सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध दुर्व्यसन

कहाँ हराउँछ बाँके प्रहरीले बरामद गरेको लागुऔषध ?

लागुऔषध बरामद गर्दा हतारमा पत्रकार सम्मेलन गर्ने बाँके प्रहरीसँग त्यही लागुऔषध नष्ट गरिएको न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ ।

प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारहतार पत्रकार सम्मेलन या प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गर्छ । तर, त्यही लागुऔषध नष्ट गर्दा प्रमाण भेटिदैन । बरामद लागुऔषध नष्ट गर्ने कानूनी प्रक्रिया लामो भए पनि प्रहरीसँग अहिलेसम्म नष्ट गरिएको न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिन्छ । फलस्वरूप बाँके प्रहरीले बरामद गरेको लागूऔषध बिक्री वितरण गर्ने गरेको आरोप खेप्दै आएको छ ।

लागूऔषध बरामद गर्दा प्रहरीले पत्रकारलाई साक्षीकारूपमा बोलाउने गरेको छ । तर, नष्ट गर्दा अहिलेसम्म पत्रकारलाई साक्षी राखेको रेकर्ड छैन । यसैले पनि बरमद गरिएको लागूऔषधको कारोबारमा प्रहरी संलग्ता रहेको प्रष्ट हुँदै आएको छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा लागूऔषध नष्ट गर्न समिति नै गठन गरिएको हुन्छ । बाँकेमा पनि उक्त समितिलाई हालसम्म लागूऔषध प्रहरीले नष्ट गरे नगरेको कुनै जानकारी छैन ।

कानून अनुसार कुनै पनि लागुऔषध बरामद भइसकेपछि त्यसलाई प्रक्रिया पुर्याएर नष्ट गर्नुपर्छ । तर, वार्षिकरुपमा ठूलो परिणाममा लागुऔषध बरामद् भए पनि अहिलेसम्म नष्ट गर्ने काममा पारदर्शिता देखिएको छैन । बरामद सबै लागुऔषध कानूनी प्रक्रिया पूरा गरेर अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, कानून व्यवसायी पत्रकार र प्रहरी लगायत सबैको रोहबरमा नष्ट गर्नुपर्छ । यद्यपी बाँकेमा यस्तो समिति कागजमै सिमित छ ।

लागूऔषध नष्ट गर्ने समयमा यो समितिको सहभागीता प्रहरीले कहिले पनि गराउँदैन । ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैं बाँकेमा आउने कुनै पनि प्रहरी प्रमूखले अहिलेसम्म बरामद गरेको लागुऔषध नष्ट गरेको सार्वजनीक भएको छैन । लागूऔषध नष्ट गर्न गठित समितिको संयोजक प्रजिअ नै हुने प्रावधान छ । संयोजक नै अनभिज्ञ भएपछि समितिका अन्य पदाधिकारीलाई प्रहरीले बारमद गरेको लागूऔषध नष्ट गरेको थाहा हुने कुरै भएन ।

अझ नष्ट गर्दा बरामद गरिएको लागुऔषध दुरुपयोग हुने नहुने प्रजिअलाई नै थाहा हुँदैन । प्रहरीलाई नै सोध्नुपर्छ । प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्ने गर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ । बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ ।

बरामद गरिएको लागुऔषध नष्ट भने गरेको कुनै खबर सार्वजनिक हुँदैन । प्रहरीले अहिलेसम्म कति आगुऔषध बरामद गर्यो त्यसको रेकर्ड प्रहरीसँगै छैन । कति परिमाण नष्ट गरिएको भन्ने प्रहरीलाई नै जानकारी हुँदैन । प्रहरीको बनावटी जवाफ हुन्छ, ‘सबै नष्ट भयो ।’ घरेलु मदिरा बरामद गर्दा सार्वजनीक गर्ने प्रहरी लागूऔषध नष्ट गर्दा सार्वजनीक गर्दैन । नष्ट गरेको प्रमाण सार्वजनिक नहुने भन्दै जिल्ला प्रहरी कार्यालय बाँके स्रोतले बतायो ।

बरामद गर्दा र नष्ट गर्दा पत्रकारलाई बोलाउनुपर्ने कानूनी प्रावधान नभए पनि कानून विपरित पत्रकारलाई साक्षी राखेर लागूऔषध बरामदका बारेमा सूचना दिइन्छ । यद्यपी अहिलेसम्म बरामद गरिएको लागूऔषध नष्ट गर्दा पत्रकारलाई साक्षी राखेको रेकर्ड देखिदैन । प्रहरी स्रोतले भन्योे, ‘अहिलेसम्म लागूऔषध नष्ट गरेका सूचना बाहिरएका छैनन् ।’ वर्षेनि लागूऔषध कारोबारको पारो उक्लिदै गए पनि नियन्त्रणमा बाँके प्रहरी असफल हुँदै गएको छ ।

