सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि एसइई परीक्षा, सहभागी हुँदै पाँच लाख १४ हजार विद्यार्थी

यस वर्षको एसइईको नतिजा पनि लेटरग्रेडिङ प्रणाली अनुसार नै हुनेछ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । देश भरका दुई हजार ८० केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष दुई लाख ५७ हजार ७३० छात्रा, दुई लाख ५६ हजार ३११ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३० जनाले परीक्षा दिँदैछन् ।

पाँच लाख १४ हजार ७१ परीक्षार्थीमध्ये १६ हजार ९४७ प्राविधिकतर्फका छन् । तिनका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ८१७ जना जनशक्ति खटाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस पटकको एसइईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ ।

बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार काठमाडौं र दैलेखका दुई कारागारबाट विद्यार्थीले एसईई दिनेछन् । यस्तै भक्तपुरको सुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ । यसवर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुँदैछन् ।

उक्त विद्यालयबाट चारजना एचआईभी संक्रमित विद्यार्थीले एसइई दिने नियन्त्रक पौडेलले जानकारी दिए । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी विषय र संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत तथा मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ ।

परीक्षा चैत १९ सम्म सञ्चालन हुने तालिका छ । यस वर्षको एसइईको नतिजा पनि लेटरग्रेडिङ प्रणाली अनुसार नै हुनेछ । एसइईलाई मर्यादित, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन तीनवटै तहका सरकार र सारोकारवाला सबैलाई आवश्यक सहयोग गर्न राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार ०६:५२

लोकप्रिय