सूचनाको शक्ति - The Power Of Information

        

सङ्कटमा आरन पेसा, घरखर्च धान्नै मुस्किल

कैलालीको धनगढी उपमहानगरपालिका–२ मा धर्मवीर ठाकुरले सटर भाडामा लिई लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनका बुवा पनि आरनकै काम गर्थे । बुवाले धनगढीमा आरन सुरु गरेका थिए । सानैमा बुबासँगै उनले आरनको सीप सिके । उनले अहिले आरन व्यवसायमा रु १० लाख लगानी गरेका छन् ।

रौतहटको गौर स्थायी घर भएका ठाकुरले ३० वर्षदेखि धनगढीमा आरन चलाएरै जीविका गर्दै आएका थिए । उनको श्रीमती, पाँच छोराछोरी र कामदार गरी जम्मा आठ जनाको परिवार छ । ठाकुरले आरन व्यवसायबाटै परिवार पालिरहेका छन् । ‘छोराछोरीको शिक्षादिक्षा, घरखर्च सम्पूर्ण आरनकै कमाइले धानेको छु,’ उनले भने ।

पछिल्लो समय कृषि प्रणालीमा आधुनिकीकरण भित्रिएसँगै व्यवसाय घटेको उनले बताए । हिजोआज आधुनिक कृषि औजार बजारमा आइसकेका छन् । जुन औजारको प्रयोगले छिटो र छरितो तरिकाले खेतीपाती गर्न सकिन्छ । पहिले खेत जोत्न हलोको प्रयोग गरिन्थ्यो भने हिजोआज प्राय ट्याक्टर, चम्पा ट्याक्टरद्वारा जोत्ने गरिन्छ ।

हातले बनाइएका सामानभन्दा मेसिनले बनाइएका कृषि औजार आकर्षक, चिल्ला हुने भएकाले परम्परागत औजारको बिक्रीदर घटेको उनले बताए । ठाकुरले पहिले मासिक रु ७० हजारको कारोबार गरी मासिक रु ४० हजार बचत गर्थे । तर अहिले मासिक रु ४० हजार मात्र कारोबार हुने गरेको छ । पहिलेभन्दा आरनको व्यापार खस्कँदो अवस्थामा रहेको उनले बताए ।

धनगढीका धेरै आरन व्यवसायी विस्थापित भइसकेको उनले बताए । ‘धनगढी बजार आसपासका क्षेत्रमा पहिले २० जना जति आरन व्यवसायी थिए । अहिले छ जनाले मात्र यो पेसा गर्दै आएका छौँ,’ उनले भने । व्यापार घटेपछि घरभाडा बुझाउन र परिवार पाल्न धौधौ परेको उनले गुनासो गरे ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार २०:४३

लोकप्रिय