सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रीहरुको ‘पारा’ देखेर सत्तारुढ दलकै नेता ‘छक्क’

सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले पूर्वविशिष्टलाई सेवा सुविधा बढाउने गरी कानुन बनाउन लागिएको विषयमा मन्त्रीहरूले संसद्मा नबोलेको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बेल्दै उनले सांसदहरूलाई बुझेर मात्र प्रश्न गर्न आग्रह गरे ।

उनले भने, ‘आज उठ्यो सुविधा दिने विधेयक ल्याइँदैछ । म नाम लिन्नँ, प्रतिपक्षका सांसद गार्ड लिएर हिँड्नुहुन्छ । अहिले सांसद मात्रै हुनुहुन्छ, त्यो विधेयक आउँदै छ भन्ने कुरा साँचो हो कि होइन ?’ सर्वोच्च अदालतको आदेशानुसार नै डेढ वर्षदेखि कानुन मन्त्रालयमा उक्त विधेयकको ‘ड्राफ्ट’ बनिरहेको पन्तले बताए ।

‘सरकारबाट पावरमा भएकाले अन्धाधुन्ध सुविधा लिए भनेर सर्वोच्च अदालतले जथाभावी नगर, मापदण्ड बनाएर मात्रै देऊ भन्यो । त्यो विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन मन्त्रालयमा चलिरहेको छ । यो सरकार आएको कति भो ?’ उनले प्रश्न गरे । प्रश्न उठाइएछि संसद्मा जवाफ नदिएर मन्त्रीहरूले बाहिर बोलेर हिँडेको भन्दै उनले आपत्ति जनाए ।

‘यो त मन्त्रीजीहरूले बोल्नुपर्ने । मन्त्रीजीहरूको पारा देखेर छक्क पर्छु । हिजो प्रकाशमानजीले यो कुरा होइन भनेर पाल्पामा बोल्नुभएछ । आएर त्यही कुरा संसद्मा भने भो नि,’ उनले भने । प्रश्न उठाइएपछि ‘मन्त्रीहरू कानमा तेल हालेर बस्न नहुने’मा उनले जोड दिए ।

‘…भन्नुपर्यो नि आएर, कसरी बनेको ? के कारणले बनेको ? कुन अवस्थामा छ ? सरकारको सोच के छ ? पटक–पटक प्रश्न उठेपछि मन्त्रीहरू कानमा तेल हालेर बस्न मिल्छ ?’ पन्तले प्रश्न गरे । उनले जनताको चासो सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आग्रह गरे ।

उनले भने, ‘म प्रधानमन्त्रीलाई पनि आग्रह गर्दछु, जनताको चासोलाई सम्बोधन गरौँ । जनताको भावनालाई सम्बोधन गरौँ । लोकतन्त्र भनेको जनभावनाअनुसार अघि बढ्ने हो ।’ प्रधानमन्त्रीलाई उनले मन्त्री फेर्न सुझाव समेत दिए ।

‘उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गरेको छैन भने, यो प्रधानमन्त्रीय व्यवस्था हो । मन्त्रीहरू फेर्ने बेला आयो । पफर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन । निश्चय पनि प्रधानमन्त्रीले मूल्यांकन गर्नुभएको होला,’ उनले भने ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतवार १५:४३

लोकप्रिय