सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

उज्यालोदेखि किन तर्सियो सरकार ?

प्राधिकरणलाई विद्युत् आयात गर्न नदिएर उल्टै ‘घरघरमा लोडसेडिङ हुँदैछ’ भनी अफवाह फैलाउँदै छन् ओलीका मन्त्री । जबरजस्ती देश फेरि अँध्यारो युगतिरै जाँदैछ भन्ने ठोकुवा गर्दै हिँडेका छन् ।

देशमा अराजकता व्याप्त भएपछि एकथरिले ‘हिजोकै अँध्यारो युग फर्कनु पर्छ’ भन्दै सडक तताइरहेका छन् भने त्यही अँध्यारोलाई साथ दिने अर्काथरिले ‘अब लोडसेडिङ सुरु हुन्छ’ भन्दै नागरिकलाई भड्काउने काम गरिरहेका छन् । ‘हामीलाई यो व्यवस्था स्वीकार छैन, हामी पुरातनकै रैती बनेर बाँच्न चाहन्छौँ’ भन्दै रोइला गर्नेहरू त यो व्यवस्थाकै विरुद्धमा चिच्याउँदै छन् । ‘समानता र सभ्यताको परिधिभित्र होइन, हामी पुरानै एकात्मक शासनको साङ्लोमा दास बनेर गुजारा चलाउन चाहन्छौँ’ भनेर उफ्रनेहरूको उद्देश्य त स्पष्ट छ ।

यद्यपि, देशलाई फेरि विद्युतीय लोडसेडिङको कहरमा धकेल्न मरिमेटी लागिपरेको यो सरकार र यसका मन्त्रीहरूका कारण यो व्यवस्था थप कमजोर बन्दै गएको छ । सिंगो सरकार नै कुलमान र विद्युत् प्राधिकरणको खेदो खन्नमै तल्लीन छ । आखिर किन यति विधि त्रसित र भयभीत बनेको छ त यो सरकार उज्यालोदेखि ? मानौँ राजतन्त्रवादीहरू त सबैतिरबाट विक्षिप्त भए र राजतन्त्रको वकालत गरिरहेका छन् । वर्तमानमा सबैतिर अँध्यारो देख्न थालेपछि मान्छेको मस्तिष्कले हिजोलाई सम्झनु स्वाभाविक हो । तर पनि इतिहासको पुरावृत्त होइन, बरु विकास हुने हो ।

विडम्बना त के भने, अहिले देश हाँक्नेहरूले नै उज्यालोदेखि तर्सिएर देशलाई पुनः अँध्यारो युगतिरै धकेल्न जोरजुलम गरिरहेको तपाईँ हामीले प्रस्ट देखिरहेका छौँ । दुईतिहाई बहुमतको अबिर घँसेर सरकारमा आएका प्रधानमन्त्रीले सत्ता सम्हालेको हप्तादिन नहुँदै ‘देशमा लोडसेडिङ किन नगरेको ?’ भनेर कर्मचारी हप्काउँछन् । ‘अर्बौं बक्यौता रकम नतिर्ने माफियाको उद्योगमा बिजुली किन काटेको ?’ भनेर प्राधिकरणका हाकिम थर्काउँछन् । ‘हाम्रा मान्छेलाई किन अनुसंधानमा तानेको ?’ भनेर अधिकृतको सरुवा गर्छन् ।

जलस्रोतको दोस्रो धनी देशमा ऊर्जा मन्त्रालय सम्हालिरहेको मन्त्रीले दिनदहाडै ‘अब फेरि लोडसेडिङ सुरु हुन्छ’ भन्दै हिँड्छन् ।रातदिन खटेर आफ्नो कार्यकुशलता प्रयोग गरी दैनिक अठार घण्टाको लोडसेडिङ हटाउने कुलमानलाई पुरस्कृत गर्नु त परैको कुरो, संस्थालाई किन नाफामा लगेको ? भनी स्पष्टीकरण सोध्छन् । राज्यको शासन चलाउनेहरू यति तल्लो स्तरमा झरेको इतिहासमा सायदै भेटिएला ।

भोलि सत्ताबाट चिप्लिएको दिन यिनीहरू कुन लोकमा गएर बस्ने होलान् ? आफूलाई निर्वाचित गरेर मन्त्री बन्ने सम्मको हैसियत प्रदान गरेका मतदातालाई के जवाफ दिने होलान् ? के माथिल्लो ओहदामा पुगेका नेताहरूले जनताले थोरै मात्र राहत पाएको पनि देख्नै नसक्ने हो ? कि आफ्नो हातमा शक्ति छ भन्दैमा जसोगरे पनि हुन्छ भन्ने घमन्डले मस्तिष्क सुन्निएको हो ? यसको जवाफ देशलाई डामाडोल बनाउनेहरूले एकदिन इतिहासको कठघरामा उभिएर अवश्य दिनुपर्ने छ ।

