आसन्न माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्र छनौट र विद्यालय निर्धारणको विषयले कोहलपुर नगरपालिकाका नगरप्रमुख र बाँके जिल्लाका तत्कालीन सिडियोबीच विवाद चुलियो । यस विषयमा भ्रष्टाचार, सौदावाजी, पक्षपात र अपारदर्शीताका गम्भीर आरोपहरू सार्वजनिक भए । तर न त प्रमाण पेश गरियो, न त कुनै स्पष्ट निष्कर्ष निकालियो ।
यसले आम नागरिकलाई अन्यौलमा राख्न र आफ्नो रणनीतिक स्वार्थ पुरा गर्न दुवै पक्ष सफल भए । उनीहरूबीचको आरोप–प्रत्यारोप ‘कुकुर–बिरालोको लडाइँ’जस्तै रह्यो, जसमा एक अर्कालाई दोष लगाउने बाहेक विद्यार्थी हितको कुनै ठोस समाधान खोज्ने प्रयास भएन ।
क) परीक्षा केन्द्र – निर्धारणको प्रक्रिया र मापदण्ड कुन आधारमा परीक्षा केन्द्र चयन गरियो ? सार्वजनिक विद्यालय र निजी विद्यालयका विद्यार्थीहरूमाथि विभेद भएको हो ? विद्यार्थीहरूको पहुँच, यातायातको सुविधा, सुरक्षा आदि मापदण्ड अपनाइयो कि अपारदर्शी निर्णय गरियो ?
ख) पहुँच र दूरीको समस्या – कतिपय विद्यार्थीहरूलाई १० किलोमीटरभन्दा टाढाको परीक्षा केन्द्र तोकिएको छ । विशेषगरी सरकारी विद्यालयका विद्यार्थीहरू साधन स्रोतको अभावमा पैदल यात्रा गर्न बाध्य छन् । विद्यालयको सवारी साधन नभएकोले उनीहरू बिहान सबेरै निस्किनुपर्ने हुन्छ, जसले मानसिक तनाव सिर्जना गर्छ ।
ग) प्रशासनिक गैरजिम्मेवारी – सिडियोमाथि भ्रष्टाचारको आरोप लाग्यो तर उनले कुनै स्पष्ट प्रतिक्रिया दिएनन् । नगरप्रमुखले किन विवाद भयो ? किन फेरबदल गर्नुपर्यो ? सुधार भयो कि भएन ? भन्ने विषयमा कुनै धारणा सार्वजनिक गरेनन् । शिक्षा क्षेत्रमा गम्भीर असर पर्ने निर्णय गर्दा पनि सरोकारवालाहरू मौन बसे ।
शिक्षा क्षेत्रमा यस्तो विवाद सिर्जना हुँदा प्रत्यक्ष रूपमा प्रभावित हुने पक्ष विद्यार्थी र अभिभावक नै हुन् । विशेषगरी निम्न वर्गका विद्यार्थीहरू, जो आर्थिक रूपमा कमजोर छन्, उनीहरूलाई लामो दूरीको परीक्षा केन्द्र तोक्दा थप तनाव सिर्जना हुन्छ ।
क) विद्यालयबाट परीक्षा केन्द्रसम्मको कठिन यात्रा
कौशिला नगरका विद्यार्थी – चटार र किरण नाला पुग्नुपर्ने ।
चन्न्हवा चौधरियाका विद्यार्थी – बाबानगर गोल्छा पुग्नुपर्ने ।
लखना रजगढवा क्षेत्रका विद्यार्थी – बाबानगर गोल्छा पुग्नुपर्ने ।
ढकेरी रझेना क्षेत्रका विद्यार्थी – चप्परगौरी पुग्नुपर्ने ।
भरैया र चप्परगौरी क्षेत्रका विद्यार्थी – रझेना पुग्नुपर्ने ।
निबुवा खडकवार क्षेत्रका विद्यार्थी – कौशिलानगर पुग्नुपर्ने ।
यी स्थानहरू टाढा मात्र छैनन्, कतिपय ठाउँहरूमा यातायात सुविधा समेत राम्रो छैन । पैदल यात्रा गर्ने विद्यार्थीहरूले बिहान ८ बजेको परीक्षा समय सम्हाल्नका लागि अत्यन्त चाँडो निस्कनुपर्ने हुन्छ । यसले उनीहरूको शारीरिक थकान मात्र होइन, मानसिक रूपले पनि असर पार्ने निश्चित छ ।
ख) परीक्षा दिने वातावरण र मनोवैज्ञानिक असर
लामो दूरीको यात्रा पछि विद्यार्थी परीक्षा हलसम्म पुग्दा मानसिक रूपमा थाकेका हुन्छन् । यसले उनीहरूको उत्तर लेख्ने क्षमतामा नकारात्मक असर पार्छ । अभिभावकहरू आफ्ना बच्चाहरूको सुरक्षाका लागि चिन्तित रहन्छन् ।
सरकार, शिक्षा मन्त्रालय, स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले तुरुन्त समाधान खोज्नुपर्छ । निम्न बुँदाहरू तत्काल कार्यान्वयन गरिनुपर्छ ।
क) पारदर्शी प्रक्रिया अपनाउनुपर्ने – परीक्षा केन्द्र निर्धारणका लागि स्पष्ट मापदण्ड तयार पार्नुपर्छ । विद्यार्थीहरूको सुविधा, दूरी, यातायातको पहुँचजस्ता कुरालाई प्राथमिकता दिनुपर्छ । कुनै पनि निर्णय गर्दा क्षेत्रगत सबै सरोकारवालासँग छलफल गरिनुपर्छ ।
ख) विद्यार्थीलाई सहज पहुँचको व्यवस्था मिलाउनुपर्ने – परीक्षा केन्द्रसम्म विद्यार्थीहरूलाई निःशुल्क यातायातको सुविधा उपलब्ध गराइनुपर्छ । टाढाको परीक्षा केन्द्र तोकिएमा न्यूनतम १० किलोमीटरसम्म विद्यार्थीहरूलाई विद्यालय वा सरकारी यातायात प्रयोग गर्न दिने व्यवस्था गर्नुपर्छ ।
ग) प्रशासनिक उत्तरदायित्व आवश्यक – नगर प्रमुखले विवादका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । जिल्ला प्रशासन कार्यालयले परीक्षा केन्द्र निर्धारणमा अपनाइएको विधि,मापदण्ड र आधारबारे प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । यदि अनियमितता भएको भए, सम्बन्धित दोषीहरूलाई कारबाही गर्नुपर्छ । एसइई परीक्षा कुनै साधारण परीक्षा होइन ।
यो विद्यार्थीहरूको उच्च शिक्षाको प्रवेशद्वार हो, जसले उनीहरूको भविष्य निर्माण गर्छ । तर कोहलपुरमा परीक्षा केन्द्र निर्धारण प्रक्रियाले विद्यार्थीहरूलाई अनावश्यक रूपमा अन्यौलमा पारिदिएको छ । नगरपालिका, प्रशासन, राजनीतिक दल, नागरिक समाज, सूचना–सञ्चार सबै अनुकुल बन्ने र आफू अनुकूल निर्णय गर्न सक्छन, तर विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्नु अशोभनीय, अमर्यादित र अक्ष्यम्य हुन्छ ।
समयमा सुधार गर्न नसक्नु दुःखद छ, यसले कोहलपुरको शिक्षा प्रणालीमै गम्भीर असर पार्नेछ । अन्ततः कोहलपुर नगरपालिकाले तत्काल जनतालाई स्पष्ट पार्नुपर्छ, सरोकारवालाले जिम्मेवारी लिनुपर्छ र विद्यार्थीको हितमा सही निर्णय लिनुपर्छ । अन्यथा, अहिलेको गल्तीले भविष्यमा अपूरणीय क्षति निम्त्याउनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
भुमबहादुर भण्डारी । युवा नेता एवं समाजसेवी