सूचनाको शक्ति - The Power Of Information

        

फर्केर हेर्दा...

वर्ष समिक्षा २०८१ : राजनीतिभन्दा आर्थिक क्षेत्रमा पूर्वराजाको चासो

पूर्वराजा शाहले चरम मन्दीका बेला आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेमात्रै उन्नति हुने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष ०८२ को शुभकामना सन्देश दिने क्रममा आफ्नो राजनीतिक अभिप्रायः त लुकाएनन्, तर देशमा आर्थिक छटपटी रहेको स्वीकार गर्दै त्यसबाट बाहिर निस्कन अपनाउनुपर्ने बाटोबारे आफ्ना विचार राखे । वर्ष ०८१ को अन्तिम दिन शुभकामना सन्देश जारी गर्दै उनले आगामी वर्ष ०८२ नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने मतसमेत राखे ।

पछिल्ला हप्ताहरुमा नेपालमा राजावादी प्रदर्शनहरु बढ्दै गरेका बेला शाहले त्यो ‘आस्था र अभिव्यक्ति’ राख्न पाउने ‘नागरिक स्वतन्त्रता’ प्रजातन्त्रमा सुरक्षित हुने अपेक्षासमेत राखे । तीनकुनेमा राजावादी जमातका नाममा १५ चैतमा विध्वंश भए पनि पूर्वराजा शाहको कुनै टिप्पणी आएको थिएन । सचिवालयले छिटफुट टिप्पणीमात्रै गरेको थियो । आइतबार भने शाहले त्यसप्रति आफूलाई दुःख लागेको अभिव्यक्ति दिए । १४ मिनेट लामो भिडियो वक्तव्यलाई अंग्रेजी सबटाइटलसमेत हालिएको थियो ।

जहाँ नेपालजस्तो संसारकै सुन्दर देशमा उत्पन्न वित्तीय संकटले युवा पलायन बढेकामा चिन्ता व्यक्त थियो । भूमण्डलीकरणले सिर्जना गरेको आत्मनिर्भरताको संकटमा अब ‘पृथ्वीविचार’ अर्थात् पृथ्वीनारायण शाहले अघि सारेका स्वाबलम्बनका मान्यतालाई जोड दिनुपर्ने पूर्वराजा शाहको भनाइ थियो । उनले चरम मन्दीका बेला आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेमात्रै उन्नति हुने बताए । अघिल्ला वक्तव्यहरुमा देशवासीलाई प्यारा भन्ने शाहले आज भने आत्मीय पनि थपेर सम्बोधन गरे, जहाँ नागरिकले भोगिरहेको आर्थिक संकटलाई ‘दल’ वा ‘वादको विवाद’ले मात्रै सम्बोधन गर्न नसक्ने तर्क उल्लेख थियो ।

यसअघि ६ फागुनमा सम्बोधन गर्ने क्रममा आफूले देशवासीलाई ‘अब समय आयो, के त्याग गर्नुपर्छ म तयार छु,’ मजबुनको सन्देश दिएका शाहले आजको सम्बोधनको अन्त्यमा त्यो समय ‘आगामी वर्ष’ हुन सक्ने परोक्ष सन्देश पनि प्रवाह गरे । राजावादी प्रदर्शन विध्वंशात्मक बनेसँगै यसका अगुवाहरु प्रहरी फन्दामा छन् । राप्रपाले ७ वैशाखमा अर्को प्रदर्शन आयोजना गर्दैछ । पूर्वराजाले वैशाख पहिलो साता पशुपतिनाथमा पूजा अनुष्ठान लगाउने सूचना प्राप्त छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, आइतवार १८:१८

लोकप्रिय