सूचनाको शक्ति - The Power Of Information

        

जगमान गुरुङ तोकिए राजावादी आन्दोलनको अगुवा

वर्तमान व्यवस्थाको विरोधमा रहेको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ । आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि समितिको नेतृत्व जगमान गुरुङलाई दिइएको हो ।

सुवेदीको नामबाट जारी एक विज्ञप्तिमा आन्दोलनको नेतृत्व गुरुङले गर्ने उल्लेख छ । ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । सुवेदीले आन्दोलन निरन्तर राख्न पनि अनुरोध गरेका छन् ।

शुक्रबारको हिंसात्मक प्रदर्शनपछि ८६ वर्षीय सुवेदीलाई सरकारले घरमै नजरबन्दमा राखेको छ । प्रसाईं भने फरार छन् । प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित दर्जनौंलाई पक्राउ गरेको छ । हाल राजावादी नेताहरू पक्राउ पर्दा र संयोजक नै नजरबन्दमा हुँदा आन्दोलनका कार्यक्रम प्रभावित भएका छन् ।

शुक्रबार राजधानीको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएसँगै राजावादीमाथि सरकारले धरपकड गरेको थियो । शुक्रबार राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो। प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो । साथै दर्जनौं गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।

व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतवार १३:५७

लोकप्रिय