सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीको ३१ औं आइजीपी बने दिपक थापा

नेपाल प्रहरीको ३१औं प्रमुख अर्थात् प्रहरी अतिरिक्त महानिरीक्षक (आइजीपी)मा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थापालाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आइजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् ।

त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आइजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए । नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को नेतृत्व गरिरहेका थिए । तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् ।

प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरुबीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्ने गर्छ । यसपटक पनि तिनै जना आकांक्षीले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए । यद्यपि, सरकारले पहिलो वरियतामा रहेका थापालाई नै आइजीपी बनाएको छ ।

को हुन् थापा ?

भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए । उनले आइए पास गर्ने बित्तिकै निजी विद्यालयमा अध्यापन गराउन थालेका थिए । २०४८ सालमा उनले शिक्षा सेवा आयोगको परीक्षा दिए र निमावि शिक्षकमा नाम निकालेका थिए ।

भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष पढ्दै गर्दा उनले कन्या मावि, भक्तपुरमा पढाउन थालिसकेका थिए । पछि १० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन खुलेका बेला उनले दर्खास्त दिएका थिए । उनले आइए र बीए दुवैमा भक्तपुर क्याम्पस टप गरेका थिए । २०५० सालमा हालका आइजीपी वसन्त कुँवरले पनि सोही दर्खास्तमा आवेदन दिएका थिए ।

तर, तत्कालीन सरकराले सर्टलिस्टमा परेका पहिलो समूहका ६० जनामध्ये ५२ जनालाई मात्र नियुक्ति दिए । बाँकी रहेका ८ जनाले ६ महिनापछि १९ भदौ २०५२ मा नियुक्ति पत्र बुझ्दा थापालाई कुँवरको बिदाइ गर्ने अवसर जुरेको छ । प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुढामा नेतृत्व गर्ने अवसर पाएका छन् ।

प्रहरी वृत्त, महाराजगञ्जको पनि प्रमुख रहिसकेका छन् भने उनले जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमाण्ड गरेका छन् । बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत काम गरेका छन् ।

एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआइजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरे । पछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरे । ३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार २०:०२

लोकप्रिय