सूचनाको शक्ति - The Power Of Information

        

आज पनि काठमाडौँ वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा

वायु प्रदूषण मापनमा आज पनि काठमाडौँ उपत्यका विश्वकै पहिलो स्थानमा छ । विश्वभरको वायुको गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’ले बुधबार बिहान सवा ६ गरेको मापन अनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा देखिएको हो ।

यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वको दोस्रो स्थानमा छ भने युगान्डाको कम्पला तेस्रो स्थानमा छ । इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १८४ छ । प्रदूषण मापन सूचकांक अनुसार वायुको यो अवस्था अस्वस्थकर हो ।

प्रदूषणमा दोस्रो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले १८० छ । त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको कम्पलाको एक्यूआई १५७ छ । चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै आएका छन् ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरुले बताएका छन् ।

विगत दुईतीन दिनयता काठमाडौँ उपत्यकाको वायु प्रदूषण केही कम भए पनि विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा भने अहिले पनि कायमै छ । केही दिनअघि काठमाडौँको एक्यूआई ३५२ सम्म पुगेको थियो ।

स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ । चिकित्सकहरुले यस्तो अवस्थामा साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ ।

५१ देखि १०० सम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ । १०१ देखि १५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ ।

२०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० सम्मलाई अति खतरा मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार ०७:४०

लोकप्रिय