‘स्वस्थ मुख : सकारात्मक सोच’ भन्ने नाराका साथ आज (मार्च २०) विश्वभर मुख स्वास्थ्य दिवस, २०२५ मनाइँदैछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजा सम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अरू मुख सम्बन्धी रोगबाट मुक्त हुने अवस्थाका रूपमा व्याख्या गरेको छ ।
नेपालमा दाँत किराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुख सम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्ल्यूएचओको भनाइ छ । दन्त विशेषज्ञ समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी दाँत तथा मुख स्वस्थ रहे ९० देखि ९५ प्रतिशत समस्या रोकथाम गर्न सकिने बताउँछन् ।
उनका अनुसार, दाँत तथा मुख सफा राख्न सकिए दाँत किराले खाने समस्या, गिँजाको समस्या, मुखमा आउने घाउखटिरा, मुखको क्यान्सर, दाँत खिएर जाने समस्या हुनबाट जोगिन्छ । डा.बुढाथोकी भन्छन्, ‘दाँत तथा मुख शरीरको प्रवेशद्वार हो । मुख स्वस्थ भएन भने त्यसबाट खाइएका चिजहरू शरीरमा फोहोरकै रूपमा जाने हुन्छन् । मुख शरीरको ऐना पनि हो ।’
उनका अनुसार मुखमा देखिने समस्या तथा घाउखटिरा दाँत तथा मुख सम्बन्धी कारणहरू हुन सक्छन् वा शरीरमा भएका कुनै रोगहरूको प्रतिविम्बको रूपमा देखिने गर्दछ । दाँत तथा मुखको समस्या समयमै निदान गर्न सकिए उपचारमा कम लागत र जटिलता पनि धेरै निम्तिँदैन । डा.बुढोथोकीले दाँत तथा मुखको समस्या हुँदा मधुमेह, श्वासप्रश्वासका समस्या, मष्तिस्कमा असर तथा गर्भवतीको पेटमा हुर्किरहेको बच्चाको वृद्धिविकासमा पनि समस्या देखिन सक्ने बताउँछन् ।
मुख स्वस्थ राख्न प्रत्येक दिन कम से कम दुईपटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने र एकपल्ट डेन्टल फ्लसले सफा गर्ने, गुलियो खानेकुरा कम खाने, खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्ने, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्ने, मौसम अनुसारको फलफूल तथा सागसब्जी खान विज्ञको सुझाव छ ।
साथै मुखमा कुनै समस्या देखिएमा आफैँ जथाभावी औषधि सेवन नगर्ने र मुख स्वास्थ्यलाई राम्रो बनाउन ६–६ महिनामा दाँत परीक्षण गराउनुपर्ने विज्ञको सुझाव छ । ‘बिहान खाना खाइसकेपछि पाँच मिनेट र राति सुत्नुअघि पाँच मिनेट दाँतलाई मजाले सफा गरियो भने दाँत तथा मुखका धेरै समस्याबाट बच्न सकिन्छ । यसलाई नियमित जीवनशैलीको रूपमै अपनाउनुपर्छ,’ डा.बुढाथोकीले भने ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं