यस वर्षको कक्षा १० को अन्तिम परीक्षा एसइई चैत ७ गतेबाट सञ्चालन हुँदैछ । कानुनी रूपमा प्रादेशिक संरचनामा सञ्चालन हुनुपर्ने एसइई अहिले पनि केन्द्रबाटै सञ्चालन हुँदैछ । यसका लागि प्रदेश स्तरमा छुट्टाछुट्टै प्रश्नपत्रको व्यवस्था गरिएको छ । विद्यालय शिक्षाको अन्तिम स्तरीकृत परीक्षाका रूपमा एसएलसी अर्थात् कक्षा १२ को अन्तिम परीक्षा लिने व्यवस्था भएपछि कक्षा १० को वार्षिक परीक्षा एसइई अन्य कक्षाका परीक्षा जस्तै सामान्य रूपमा सञ्चालन गर्नुपर्ने माग शिक्षाविद् एवं मनोविद्ले गर्दै आएका छन् ।
कुनै समय फलामे गेट र स्वर्णिम द्वारका रूपमा परिभाषित कक्षा १० को अन्तिम परीक्षालाई नेपाली समाजले भने एकै पटक हटाउन चाहेको देखिँदैन । अहिले एसइई परीक्षामा सहभागी हुने विद्यार्थीका धेरैजसो अभिभावक एसएलसी परीक्षामा सहभागी भएका व्यक्ति भएकाले पनि र त्यतिखेर एसएलसीलाई दिइने गरेको मान्यताले पनि एसइईबिनाको विद्यालय शिक्षा अपूरो मान्ने गरेको देखिन्छ । त्यसैले अन्य कक्षामा बालबालिकालाई अध्ययनका लागि त्यति जोड नदिने अभिभावकले एसइई नजिकिने बेला विद्यार्थीबाट ठुलो अपेक्षा राखी उनीहरूलाई पठनपाठनका लागि दबाब दिने गरेको देखिन्छ । यसले गर्दा विद्यार्थीमा अनावश्यक तनाव र चिन्ता बढ्ने गरेको पाइएको छ ।
पछिल्लो समय कोरोना महामारी तथा विद्युतीय ग्याजेटको सुलभताका कारण विद्यार्थीमा गहन अध्ययन गर्ने परिपाटी हराउँदै गएको छ । छिटो र सतही रूपमा जानकारी लिने प्रवृत्तिले गर्दा विद्यार्थी पढाइप्रति गम्भीर हुन छोडेको अभिभावकको गुनासो रहने गरेको छ । कक्षा ८ मा पहिलो पटक पालिकास्तरबाट सञ्चालन भएको स्तरीकृत परीक्षाका अतिरिक्त कक्षा १० को अन्तिममा सञ्चालन गरिने एसइई परीक्षालाई दोस्रो स्तरीकृत परीक्षाका रूपमा भने लिनुपर्छ । यसले माध्यमिक विद्यालयको अन्तिम परीक्षा अर्थात् कक्षा १२ को परीक्षामा राम्रो ग्रेड प्राप्त गर्नका लागि कुनै न कुनै रूपमा सहयोग भने पुर्याउँछ तर अनावश्यक रूपमा महत्व दिएर एसइईको भय बढाउने प्रयास गर्नु भने आवश्यक देखिन्न ।
परीक्षा नियमित प्रक्रिया हो । शिक्षण सिकाइ क्रियाकलापमा त परीक्षालाई अभिन्न अङ्गका रूपमा लिइन्छ । यसैले कुनै पनि परीक्षालाई हाउगुजीका रूपमा लिइनु आवश्यक छैन । शैक्षिक सत्रको सुरुमै सत्रान्तमा परीक्षा हुन्छ भन्ने जानकारी भइसक्ने भएकाले पहिलो दिनबाटै त्यसका लागि तयारी गर्दै जानु बुद्धिमानी हुन्छ । समयमा विषयवस्तुका बारेमा अध्ययन नगरी अन्तिममा एकै पटक तयारी गर्न खोज्दा आवश्यक तयारी नपुग्ने तथा सिकारु हतोत्साही हुने अवस्थासमेत सिर्जना हुन्छ । यसैले परीक्षामा सहभागी हुने विद्यार्थीले छोटो समयमा सुझाइएका काम गर्नु उपलब्धिमूलक देखिन्छ ।
