सूचनाको शक्ति - The Power Of Information

        

करोडौँ खर्चमा बनेको आइसियु र एचडियु सञ्चालन गर्न जनशक्ति अभाव

बर्दिया अस्पतालमा करोडौँ खर्चमा बनेको एचडियु र आइसियु कक्ष सञ्चालनमा आउन सकेका छैनन् । पाँच वर्षअघि कोरोनाको समयमा बर्दिया अस्पताल र बर्दिया जिल्लाका पालिकाको लगानीमा बनेका सुविधासम्पन्न आइसियु र एचडियु वार्डहरू अलपत्र परेका छन् ।

सो वार्डमा अक्सिजन सुविधासहितका सुविधा सम्पन्न शय्या, कार्डियाक मोनिटर लगायतको व्यवस्था गरिएको छ तर लामो समयदेखि सञ्चालन हुन नपाउँदा ती सामग्री बिग्रिने अवस्थामा पुगेका छन् । विद्युत् नहुँदासमेत सञ्चालनमा आउने सुविधायुक्त शय्याको व्यवस्था गरिए पनि सञ्चालनमा नआउँदा बिग्रन थालेका छन् ।

अस्पतालमा १३ शय्या आइसियु र १२ शय्या एचडियु रहेका छन् । पुरानो भवनको माथिल्लो तलामा निर्माणाधीन ती युनि आवश्यक सामग्रीसहित करिब साढे दुई करोड लगानीमा निर्माण भएका थिए । वार्डहरू सञ्चालन नहुँदा भएका सामग्री बिग्रँदै गएका छन् भने आइसियु, एचडियु सुविधाका लागि बर्दियाका बिरामी नेपालगन्ज, काठमाडौँ र भारतको लखनउसम्म जानुपर्ने बाध्यता रहेको छ ।

एचडियु र आइसियु सञ्चालनका लागि मेडिकल अधिकृत, एनेस्थेसिया, स्टाफ नर्स, कार्यालय सहयोगी गरी करिब २५ जना थप जनशक्ति लाग्ने र त्यसका लागि करिब एक करोड रुपियाँ रकम लाग्ने बर्दिया अस्पतालले जनाएको छ । बर्दिया अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवासकुमार पाण्डेले जनशक्ति अभाव भएकै कारणले आइसियु र एचडियु सञ्चालन गर्न नसकिएको बताए । उनले भने, ‘सामान्य वार्ड सञ्चालनका लागिसमेत आवश्यक जनशक्ति छैनन्, हम्मे हम्मे गरेर चलाइरहेका छौँ ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १७:११

लोकप्रिय