सूचनाको शक्ति - The Power Of Information

        

विपिन जोशी नछुट्दै बन्धक रिहाइ रोक्ने हमासको घोषणा

हमासले इजरायली बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाड्ने बताएको हो । नेपालका विपिन जोशी रिहा नहुँदै हमासले बन्धक छाड्ने क्रम रोक्ने बताएको हो ।

हमासले विज्ञप्ति जारी गरी भनेको छ, ‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले शत्रु (इजरायल)ले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखेको छ ।’ युद्धविराम सम्झौता अनुसार हमासले आगामी शनिबार बन्धक रिहा गर्नुपर्ने थियो ।

यसअघि हमासले ५ खेप गरेर २१ बन्धक मुक्त गरेको छ । यता गाजाबाट इजरायली बन्धक रिहाइ रोक्ने घोषणा गरेपछि हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् । ट्रम्पले हमासले आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बन्दी रिहा नभए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भने, ‘शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धक रिहा गरिएन भने, सबै बाटा बन्द गरिनुपर्छ र विनाश सिर्जना गरिनुपर्छ ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार ११:४४

लोकप्रिय