सूचनाको शक्ति - The Power Of Information

        

जनसेवासँगै कागती स्याहार्दै मेयर

समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल भएका छन् तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । व्यावसाय र राजनितिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि कर्ममा लागेका छन् । उनले म्याग्दे गाउँपालिका–४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरिरहेका छन् ।

चाहना र समय व्यवस्थापन गर्न सके हरेक क्षेत्रबाट उत्पादन तथा आम्दानी लिन सकिने उनको बुझाइ छ । उनी हरेक बिहान कागती गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने गर्छन् । स्वास्थ्यका लागि समेत बिहान सबेरै उठेर बिरुवाको गोडमेल गर्न उपयुक्त हुने उनी बताउँछन् ।

उनले भने, ‘हाल एक हजारभन्दा बढी कागतीका बोटले फल दिन सुरु गरेको छ ।’ घरायसी प्रयोगका लागि प्रशस्तै पुग्ने भएपनि आगामी वर्षबाट व्यावसायिक रुपमा उत्पादन हुने उन बताउँछन् । ‘आगामी वर्षबाट बजार पठाउने कागती उत्पादन हुनेछ,’ उनले भने, ‘एक सिजनमा १५–२० हजार किलो कागती उत्पादन हुन्छ ।’

भुगोल र माटो सुहाउदो खेती गरेकाले बादर लगायतका जंगली जनावरले समेत क्षति पु¥याउन नसक्ने र बाँझिएको जमिनको उपयोग हुने नगर प्रमुख पण्डित बताउँछन् । पृथ्वी राजमार्गबाट छोटो दुरीमा रहेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा युवालाई कृषितर्फ प्रोत्साहन गर्न सकिने उनको बुझाइ छ । सामाजिक व्यक्तित्वले कागजी खेती गरेपछि अन्यलाई समेत यस प्रतिको प्रेरणा मिलेको छ ।

सामान्यतया कोदो, मकै लगायतका खाद्यान्न लगाउदाँ जंगली जनावरले क्षति पुर्याएको भनेर बाँझिदै गएको जमिनमा कागती खेती गरिएको हो । कोदो, मकै, भटमास लगायतका खेती गर्दा बाँदर लगायतका जंगली जनावरले क्षति पुर्याएपछि बाँझो बनेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा अन्यले समेत कागती खेतीतर्फ आकर्षित भएका स्थानीय हेमकुमार कायस्थ बताउँछन् ।

समाजको नेतृत्व गरिरहेका व्यक्तिले कृषिमा चासो दिएर संलग्न हुने गरेमा उपेक्षित बन्दै गएको कृषि पेशाप्रतिको दृष्टिकोण नै सम्मानित बन्ने उनले बताए । नेपाली कांग्रेसकै नेता बालकृष्ण पौडेल पण्डितको जस्तै अन्य जनप्रतिनिधिको देखिने गरि कुनै पेशा व्यावसाय हुनुपर्ने धारणा राख्छन् । कृषि पेशा नै उपेक्षित र खेती गर्ने संस्कृति लोप हुँदै जान थालेको अवस्थामा नगर प्रमुखको कृषिप्रतिको लगाव उदाहरणीय भएको उनको भनाइ छ ।

उनले भने, ‘गाउँघरमा बाँझो रहेका छन्, उनको लगावले युवालाई प्रोत्साहन गर्ने गरेको छ, गाउँघरका बाँझिएका जमिनमा केही गर्न सकिन्छ है भन्ने आशा मेयरको प्रयासले जगाएको छ ।’ जनप्रतिनिधीहरु समाजका मार्गदर्शक हुन् । समाजलाई परिवर्तन गर्न सक्ने गरी हौसला दिन सक्ने हुनुपर्ने गुण उनमा देखिएकोले सर्वसाधारणलाई उत्साहित गराउन सहयोग पुग्ने उनको भनाइ छ ।

बजार माग उच्च रहेको कागजी खेतीसँग अब पुख्र्यौली जमिनमा व्यावसायिक रुपमा मेवा खेती गर्ने नगर प्रमुख पण्डितको तयारी छ । उन आम्दानीसँगै कृषिको विकास, स्थानीयलाई रोजगारीको अवसर र बाँझिएका जमिनको उपयोगमा सहयोग पुग्ने सोचका साथ कृषि क्षेत्रमा आवद्ध भएको बताउनुहुन्छ । भारतबाट ल्याउनुपर्ने कागती समेत यहीँ उत्पादन बृद्धि भएसँगै खपत हुनेछ ।

अम्लिय फलफूलको व्यावसायिक खेतीले बाँदर लगायतका जंगली जनावरले क्षति पुर्याउन सक्ने छैन । कृषि ज्ञान केन्द्रले बाँदरको बढी आतङ्क रहेका स्थानमा अम्लिय फलफूल खेतीलाई प्रोत्साहन गर्दै आएको छ । अम्लिय पदार्थलाई बाँदर कम क्षति पु¥याउने गरेको पाइएको केन्द्रले जनाएको छ ।

यहीँ उत्पादन बढाउन सकिएमा कागती लगायतका तरकारी तथा अम्लिए फलको आयात घटाउन समेत सहयोग पुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । तरकारी तथा फलफूल आयातमा न्यनीकरण गर्नका लागि स्थानीय रुपमा नै जमिन बाँझो बनाउनुभन्दा उपयोगलाई नेतृत्वमा आवद्ध व्यक्तिको भूमिका महत्वपूर्ण हुनेछ । यहीँ उत्पादन गर्न सकिएमा खपत हुनेछ भने आयस्तर नै परिवर्तन हुनुका साथै आत्मनिर्भर हुनेछ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार ०८:३१

लोकप्रिय