प्रहरीले ब्राउनसुगरसहित चरेश, अफिम तथा लागूऔषध ट्याब्लेटहरू पनि ठूलो मात्रामा बरामद गर्ने गरेको छ । तर, पक्राउ परेको लागूऔषध कसरी, कहाँ र कहिले नष्ट गरिन्छ या कहाँ जान्छ ? यस विषयमा अधिकांशलाई थाहै हुँदैन । महंगो मूल्य पर्ने लागुऔषध प्रहरीबाट दुरुपयोग भएको हुनसक्ने सर्वसाधारणको आशंका छ । नष्ट गरेको प्रमाण किन सार्वजनिक गरिएन त ? भन्ने प्रश्नको जवाफ प्रहरीसँग छैन ।

यसले बरामद भएको लागुऔषध प्रहरीबाटै पुनः प्रयोगकर्तासम्म पुग्ने गरेको आम नागरिकको आशंका छ । ‘बरामद्को प्रमाण सार्वजनिक हुन्छ । तर नष्ट गर्न थुप्रै निकायहरु संलग्न हुने भएकाले सार्वजनिक नगरेर प्रहरीबाटै विक्री वितरण भएको हुनसक्ने एक सर्वसाधारणले बताए । उनले भने, ‘बरामद गर्दा सार्वजनीक गर्ने प्रहरीले नष्ट गरेको कुनै प्रमाण देखाउन नसक्नुले प्रहरीबाटै पुनः प्रयोगकर्तासम्म पुगेको हुनुपर्छ ।’

उनले प्रश्न गर्दै थपे, ‘नत्र नष्ट गर्ने समयमा सार्वजनिक गर्न प्रहरीलाई कसले रोक्यो ?’ सामान्य हिसाबमा हेर्ने हो भने पनि बरामद गर्दा लागुऔषध सार्वजनिक गर्न हुने तर नष्ट गर्दा सार्वजनिक गर्न नहुने भन्ने छैन । पारदर्शीताका साथ नष्ट गर्दा बरामद् लागुऔषधको विषयमा कसैले प्रश्न उठाउन सक्दैनन् । कानूनी प्रक्रिया पूरा गरेपछि बरामद लागुऔषध नष्ट गरिन्छ यसमा दुईमत छैन तर पारदर्शी भएर गर्नु उपयुक्त विधि हो ।

‘अहिलेसम्म जुन प्रक्रियामा नष्ट भए पनि अबदेखि पारदर्शीता देखाउँदा राम्रै हुन्छ,’ बाँके प्रहरीका एक अधिकारीले भने । प्रहरीले बरामद गरेको लागुऔषध सीमित व्यक्तिहरुको रोहबरमा नष्ट गरिने भनिए पनि कति परिमाणमा नष्ट गरियो ? कुन कुन लागुऔषध नष्ट गरियो ? बरामद भएको अनुपातमा नष्ट गरियो कि गरिएन ? यस विषयमा प्रहरीले कुनै प्रमाण दिन नसक्नुले पारदर्शितामा प्रश्न उठाउने प्रशस्त ठाउँ भेटिन्छ ।

आगूऔषध प्रयोगकर्ता तथा कारोबार गर्ने गरिव, अशिक्षितमात्रै होइन, शिक्षित, उच्च घरानाका किशोर तथा युवाहरु बढी यस्तोमा लागेको पाइन्छ । बाँकेमा प्रहरीले फागुनमा मात्रै एक किलो १०६ ग्राम ४१६ मिलीग्राम ब्राउनसुगर, पाँच हजार ट्याब्लेट ट्रामाडोल र चार किलो २०० ग्राम चरेससहित २२ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

यसले पनि भारत हुँदै नेपालगन्ज नाका भएर नेपालका विभिन्न शहरहरुमा लागुऔषध तस्करी हुने गरेको तथ्य प्रष्ट हुन्छ । प्रहरीको कमजोर सक्रियताकै कारण पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरु मात्रै नभएर वयस्कहरु पनि लागूऔषधको दलदलमा फसिरहेका छन् । बाँकेमा पाँच हजारभन्दा बढी लागुऔषध दुर्व्यसनीहरु रहेको अनुमान छ । यो तथ्यांकले हरेक बर्ष बाँकेमा लागुऔषधका मुद्दा बढ्दै गएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १४:००

लोकप्रिय