तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि घटनाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । कतिपयले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोडेपछि परिस्थिति बिग्रिएको बताएका छन् भने आन्दोलनकारीले सुरक्षाकर्मीले निजी घरमा छिरेर अश्रुग्यास प्रहार गरेपछि आन्दोलन भड्किएको बताइरहेका छन् ।
चिया–चौतारी, सभा–सम्मेलन, जमघट र सामाजिक सञ्जालमा आन्दोलनको कार्यक्रमभन्दा पनि आगजनी, तोडफोड, लुटपाट र हत्यासम्मका घटनालाई लिएर बढी आलोचना भइरहेको छ । हिंसात्मक घटनाको चर्को आलोचना भइरहेको छ । नेपालको राजनीतिक भविष्य वा हालको व्यवस्थाप्रति पनि प्रश्नहरू उठेका छन् ।
नेपालको राजनीति आज एउटा यस्तो रङ्गमञ्च बनेको छ, जसको हरेक दृश्यले जनतालाई हाँस्न, रुन र सोच्न बाध्य बनाउँदै लगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीपछि उत्तेजित बनेका समर्थकहरू सरकार र शीर्ष दलहरूप्रति बढी चिढिएका छन् ।
राजसंस्था तत्काल पुनःस्थापित हुने सम्भावना न्यून रहेकाले मानिसहरू दलहरूको प्रवृत्तिप्रति बढी रुष्ट देखिन्छन् । राजावादी आन्दोलनको उदय हुनुलाई कुलमानको बर्खास्ती, बालेन शाहको विद्रोह र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेको तानाशाहीको आरोपले सर्वसाधारणमा व्याप्त असन्तुष्टिको चित्र कोरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलनबाट उदाएका पुराना राजनीतिज्ञ हुन्, जो चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा छन् । ७३ वर्षको उमेरमा पनि उनको बोलीमा उही तिख्खरपन छ तर उनको सामुन्ने उभिएका छन्, नयाँ पुस्ताको प्रतीक काठमाण्डु महानगरकाका मेयर बालेन शाह । ३४ वर्षीय बालेन, जो र्यापरबाट राजनीतिज्ञ बने, आज युवाहरूको सपनाको डोजर बनेका छन् ।
त्यसैले ओली भर्सेस बालेन प्रवृत्तिले मानिसहरूलाई उत्तेजित बनाइरहेको छ । ओली र बालेनको भिडन्त एउटा यस्तो दृश्य हो, जस्तो कि पुरानो किल्लाको पहरेदार र आधुनिक बुल्डोजर बीचको लडाइँका रूपमा बुझ्न सकिन्छ । बालेनले काठमाडौंको फुटपाथ फराकिलो बनाउन खोज्दा ओली नेतृत्वको दल नेकपा एमालेले मन्त्रालयको शक्ति लगाएर रोक्न खोजेको आरोप सतहमा छ ।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्, जसले १८ घण्टाको लोडसेडिङलाई इतिहास बनाएर जनताको हृदय जित्न सफल भए । तर २०८१ चैत १० गते ओली सरकारले उनलाई हटायो । सरकारको निर्णयले सडकमा आगो बल्यो, प्रदर्शनकारीले ऊर्जामन्त्री दिपक खड्काको पुत्ला समेत जलाए ।
‘कुलमान जिन्दावाद, अध्यारो सरकार मुर्दावाद’को नारा गुञ्जियो । ऊर्जामन्त्री दिपक खड्को शून्य अंक मूल्यांकनको बहानाले कुलमान हटाइए । तर जनताले सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ ठाने । कुलमानका बेइमानी सार्वजनिक नभएको र ओलीप्रतिको आक्रोशले सडकमा मानिसहरूलाई उत्तेजित बनाएको छ ।
२०६५ सालमा राजतन्त्रको अन्त्य भएको घोषणा भए पनि पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू सडकमा छन् । ‘राजा आऊ, देश बचाऊ’को नारा बोकेर काठमाण्डुदेखि पोखरासम्म मोटरसाइकल र्याली पनि भए । तर चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनले हिंसात्मक आन्दोलनको रूप लियो । जसका कारण राजावादी आन्दोलनमाथि गम्भीर असर परेको छ ।
