बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको धुमैया जलाधार क्षेत्रमा नेपालगञ्जको प्रचण्ड गर्मी छल्न आउने आन्तरिक पर्यटकहरु झरनामा नुहाउने, तस्वीर खिच्ने, भिडियो छायाङ्कन गर्ने र वनभोज खाएर रमाउने गरेका छन् ।
गर्मीयाममा नेपालगन्ज, कोहलपुर लगायतका सहरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय चन्द्रप्रकाश रिजालले बताए । जलाधार क्षेत्रमा प्रवेश गर्ने आन्तरिक पर्यटकलाई प्रवेश शुल्क रसिद काट्ने काम गर्दै आउनुभएका रिजालले गर्मीयाममा दैनिक ३०० देखि ४०० जना घुम्न पुग्ने गरेको जानकारी दिए । गर्मीयाममा प्राकृतिक रुपमा बगिरहेको झरनामा नुहाउने र पोखरीमा पौडी खेल्न यहाँ आउने गरेको राप्ती सोनारी–३ बैजापुर निवासी टारजन वलीले बताए ।
पछिल्लो पटक टाढाबाट मानिसहरु जिप, कार र मोटरसाइकलमा आएर दिनभर रमाउने गरेको उनको भनाइ छ । सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा भएको सामान्य पूर्वाधार विकाससँगै खानेपानीको धारा, पौडी खेल्न मिल्ने पोखरी र वनभोज गर्न मिल्ने सामान्य संरचना निर्माण भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको स्थानीय जुद्धबहादुर पुनले बताए । जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सविन पुनले उल्लेख गरे ।
‘बजेट अभावमा पूर्वाधार विकास गर्न सकिएको छैन, तर पनि पछिल्लो समय घुम्न आउने पर्यटकको संख्या बढ्दो छ,’ उनले भने, ‘शनिबार र सार्वजनिक बिदाको दिन यहाँ आउने पर्यटकको भीडभाड हुने गर्दछ ।’ धुमैया जलाधार क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवर्धनका लागि गाउँपालिका र प्रदेश सरकारसँग बजेट माग गरे पनि कहीँबाट बजेट विनियोजन हुन नसकेको उनको गुनासो छ । बर्सातमा बाढीले भत्काएको सडक समेत बजेट अभावले निर्माण गर्न नसकिएको पुनले जानकारी दिए ।
सदरमुकाम नेपालगन्जबाट करिबबाट २५ किलोमिटर पूर्वमा राप्ती नदीपारि अवस्थित धुमैया जलाधार क्षेत्र पुग्न बिनौना चिलहरिया चोकसम्म पक्की हुलाकी राजमार्ग रहेको छ । चिलहरिया चोकदेखि करिब तीन किलोमिटरको कच्ची सडक पार गरेपछि सजिलै यहाँ पुग्न सकिन्छ । गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले धुमैया जलाधार क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवर्धनका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके