सूचनाको शक्ति - The Power Of Information

        

८६ वर्षमा राजा फर्काउने ‘कमान्डर’ बने नवराज !

पोखराबाट काठमाडौं आउँदा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा समर्थकहरूको उपस्थितिले हौसिएका राजावादी दल तथा समूह आन्दोलनको तयारीमा जुटेका छन् । उनीहरूले मोचाबन्दी र अलग–अलग कार्यक्रमका विकल्पसहित आन्दोलन गर्न तयारी गरिरहेका छन् । राजावादी विचार समूहको सबैभन्दा ठूलो दल राप्रपाले गत फागुन २५ गते पूर्वराजा शाहको उपस्थितिमा भएको प्रदर्शनको समीक्षा गर्नुको साथै आगामी रणनीति समेत तयार पारेको छ ।

राप्रपाका नेताहरूले जसरी पनि राजा फर्काएरै छाड्ने दाबी गरिरहेका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा अन्तिम राजाले दिएको सन्देश र त्यसपछि राजावादीहरूमा देखिएको उत्साहले गणतन्त्रवादी दलहरूमा भने हलचल मच्चिएको छ । प्रधानमन्त्री, गृहमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजालाई सीमा ननाघ्न चेतावनी नै दिइसकेका छन् ।

गणतन्त्रवादी दलका नेताहरूले पूर्वराजा शाहलाई चेतावनी दिइरहँदा राजावादीहरू भने मोर्चा बनाएरै अगाडि बढ्न थालेका छन् । पूर्वराजा शाहले आह्वान गरेअनुसार राजसंस्था पुनस्र्थापनाको आन्दोलनका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा मोर्चाबन्दीको तयारी भएको छ । सोही कारण उनले राप्रपाका वरिष्ठ नेताबाट सोमबार राजीनमा दिइसकेका छन् ।

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका सुवेदीले राजावादी पक्षधरहरूले आयोजना गरेको एक भेलापछि पत्रकार सम्मेलन गर्दै सुवेदीले आजदेखि राप्रपाको साधारण सदस्य पनि नरहने घोषणा गरेका हुन् । उनले भने, ‘म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न, राजा ल्याउन लाग्छु ।’ उनले राज्य सञ्चालनका लागि राजनीति दलहरू दुवै अटाउन सकुन् भन्ने आफूहरूको चाहना रहेको बताए ।

सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नवीन समझदारी त्यस्तो अवधारणा हो, जहाँ देशको शान्ति, स्थिरता, सामाजिक सौहार्दता, धर्म–संस्कृति, परम्परा, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रतीकका रूपमा राजसंस्था अनि नियमित शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीको प्रस्तावलाई दलहरूले तत्काल सम्बोधन नगरेको नेपालका हरेक परिवर्तन आन्दोलनको बलमा हुँदै आएको पृष्ठभूमिमा हामी भने सकेसम्म निश्चित एजेन्डाका साथ प्रस्तुत भएका छौँ ।’

पूर्वराजा शाहको इच्छाअनुसार नै ८६ वर्षीय सुवेदीले राजावादी आन्दोलनको मोर्चा सम्हाल्ने छन् । ०४६ पछि राजनीतिमा सार्वजनिक रूपमा सक्रिय नदेखिएका सुवेदीले पूर्वराजा शाहको इच्छाअनुसार मोर्चाको नेतृत्व गर्न लागेका हुन् । तर, राप्रपा र राप्रपा नेपालका नेताहरूले पूर्वराजाको छनोटमा सार्वजनिक रूपमा आलोचना नगरे पनि सुवेदीको नेतृत्वमा आन्दोलन निष्कर्षमा पुग्न नसकिने उनीहरूको आन्तरिक निष्कर्ष छ  ।

राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मोर्चाबन्दीको इच्छा गरेको थियो भने राप्रपा नेपालले संस्कृतिविद् डा.जगमान गुुरुङको नेतृत्वमा सबै राजावादी अटाउने मोर्चाबन्दी गर्न चाहेको थियो । अध्यक्ष राजेन्द्र लिङ्देनले आह्वान गरेको आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पूर्वराजाले अघि सारेका ८६ वर्षीय सुवेदीको विपक्षमा राप्रपाका बहुसंख्यक वरिष्ठ नेता उभिएका छन् ।

राजतन्त्र पुनस्र्थापनाका लागि अहिले राप्रपा, राप्रपा नेपाल, विवादास्पद व्यवसायी दुर्गा प्रसाईँ र पूर्वमन्त्री केशरबहादुर विष्टको समूह सतहमा आए पनि एजेन्डा र आन्दोलनको नेतृत्वलाई लिएर उनीहरूबिच ठुलो विवाद छ । उनीहरू सबैले आफ्नो दल वा समूहको नेतृत्वमा राजतन्त्र पुनस्र्थापनाको आन्दोलनमा जोड दिँदै एकले अर्काका नेतृत्व स्वीकार गर्न नसकिने अभिव्यक्ति दिएका छन् ।

अहिले धेरै मान्छे व्यवस्थासँग भन्दा यो व्यवस्थाको पर्यायजस्तै बनेका असफल पात्रसँग रुष्ट भएर सडकमा आएका हुन् । त्यसैले राजाचाहिँ होइन, वर्तमान राजनीतिक दल, तिनको प्रवृत्तिमा सुधार आएन भने एक दिन आन्दोलनको ठूलो आँधी आउन सक्छ । नागरिक आक्रोशले ठूलो आन्दोलनको रूप लिएको दिन सबैभन्दा खराब यिनै नेताहरूका लागि हुनेछ । संसारमा नागरिकले ढाल्न नसक्ने सत्ता कुनै र कतै छैन । यो व्यवस्थामा नेताहरूले आफूलाई सुधारे र जनतालाई परिवर्तनको आभास गराए भने राजतन्त्रको माग स्वतः निष्क्रिय हुँदै जानेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १६:५२

लोकप्रिय