सूचनाको शक्ति - The Power Of Information

        

गर्मी मौसममा किन सजिलै निद्रा लाग्दैन ?

मौसम परिवर्तनले हाम्रो निद्रामा असर गर्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । विशेषगरी, गर्मी मौसममा मानिसहरूलाई सजिलै निन्द्रा लाग्दैन । अमेरिकन एकेडेमी अफ न्यूरोलोजीले वर्षका चारै ऋतुमा मानिसहरूको निद्राको ढाँचाको अध्ययन गरेको थियो ।

यस अध्ययनमा ४५ देखि ८५ वर्ष उमेर समूहका तीन हजार ९७ जनालाई समावेश गरिएको थियो । उनीहरूलाई निद्रासँग सम्बन्धित प्रश्नहरू सोधिएका थिए, जस्तैः उनीहरू कति समय सुत्छन्, निदाउन कति समय लाग्छ, र गहिरो निद्रामा कति समय बिताउँछन् ।

अध्ययनले देखायो कि गर्मी मौसममा मानिसहरूको औसत निद्रा अवधि ६.७६ घण्टा थियो, जबकि चिसो मौसममा यो अवधि ६.८४ घण्टा थियो । यसबाट स्पष्ट हुन्छ कि चिसो मौसममा मानिसहरू बढी सुत्ने गर्छन् ।

त्यस्तै, मौसम परिवर्तनको एक हप्ता पछि ३४ प्रतिशत मानिसहरूमा अनिद्राको जोखिम बढेको, २८ प्रतिशतमा निद्रासम्बन्धी असन्तुष्टि देखिएको, र ६४ प्रतिशतमा राति पटक–पटक बिउँझिने समस्या देखा परेको थियो ।

अनिद्राको समस्याबाट बच्नका लागि केही उपायहरू अपनाउन सकिन्छः

निद्राको अनुकूल वातावरण बनाउने – सुत्ने कोठा शान्त, अँध्यारो, र शीतल राख्ने । सुत्नुअघि टिभी हेर्न वा मोबाइल प्रयोग नगर्ने ।

नियमित सुत्ने र उठ्ने तालिका बनाउने – बिदाका दिनहरूमा पनि एउटै तालिका पालन गर्ने ।

निकोटिन, र मदिराको सेवन कम गर्ने – सुत्नुभन्दा केही समयअघि यी पदार्थहरूको सेवन नगर्ने ।

नियमित शारीरिक व्यायाम गर्ने – बिहान वा दिउँसो व्यायाम गर्नाले राति राम्रो निद्रा लाग्छ । तर, सुत्नुभन्दा ५–६ घण्टा अघि व्यायाम गर्नुपर्छ ।

यसरी, मौसम परिवर्तनसँगै निद्राको गुणस्तरमा आउने परिवर्तनलाई ध्यानमा राख्दै, उचित उपायहरू अपनाउनाले स्वस्थ निद्राको सुनिश्चितता गर्न सकिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतवार २०:२९

लोकप्रिय