हरेक कामका लागि समय व्यवस्थापन महत्वपूर्ण मानिन्छ । विद्यार्थीका सन्दर्भमा परीक्षापूर्वको तयारी अवस्था र परीक्षा भवनमा बसिसकेपछि उपलब्ध भएको समयलाई व्यवस्थापन गर्नु अति महत्वपूर्ण काम हो । परीक्षामा सहभागी हुन जानुअघि आफूले पढेका विषयवस्तुको सङ्क्षिप्त नोट पुनरावृत्ति गर्नु अति उपयोगी हुन्छ । परीक्षा भवनमा प्रवेश गरेपछि उपलब्ध समयलाई प्रश्नपत्रको अङ्कका आधारमा वितरण गरी सोही समयलाई ध्यान दिई लेखन कार्य अघि बढाउनु पर्छ । एसइईका सन्दर्भमा एक अङ्कको प्रश्नलाई सामान्यतया दुई मिनेट ४० सेकेन्ड समय उपलब्ध हुन्छ । यसमध्ये ४० सेकेन्ड समय प्रश्नपत्र पठन र रुजुका लागि छुट्याउने हो भने ३० मिनेट समय उपलब्ध हुन्छ ।
प्रश्नपत्र पठन र अन्तिममा उत्तर रुजु गर्ने समयका अतिरिक्त विद्यार्थीसँग दुई घण्टा ३० मिनेटको समय रहेको हुन्छ । यसलाई प्रतिअङ्क वितरण गर्दा हरेक नम्बरका लागि दुई मिनेट समय उपलब्ध हुन्छ । यस अर्थमा चार अङ्कको प्रश्न समाधान गर्नका लागि विद्यार्थीले आठ मिनेटसम्मको समय खर्च गर्न सक्छन् भने ७ नम्बरको लामो प्रश्नको उत्तर लेख्नका लागि १४ मिनेटसम्मको समय खर्चिन सक्छन् । समयको हिसाब गरी प्रश्न अनुसार समय विभाजन गरी लेख्न बसेमा उत्तर अपूर्ण हुने वा कुनै प्रश्न विशेषमा बहकिएर अन्य प्रश्नका लागि समय नपुग्ने अवस्था आउने स्थिति रहँदैन । यसैले परीक्षामा जानुभन्दा अगाडि विद्यार्थीले आफूले हरेक प्रश्नलाई दिने समय र त्यस समयमा आफूले अभिव्यक्त गर्न सक्ने कुरालाई अभ्यास गरेर मानसिक रूपमा आफूलाई अभ्यस्त बनाउनुपर्छ ।
विषयवस्तुका बारेमा गहन जानकारी लिनु र परीक्षामा राम्रो अङ्क प्राप्त गर्नु उस्तै कुरा होइन, यसको तात्पर्य विषयवस्तुमा गहन दख्खल राख्ने व्यक्तिले भन्दा विषयवस्तुको औसत जानकारी प्राप्त गरेको व्यक्तिले उपयुक्त किसिमको लेखन शिल्प अवलम्बन गर्यो भने राम्रो अङ्क प्राप्त गर्न सक्छ भन्ने हो । विद्यार्थीले के र कति लेख्ने, लेख्दा कस्तो शैली अवलम्बन गर्ने भन्ने विषयमा परीक्षा अगाडि नै अभ्यास गर्नु आवश्यक हुन्छ । यसका लागि विशिष्टीकरण तालिका महत्वपूर्ण सामग्री बन्न सक्छ । विशिष्टीकरण तालिकामा ज्ञान, बोध, सिप र उच्च दक्षतासँग सम्बन्धित प्रश्नको ढाँचा र त्यस प्रकारका प्रश्न सोधिने एकाइको विवरण दिइएको हुन्छ ।
विशिष्टीकरण तालिकालाई आधार मानेर परीक्षाको तयारी गर्ने हो भने विद्यार्थीले औसत तयारीकै आधारमा उत्कृष्ट अङ्क ल्याउन सक्ने सम्भावना बढ्छ । धेरैजसो विद्यालयमा शिक्षकले विशिष्टीकरण तालिकाको सही उपयोगका बारेमा विद्यार्थीलाई सिकाएको देखिँदैन । यसैले विद्यार्थी कुन एकाइबाट कस्तो किसिमको प्रश्न सोधिन सक्छ भन्ने विषयमा कुहिराको काग बनेका हुन्छन् । उनीहरूको परीक्षाको तयारी सन्तुलित र व्यवस्थित बन्न सकेको हुँदैन । जसले गर्दा प्रश्नपत्र प्राप्त गर्नासाथ उनीहरू हडबडाउने गर्छन् । प्रश्नपत्रको सँगालो वा पाठ्यव्रmम विकास केन्द्रको वेबसाइटमा गएर हरेक विषयको विशिष्टीकरण तालिका अध्ययन गर्न सकिन्छ ।
विश्वविख्यात सिआइई लगायतका परीक्षा बोर्डले पुराना प्रश्नपत्रका साथै उत्तरकुञ्जिका उपलब्ध गराएर विद्यार्थीलाई परीक्षाको तयारी गर्न प्रोत्साहित गर्छन् । शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्ने सन्दर्भमा उत्तरकुञ्जिकाको प्रयोग गरे पनि नेपालका सन्दर्भमा परीक्षाको तयारी गर्दा विद्यार्थीले उत्तरकुञ्जिका अध्ययन गर्ने परिपाटी बसेको छैन । विशिष्टीकरण तालिकाका आधारमा कुन एकाइबाट कस्ता प्रश्न सोधिने र ती प्रश्नहरूको अङ्कभार कति हुने भन्ने जानकारी प्राप्त गरे पनि पूर्ण अङ्क प्राप्त गर्नका लागि के र कसरी लेख्ने भन्नेबारे विद्यार्थी अनभिज्ञ नै रहने गरेका छन् । बजारमा उपलब्ध भएका सहयोगी पाठ्य सामग्रीमा व्यक्तिपिच्छे फरक किसिमका शैली र ढाँचा पाइने हुँदा अध्ययन गर्न खोज्ने विद्यार्थी झनै अलमलमा पर्ने गरेको र शिक्षक स्वयम्बाट समेत परिवर्तित पाठ्यक्रमका आधारमा भन्दा आफूले अध्ययन गर्ने बेलाको अनुभवका आधारमा विद्यार्थीलाई निर्देश गर्ने परिपाटी विद्यमान रहेकाले विद्यार्थीले उपयुक्त मार्गनिर्देश प्राप्त गर्न सकेका छैनन् ।
विद्यार्थीलाई पुराना प्रश्नपत्रको अभ्यास गराउने बेला उत्तर कुञ्जिकासमेत उपलब्ध गराएमा परीक्षकले आफ्नो उत्तरबाट कुन कुन कुरा खोजेको रहेछ र कुन कुन कुरा उल्लेख भएमा पूर्ण अङ्क प्राप्त हुन्छ भन्ने जानकारी विद्यार्थीले प्राप्त गर्न सक्छन् । विद्यालयले विगत वर्षका प्रश्नपत्रका साथै उत्तरकुञ्जिकासमेत विद्यार्थीलाई उपलब्ध गराई कुञ्जिकाले खोजे अनुरूपको उत्तर लेख्न सिकाउनुपर्ने देखिन्छ । विद्यार्थीले परीक्षा सम्बन्धी विभिन्न साइटबाट विगतका उत्तरकुञ्जिकाहरू प्राप्त गर्न सक्छन् । परीक्षाको तयारी गर्ने क्रममा पुराना प्रश्नपत्र र उत्तरकुञ्जिका सँगै राखेर अभ्यास गरेमा अभ्यास परीक्षामुखी बन्न सक्छ ।
परीक्षा भन्नासाथ कुनै पनि व्यक्तिले सामान्यभन्दा विशेष किसिमको प्रतिक्रिया व्यक्त गर्ने गर्छ । अन्य बेला अर्थात् सहज अवस्थामा अभिव्यक्त गरेका कुरासमेत परीक्षाका समयमा व्यवस्थित रूपमा व्यक्त गर्न नसक्ने सम्भावना रहन्छ । यो मानवीय प्रवृत्ति नै हो । परीक्षामा जति शान्त र धैर्यधारण गर्न सकियो त्यति बढी विवेकपूर्ण र सन्तुलित उत्तर लेख्न सकिन्छ । आफूले तयार गरेको भन्दा भिन्न प्रकृतिको प्रश्नपत्र देखेमा विद्यार्थी आत्तिने र हडबडाउने पनि गर्छन् । एक दुई वटा नजानेका र आफूले अध्ययन नगरेका प्रश्नपत्र देख्दैमा हडबडाउने हो भने ती विद्यार्थीले आफूले जानेका अन्य प्रश्नको पनि उत्तर लेख्न सक्दैनन् ।
यसैले परीक्षामा आफूलाई संयमित र सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । यसका लागि उचित किसिमको खाना, पर्याप्त निद्रा र पानी आवश्यक हुन्छ । परीक्षाका लागि अतिरिक्त तयारी गर्ने नाममा अनिदो बस्ने, प्याकेटमा बन्द गरिएका र पुराना खाद्य पदार्थ खाने बानीले विद्यार्थीको प्रस्तुतीकरण क्षमतामा ह्रास ल्याउँछ । यसैले आत्मविश्वास बढाई मैले आफ्नातर्फबाट उत्कृष्ट प्रस्तुति गर्छु भन्ने धारणा बनाएर परीक्षामा सहभागी हुनुपर्छ । उत्तर लेख्ने सन्दर्भमा सरल प्रश्नको उत्तर लेख्दै अन्तिममा जटिल प्रश्न समाधान गर्ने बानी बसाल्नुपर्छ ।
यस्तै कुनै प्रश्नको उत्तर लेख्दै जाने क्रममा दुविधा भएमा त्यस प्रश्नलाई काट्ने वा पुनर्लेखन गर्नेभन्दा त्यत्तिकै छोडी अर्को प्रश्नमा प्रवेश गर्नु ठिक हुन्छ । आफूले जानेका अन्य प्रश्नको समाधान गरिसकेपछि मात्र बिचैमा छोडेको प्रश्नलाई टुङग्याउने वा गल्ती नै भएको हो भन्ने निश्चय भयो भने पुनर्लेखन गर्ने काम गर्नुपर्छ । समयको ख्याल गरी मानसिक रूपमा तयार भई उत्तर लेख्दा उत्तरको स्तरीयता झनै बढ्न सक्छ । यसैले परीक्षा जीवनको र पठनपाठन क्रियाकलापको अभिन्न र निरन्तर प्रक्रिया हो भन्ने महसुस गरी शान्त र संयमित भई विवेकपूर्ण तरिकाले आकर्षक शैलीमा उत्तर दिने बानी बसाल्नुपर्छ । यसले अपेक्षित सफलता हासिल गर्नका लागि सहयोग पुर्याउँछ ।
पठनपाठन क्रियाकलापका सन्दर्भमा वा अन्य कुनै प्रतिस्पर्धात्मक परीक्षामा तयारी गर्ने सन्दर्भमा परीक्षाको समयावधि, पाठ्यवस्तुको आकार, प्रश्नपत्रको ढाँचा वा विशिष्टीकरण तालिका एवं पुराना प्रश्नपत्रको अध्ययनले सहयोग पुर्याउँछ । उत्तरकुञ्जिका र विशेषज्ञले तयार गरेका उत्तरहरूको अध्ययनले प्रस्तुतीकरण शैलीमा निखारता ल्याउन सघाउँछ । यी सबै कुराका साथै उच्च मनोबल राखी आत्मविश्वासका साथ सामना गरिने परीक्षाले औसत तयारीकै आधारमा उत्कृष्ट नतिजा प्राप्त गर्ने सम्भावना बढाउँछ भने मनोबल उच्च हुन नसकेमा विषयवस्तुगत गहन बोध हुँदाहुँदै पनि परीक्षामा अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन । एसइई पनि नियमित र सामान्य किसिमको परीक्षा भएकाले यसलाई सामान्य रूपमा नै लिई विशिष्ट शैलीको विकास गर्दै उत्तर लेख्ने अभ्यास गर्नुपर्छ । उपयुक्त कुरालाई मनन गरी उत्तर दिन सके परीक्षासम्बन्धी भयबाट पनि मुक्त हुन सकिन्छ । एसइई परीक्षामा सहभागी विद्यार्थीहरुमा सफलताको शुभकामना !
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
प्रेमनारायण भुसाल । काठमाडौं