सूचनाको शक्ति - The Power Of Information

        

नेपालको आफ्नै कार्ड ‘नेपाल पे’, के होलान् सुविधा ?

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले औपचारिक रूपमा एनपीएस नेसनल कार्ड स्विच र डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो प्रविधिको उद्घाटन गरे ।

‘नेपालको आफ्नै कार्ड’ भन्ने नाराका साथ एनसीएचएलले नेपाल पेमेन्ट कार्ड सुरु गरेको हो । सुरुवाती चरणमा सिटिजन्स बैंक, गुडविल फाइनान्स लिमिटेड, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबि बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकबाट नेपाल पे कार्ड जारी हुने कम्पनीले जनाएको छ ।

यो डोमेस्टिक कार्ड स्किमअन्तर्गत डेबिट, क्रेडिट, प्रिपेड, भर्चुअल जस्ता विभिन्न प्रकारका कार्डहरू क्रमिक रूपमा उपलब्ध हुने बताइएको छ । यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको यसअन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनेछ । भविष्यमा यस कार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोग गर्न मिल्नेगरी काम भइरहेको एनसीएचएलले जनाएको छ ।

कार्यक्रममा हिमालयन बैंकले गभर्नर अधिकारीलाई पहिलो नेपाल पे कार्ड जारी गरेको थियो भने माछापुच्छ्रे बैंकमा पहिलो पीओएस कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकको नेपाल भुक्तानी प्रणाली विकास रणनीतिको मार्गदर्शनअनुसार यो परियोजना कार्यान्वयनमा ल्याइएको हो । विभिन्न चरणको छलफल र स्वीकृतिपछि राष्ट्र बैंकले एचसीएचललाई यसको कार्यान्वयनको जिम्मेवारी दिएको हो ।

यसअन्तर्गत आवश्यक पूर्वाधार तयारी पूरा भइसकेको र अब बैंक तथा वित्तीय संस्थाहरूको स्विच इन्टिग्रेट गर्ने कार्य अघि बढाइने बताइएको छ । एनसीएचएलले यस प्रणालीको पूर्ण व्यावसायिक सञ्चालन र स्वीकार्यताका लागि बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार १८:२७

लोकप्रिय