नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आइजीपी नियुक्त गरेको थियो । मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न लगाएका हुन् ।
दज्र्यानी चिन्ह लगाएपछि नवनियुक्त आइजीपी थापाले प्रहरीमा काम गर्नका लागि साइत कुर्ने अवस्था नभएको बताएका छन् । उनले गृह मन्त्रालयलाई समन्वयात्मक भूमिका निर्वाह गर्न समेत आग्रह गरे । थापाले आजैदेखि पदभार सम्हाल्ने छन् ।
भक्तपुरको सिपाडोलमा २०२८ सालमा जन्मेका थापा २०५२ भदौ १९ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा सेवा प्रवेश गरेका थिए । उनले इन्स्पेक्टर दर्जादेखि एआइजीसम्म २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । नेतृत्व क्षमताका आधारमा सबभन्दा बढी युनिट कमान्ड गर्ने अधिकृतका रूपमा नेपाल प्रहरीभित्र परिचित छन् ।
एआइजी भएपछि उपत्यका प्रहरी कार्यालयको प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख भई उनले कार्य सम्पादन गरिसकेका छन् । सरकारले आइजिपी नियुक्ति गरेका बखत उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नेतृत्वमा थिए । प्रशासन विभागमा हुँदा उनले कार्यसम्पादनमा उत्कृष्टता हासिल गरेर पुरस्कृतसमेत भएका थिए ।
डिआइजी हुँदा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रबन्ध विभाग प्रमुख भएका उनले एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवन र मकवानपुरको प्रमुख, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुखको जिम्मेवारी निभाएका उनले डिएसपी पदमा जिल्ला प्रहरी कार्यालय खोटाङ र रुकुमको प्रमुख, काठमाडौं प्रहरी वृत्त महाराजगन्ज प्रमुख, रूपन्देही इलाका प्रहरी कार्यालय प्रमुख बन्ने अवसर पाएका थिए ।
इन्स्पेक्टर हुँदा उनी नेपाल प्रहरी विद्यालयका साँगा (काभ्रे), गरुडा (रौतहट) र धनगढी (कैलाली) समादेशक भएका थिए । ११ वर्ष इन्स्पेक्टर दर्जामा रहँदा थापा २० फरक युनिटको नेतृत्व गरेका अधिकृत हुन् । द्वन्द्वको समयमा उनले इलाका प्रहरी कार्यालय मैकोट रुकुममा रहेर काम गरे ।
इलाका प्रहरी कार्यालय कात्तिके देउराली काभ्रेमा पनि थापाले इन्चार्ज भएर काम गरेका थिए । इन्स्पेक्टर हुँदै हेडक्वार्टरको कर्मचारी शाखामा रहेर पनि काम गरेका थिए । अच्युतकृष्ण खरेलले गठन गरेको ‘रामदल’मा पनि काम गरेको अनुभव उनीसँग छ । इन्स्पेक्टरमै रहँदा उनी सुडान मिसन गएका थिए ।
त्यसपछि डिएसपीमा बढुवा भएका थापाले जिल्ला प्रहरी कार्यालय खोटाङको दुई वर्षसम्म कमान्ड सम्हालेका थिए । माओवादीका तर्फबाट प्रधानमन्त्री भएका बाबुराम भट्टराईको सुरक्षा गार्डका रूपमा पनि काम गरेको अनुभव बटुलेका उनले इलाका प्रहरी कार्यालय बुटवलमा इन्चार्ज भएर काम गरेका थिए ।
थापा त्यहाँबाट हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा सरुवा भए । मोरङ, सुनसरी, मकवानपुरमा समेत काम गरेका उनी डिएसपीमै रहँदा लाइबेरिया मिसन गएका थिए । विभिन्न मुलुकमा गरी १४ स्थानमा उनले सुरक्षा सरोकारका विदेशी तालिम लिएका थिए । त्यसैगरी स्वदेशमा उनले ११ वटा तालिम लिएका छन् । यस्तै सुडान र लाइबेरियामा गरी दुई वटा शान्ति मिसनमा काम गरेका छन् ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी विभिन्न आठ पदक र सम्मान पाएका छन् भने २१ वटा नगद पुरस्कारसमेत पाएका छन् । थापा व्यापक नेतृत्व अनुभव, कमान्ड कन्ट्रोलको उत्कृष्ट ट्र्याक रेकर्ड तथा प्रहरी संगठनभित्रको प्रभावशाली छवि भएका अधिकृत हुन् । उनले नेतृत्व गरेको सबैजसो युनिटमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् ।
हाल चर्चामा रहेको नुवाकोटस्थित शेरा दरबार क्षेत्रले ओगटेको १६४ रोपनी जग्गाको अनुसन्धान एआइजी थापाकै नेतृत्वमा रहेको सिआइबीको टोलीले गरेको थियो । प्रहरीको मानवस्रोत व्यवस्थापन, अपराध अनुसन्धान र विपद् व्यवस्थापनमा उनको विशेष दखल छ । नायब महान्यायाधिवक्ताको संयोजकत्वमा गठित एसिड तथा प्रज्वलनशील पदार्थको नियन्त्रण सम्बन्धी समितिमा प्रहरीका तर्फबाट उनले सदस्यका रूपमा काम गरेका थिए ।
करिअर डेभलपमेन्ट प्लान र नयाँ भर्ना गर्ने पदहरूको पाठ्यक्रम निर्माण, कल्याणकारी योजना तर्जुमा र कार्यान्वयन, प्रस्तावित प्रहरी ऐन २०७९ को तर्जुमामा प्रहरीका तर्फबाट संयोजकको भूमिका रहेर उनले काम गरेका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं