सूचनाको शक्ति - The Power Of Information

        

सगरमाथाको आधार शिविरमा विलासी सामानको प्रयोग, बढ्दै समस्या

विज्ञहरुले सगरमाथा आधार शिविरमा विलासी सामानको प्रयोगमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरु बढी जोखिममा परेको दाबी गर्दै त्यस्ता सामानमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

हिमाली पर्यटन व्यवसायी एवम् पथप्रदर्शक दावा टासी शेर्पाले हिमाली क्षेत्रमा विलासी बस्तुको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरेको गुनासो गरे । आरोही बढेर नभई विलासी सामान प्रयोगका कारण हिमालका आधार शिविर जोखिममा परेका उनको दाबी छ । यस्तै कार्यक्रममा जलवायु विज्ञ पपुलर जेन्टलले हिमाली क्षेत्रमा आइरहेको संकटले हिमाली क्षेत्रमा मात्र नभई विश्वमै प्रभाव पार्ने बताए ।

अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का प्रमुख पेमा ग्यामात्सोले हिउँ पग्लिएको विषय जलवायु परिर्वतनका कारण मात्रै नभएको भन्दै मानविय गतिविधिहरुलाई पनि पुनः मूल्यङ्कन गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय आधारशिविरमा आरोहीहरुलाई पाँचतारे होटल सरह सुविधा उपलब्ध गराउने होड बढेको छ । ताप बढाउनेदेखि खाना पकाउने लगायतका काममा उपकरणको प्रयोग अत्याधिक बढेपछि त्यसको असर हिउँमा पर्न थालेको विज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार ०७:२५

लोकप्रिय