सूचनाको शक्ति - The Power Of Information

        

नाइट क्लबको छत खस्दा ६६ जनाको मृत्यु, १५० घाइते

डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिंगोस्थित जेट सेट नाइट क्लबको बिहान छत खस्दा कम्तीमा ६६ जनाको मृत्यु भएका छन् । १५० भन्दा बढी घाइते भएका छन् । प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका वेला अचानक अँध्यारो भएको र क्लबको छत खस्न थालेको सञ्चारमाध्यमले जनाएको छ ।

घटना हुँदा क्लबमा करिब एक हजार मानिस रहेको बताइएको छ । आपतकालीन अपरेसन केन्द्र (सीओई)का निर्देशक जोआन मैनुअल मन्डेजले घटनामा ६६ जनाको मृत्यु भएको पुष्टि गरे । धेरै मानिस भग्नावशेषमा पुरिएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । मेन्डेजले भत्केको छतमुनि पुरिएका धेरैजसो अझै जीवित रहेकोमा आशावादी रहेको बताए । घटनामा प्रान्तीय गभर्नर र पूर्व मेजर ५१ वर्षीय लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि थिए ।

भग्नावशेषबाट निकालिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भयो । स्थानीय मिडियाले घटनास्थलमा निर्माण क्रेन प्रयोग गरिरहेको र उद्धारकर्मी जीवित व्यक्तिहरूलाई खोज्ने कार्यमा केन्द्रित भएको उल्लेख गरेका छन् । राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरेका छन् । उनले सरकार उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको र सबै राहत एजेन्सीले घाइतेको मद्दतमा जुटेको बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार ०७:४४

लोकप्रिय