सूचनाको शक्ति - The Power Of Information

        

बाँके रोजगार मेलामा ९३ जनालाई रोजगारी

नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टंक धामीले जिल्लाका सातवटा स्थानीय तहसँगको समन्वयमा दुई दिनसम्म सञ्चालन गरिएको रोजगार मेलामा रोजगारी खोज्दै ठुलो सङ्ख्यामा बेरोजगारहरू पुगेको बताए ।

उनले आवेदन दिएकामध्येबाट रोजगारदाता र रोजगार खोज्नेबिच प्रत्यक्ष संवाद गराई मेलास्थलमै ९३ जनाको रोजगारी ग्यारेन्टी गरिएको र अन्यलाई पनि सम्पर्कमा रहन भनिएको बताए ।

मेलामा रोजगारदाताका ४० वटा स्टलहरू राखिएको जनाउँदै सङ्घका अध्यक्ष धामीले आवेदन दिने एक हजार ४५ जना मध्ये ६०२ जनाले तालिम आवश्यक रहेको भन्दै आवेदन दिएको र अन्य ४०० बढीले सीप भए पनि काम नभएको भन्दै आवेदन दिएको बताए ।

रोजगार मेलाका परामर्शदाता सरोज चौधरीले अपाङ्गता भएका सात जनालाई नेपालगन्जका होटलहरूले मेलास्थलमै नियुक्तिपत्र दिएको जनाउँदै अन्य ९३ जनाको पनि रोजगारको ग्यारेन्टी भएको बताए ।

उनका अनुसार मेलामा रोजगार खोज्दै बाँकेका आठ वटै स्थानीय तहका विभिन्न गाउँ र टोलबाट आएका बेरोजगारको लर्को लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पनि भूमिका खेलेका थिए । स्थानीय तहमा सूचीकृत बेरोजगारहरूलाई मेलामा सहभागी गराइएको थियो ।

सङ्घले जिल्लामै पहिलो पटक रोजगार मेला आयोजना गरेको जनाउँदै सङ्घका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी ओलीले तीन तहकै सरकारसँग समन्वय र सहकार्य गरेर जिल्लाका लागि आवश्यक जनशक्ति उत्पादन गरिने बताए ।

सङ्घले रोजगार मेलामा कृषि र पर्यटनका विषयमा सरोकारवालाबिच छुट्टाछुट्टै संवाद गरेको थियो । सरोकारलाहरूले रोेजगारी सिर्जनाका विषयमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएको वरिष्ठ उपाध्यक्ष ओलीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार १७:३१

लोकप्रिय