जब कुलमान घिसिङ प्राधिकरणको प्रमुख भएर आए, लोडसेडिङ हटाउने विषयले चर्चा पाउन थाल्यो । चर्चा मात्रै पाएन, तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा र कुलमान स्वयं फिल्डमै खटिएर कामको थालनी गरे । यद्यपि, त्यतिबेला ‘देशमा लोडसेडिङ अन्त्य भयो भने राजनीति नै गर्दैन भन्नेदेखि दुईचार दिनको रमाइलो मात्रै’ भनी खिसिट्युरी गर्नेहरू धेरै थिए । त्यतिमात्रै होईन, दिनानुदिन लोडसेडिङ घट्दै जान थालेपछि ट्रान्सर्फमर फुटाउनेदेखि गाउँ–गाउँमा हुलदंगा गर्नेसम्मका हर्कतहरु भए ।

अहिले उतिबेलाको त्यही अराजक समूहहरुको माथिल्लो पुस्ता सत्तामा छ र यो जसरी हुन्छ, देशलाई अँध्यारोतिरै फर्काउन जोडबल गरिरहेको छ । बेलाबेला यिनीहरूले भुइँमै मुख जोतेर देखाउने चर्तिकलाको पनि अनेकौं कारण छन् । लोडसेडिङ अन्त्य भएदेखि वर्षौँदेखि खाइपाइ आएको कमिसन बन्द भएको छ । निर्वाचनमा बिचौलियाहरूले लगाएको लगानी असुलउपर गर्ने बाटाहरूमा तगारो लागेको छ । राज्यलाई बुझाउनुपर्ने राजस्व र बक्यौता रकम मिनाहा गरिदिएबापत बिचौलियाहरू विगतमा यिनै मान्छेहरूको सरकारलाई जयजयकार गरिरहेका थिए ।

तर अहिले त्यो अवस्था रहेन । माफियाहरूले आफ्नो लगानी पूर्ति गरिदिन तम्तयारता दबाब दिन थालेपछि सरकार उनीहरूको पक्षपोषणमा उत्रिन बाध्य बनेको छ । अर्बौँ राजस्व उठाउनुपर्ने ठाउँबाट करोडौँ र करोडौँ उठाउनुपर्ने व्यापारीबाट लाखौँ उठाएर आफ्नै भकारी भर्न पल्किएकाहरू अहिले काकाकुलजस्तै बनेका छन् । एउटा कुलमानको छाया मात्रै पनि यिनीहरूलाई भारी पर्नुको कारण यही हो । एउटा विद्युत् प्राधिकरणको लुट्ने बाटो बन्द हुँदा मात्रै गिड्गिडाउने यिनीहरूले राज्यका अन्यत्र निकायबाट कति कुम्लाएका होलान् ?

त्यत्तिकै देश आर्थिक रूपमा टाट पल्टिएर ‘ग्रे’ लिस्टमा सूचीकृत भएको पक्कै होइन । बिचौलिया समूहको स्वार्थअनुसार विवादित काम गरिरहेका ऊर्जामन्त्रीले सरकार र उनको पार्टी दुवैको इज्जत माटोमा मिलाइरहेका छन् । तर उनी यति शक्तिशाली छन् कि उनलाई न दुईतिहाइ बहुमतका प्रधानमन्त्रीले छुन सक्छन् न त पार्टीले नै फिर्ता बोलाउँछ । ऊर्जामन्त्रीको दायित्व देशमा लोडसेडिङ हुन नदिने प्रबन्ध मिलाउनु हो । साथै, त्यसबारे नागरिकलाई आश्वस्त पार्नु हो  । तर, प्राधिकरणलाई विद्युत् आयात गर्न नदिएर उल्टै ‘घरघरमा लोडसेडिङ हुँदैछ’ भनी अफवाह फैलाउँदै छन् ओलीका मन्त्री ।

जबरजस्ती देश फेरि अँध्यारो युगतिरै जाँदैछ भन्ने ठोकुवा गर्दै हिँडेका छन् । उद्योगीको पक्षपोषण गर्दै आएका मन्त्री खड्काले कुलमानलाई बर्खास्त नै गरिसकेको छ । यद्यपि, चौतर्फी विरोधका बाबजुद भित्तो कोपरेर बस्नुपरेको छ । तुलनात्मक रूपमा आम नागरिकले कुलमानलाई एक असल र कर्मठ जनसेवक ठान्छन् । दैनिक अठार घन्टासम्म लोडसेडिङ गरेर कमिसन कुम्ल्याउनेहरू बोलकोटकै चन्दादाता हुन् भन्ने स्पष्ट भएको छ । त्यसैले यो सरकार र यसका मन्त्रीले अनाहकमा अझै पनि जनता झुक्याउँछौँ भन्ने भ्रम पालेर बस्नु स्वयं उनीहरुकै लागि प्रत्युत्पादक सावित हुनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १०:२७

लोकप्रिय