शान्तिपूर्ण आन्दोलनमार्फत सन्देश दिन सकेको भए राजावादीहरूलाई थप बल मिल्ने थियो । प्रहरीका अनुसार राजावादीले तोडफोड र आगजनी मच्चाउँदा १५ वटा गाडी (९ सरकारी, ६ निजी) ध्वस्त भए, १४ ठाउँमा आगो लगाइयो र ९ वटा संस्थामाथि आक्रमण भयो । झडपमा ५३ प्रहरी (२२ सशस्त्र, ३१ नेपाल प्रहरी) र ३५ प्रदर्शनकारी घाइते भए । २ जनाको ज्यान गयो र ५१ जनालाई प्रहरीले पक्राउ गर्यो । हिंसात्मक घटनाले ओली सरकारमाथि थप दबाब सिर्जना भएको छ ।
यी सबैको बीचमा ओलीमाथि ‘तानाशाही’को आरोप बल्झिएको छ । संसद् विघटनको इतिहास बोकेका ओलीको निर्णय शैलीमाथि प्रश्न उठिरहेको छ । कुलमानको बर्खास्त र राजावादी प्रदर्शन दबाएको आरोप थप पेचिलो बनेको छ । जसका कारण ‘के ओली अधिनायक बन्दैछन् ?’ भन्ने बहस जन्माएको छ ।
प्रदर्शनकारीले ‘ओलीको तानाशाही मुर्दावाद’को नारा लगाए तर ओलीले यो आरोपलाई मजाक बनाइरहेका छन् । ‘म देश समृद्ध बनाउन चाहन्छु, विरोधीहरूले भ्रम फैलाए’ उनी भनिरहेका छन् तर सडकको आक्रोशले उनको दाबीलाई चुनौती दिइरहेको छ ।
शुक्रबारको प्रदर्शनपछि विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको छ । कतिपयले ‘यो हिंसा भारतको उक्साहटमा भयो’ भनेर ओलीको पुरानो भनाइलाई जोडिरहेका छन् । केहीले ‘यो ओलीको असफलताले जन्माएको विद्रोह हो’ भनिरहेका छन् । तर केहीले सरकार र दलहरूप्रति जन्मिएको निराशा हो भनिरहेका छन् । राजावादी आन्दोलनले समाजलाई ध्रुवीकरण गरेको छ ।
काठमाडौंमा गणतन्त्रवादी र राजावादी एकसाथ सडकमा देखिने गरेका छन् । ओली सरकारले अबको संकट सम्हाल्न सके, उनको शक्ति बलियो हुनसक्छ तर गल्ती गरे भने यो उनको पतनको सुरुवात हुनेछ भनेर व्याख्या गरिएको छ । बालेन र कुलमान जस्ता पात्रले युवालाई आशा दिएका छन् तर उनीहरूको जोशले मात्रै राजनीति बदल्न सक्ने अवस्था देखिएको छैन ।
दलीय व्यवस्था भएको मुलुक भएकाले तत्काल व्यवस्था परिवर्तन टाढा छ । राजावादी आन्दोलनले इतिहास फर्काउन खोजे पनि, लोकतन्त्रको जरा कति बलियो छ, त्यो समयले देखाउनेछ । कतै यो हिंसा नयाँ क्रान्तिको संकेत त होइन वा यो केवल अस्थिरताको अर्को अध्याय हो ? यही प्रश्न अहिले समाजमा व्याप्त छ ।
नेपाली जनता किन सरकार र लोकतन्त्रसँग रुष्ट छन् भन्ने प्रश्नको उत्तर खोज्ने हो भने भ्रष्टाचार, कमिसन र घोटाला प्रकरण प्राथमिकतामा छ । बेरोजगार ४० लाख युवा विदेश पलायन भए, तर सरकारले रोजगारीको विकल्प दिएन । आधारभूत सुविधाको अभावमा सडकमा खाल्डाखुल्डी छन्, बिजुली र पानीको हाहाकार छ । लोकतन्त्रले २०६२–०६३ को आन्दोलनमा देखाएको सपना पूरा गर्न सकेन, बरु नेताहरूको कुर्सीको खेल बन्यो ।
यी उथलपुथलका पछाडि गहिरो कारण छन् । नेताहरूको सत्ता लिप्सा र गुटबन्दीले राजनीतिलाई अस्थिर बनाएको छ । सत्ताको खिचातानी र जनताको उपेक्षाको परिणाम हुन् । केही समयअघि बंगलादेशमा शेख हसिनाको सरकारविरुद्ध जनविद्रोह भयो, विद्यार्थी र युवाको आन्दोलनले सत्ता ढाल्यो । नेपालमा पनि ओली सरकारविरुद्ध असन्तुष्टि बढ्दैछ । बंगलादेशमा जस्तै यहाँ पनि भ्रष्टाचार, बेरोजगारी र दमनले जनतालाई सडकमा ल्याएको छ । हिजोको राजावादी हिंसा र युवाको आक्रोशले प्रश्न उठ्छ, के नेपाल त्यही बाटोमा जाँदैछ ? अनेक प्रश्न उब्जिएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं