइन् । उनले भनिन्, ‘अहिले गाईबाख्रा चराउन, घाँस दाउरा गर्न जंगल जान सकिँदैन ।’
जंगल नजिकै बस्ती भएकाले बस्तीमा बाघ पस्न थालेको छ । विगतमा बेलाबेलामा मान्छेलाई पनि आक्रमण गर्दै आएकाले पशुपालन गर्न पनि डर छ । स्थानीय लोकबहादुर केसीले निकुञ्जको सीमा क्षेत्र खुला भएकाले जंगली जनावरले मान्छेलाई दुःख दिँदै आएपछि बसाईँसराईँ गर्ने क्रम बढेको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत