सूचनाको शक्ति - The Power Of Information

        

‘राजा सबैका साझा’ नारा घन्काउँदै काठमाडौंमा राप्रपाको बृहत् र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राजतन्त्रसहितको हिन्दु राष्ट्र नेपालको स्थापना हुनुपर्ने मागसहित राप्रपाले काठमाडौंमा र्‍याली निकालेको हो । बबरमहलबाट शुरू भएको र्‍याली त्रिपुरेश्वर हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयसम्म अघिसम्म पुगेको थियो ।

र्‍यालीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डे लगायतका राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर सहभागी भएका थिए । र्‍यालीमा सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलको तस्वीर अंकित टिसर्ट लगाएका थिए भने श्रीपेचसहितको ज्ञानेन्द्रको तस्वीर बोकेका थिए । जहाँ- राजा सबैको साझा लेखिएको छ ।

प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अधिवक्ता स्वागत नेपालले अहिलेको व्यवस्था ढलिसकेको भन्दै अब छिट्टै देशमा राजा आउने बताए ।उनले थप भने, ‘नागरिकहरुको चेतना जागृत भएको छ । अहिलेको व्यवस्था ढलिसकेको छ । देश ग्रे लिस्टमा परेको छ ऋण पनि पाउँदैन अब, सरकारले कर्मचारी संयन्त्र चलाउनै नसक्ने भएको छ । व्यवस्था ढलिसकेको छ खाली राजसंस्थाको औपचारिक घोषणा मात्र बाँकी छ ।’

उनले थप भने, ‘राजा आउने बित्तिकै स्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण हुनेछ । विदेशमा रहेका सबै नेपालीहरु नागरिकतापूर्ण अधिकार प्राप्त हुनेछ ।’ राप्रपाको र्‍यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको थियो । राप्रपाले राजतन्त्रसहितको हिन्दु राष्ट्र नेपालको स्थापनाको माग गर्दै पोखरा, बुटवल, नेपालगन्ज, धनगढीमा शक्ति प्रदर्शन गरिसकेको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार २०:१२

लोकप्रिय