सूचनाको शक्ति - The Power Of Information

        

सरस्वतीले यौन प्रस्ताव अस्वीकार गरेपछि दुई किशोरीको हत्या

शुक्रबार दिउँसो १० बजे दुई किशोर ‘७६’ र ‘७३’ (नाबालक भएका कारण नाम गोप्य राखिएको) ले नियमित फोन सम्पर्क हुने दुई किशोरीलाई भेट्ने योजना बनाए । अछामको ढकारी गाउँपालिका वडा नम्बर ३ का ती किशोरहरू फुपूको घर माघको कोसेली पुर्याउन आएका थिए ।

नियमित फोन सम्पर्कमा रहेकी किशोरीहरू फुपूको घर भएकै क्षेत्र अर्थात् वडा नम्बर ८ मा भएकाले यो समय उनीहरूका लागि भेटघाट गर्ने उपयुक्त समय थियो । एउटै गाउँपालिकाका भए पनि भौगोलिक हिसाबले टाढा पर्ने भएकाले उनीहरूबीच खासै भेटघाट भएको थिएन । किशोरीहरू १४ वर्षीया ईशारा खड्का र १५ वर्षीया सरस्वती खड्का थिए । नाताले सरस्वती ईशाराकी बहिनी पर्छिन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब निरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार केही महिनाअघि ईशारा र ‘७३’ को भौतिक रूपमा भेटघाट भएर फोन नम्बर साटासाट भएको थियो । त्यसपछि उनीहरू निरन्तर सम्पर्कमा थिए । यता ईशाराकी उस्तै उमेरकी साथी ‘सरस्वती’ छिन् भन्ने थाहा पाएपछि ‘७६’ का साथी ‘७३’ ले मोबाइल नम्बर मागेका थिए । र, मोबाइल नम्बर पाएपछि उनीहरू पनि दैनिक रूपमा फोनमा कुराकानी गरिरहेका थिए ।

‘किशोरीहरू सानै उमेरका भएकाले व्यक्तिगत मोबाइल थिएन,’ डीएसपी भण्डारीले भने, ‘तर, सिम चाहिँ आफ्नै रहेछ । कल गर्नुपर्ने समयमा आफ्नो सिम हाल्ने अनि कुरा गर्ने रहेछन् । अरुबेला फोन परिवारले चलाउने रहेछन् ।’ शुक्रबार उनीहरूले १० बजे भेट्ने योजना बनाए । सोही अनुरूप दुई युवक नजिकैको शोडसा सामुदायिक वनमा रहेको छिन्ने ओडारमा आएर पर्खिए ।

त्यसको दुई घण्टापछि दिउँसो १२ बजेतिर सरस्वती र ईशारा बाख्रा ल्याएर त्यही वनमा भनेकै ठाउँमा आइपुगे । भेट भएपछि उनीहरू छिन्ने ओडारमा बसेर कुराकानी गर्न थाले । सरस्वतीको फोनबाट ‘७६’ ले फोटो, भिडियो र म्युजिक शेयरइटमार्फत आफ्नो फोनमा हाले । यसरी केही समय उनीहरूबीच सामान्य कुरा भयो । किशोरीले आफ्नो चुन्नी (दोपट्टा) युवकलाई दिएपछि युवकका लागि बुक भयो भन्ने हुने रहेछ ।

डीएसपी भण्डारीले घटनाको विवरण सुनाउँदै भने, ‘ईशारा र ‘७३’ को सम्बन्ध राम्रै भएकाले ईशाराले चुन्नी दिइन् । तर, सरस्वतीले भने अर्का युवक ‘७६’ लाई चुन्नी दिन मानिनन् ।’ चुन्नी नदिए पनि चिनोका रूपमा इयरफोन भए पनि देऊ भन्दै ‘७६’ ले सरस्वतीको घाँटीबाट इयरफोन खोसे । तर, सरस्वतीले त्यो दाइको इयरफोन भएकाले नदिने बताइन् । र, ‘७६’ को हातबाट थुतेर राखिन् ।

उता चुन्नी दिएका ईशारा र ‘७३’ एकान्तमा गएर गफ गर्न थाले । यता सरस्वतीले ‘७६’ लाई चुन्नी नदिएकाले प्रेमको कुरा मिलेको थिएन । ‘ठीकै छ, चुन्नी नदिए पनि शारीरिक सम्बन्ध राख्न दे न त भन्ने कुरा भएको रहेछ,’ ‘७६’ ले सरस्वतीलाई भनेको कुरा उद्धृत गर्दै डीएसपी भण्डारीले भने, “सरस्वतीले बिहे गर्ने भए मात्र सम्बन्ध राख्ने अडान कसिन् । ७६ ले तत्कालै नगर्ने, पाँच–सात वर्षपछि गर्ने बताए । तर, सरस्वतीले मानिनन् ।’

यता प्रेम र शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गरेको झोक ‘७६’ लाई थियो । सरस्वती ‘७६’ बाट तर्किएर बाख्रा भएको ठाउँतिर लागिन् । त्यही बेला आवेगमा आएर ‘७६’ ले ढुंगाले सरस्वतीको टाउकोमा हाने । ‘धेरै ठूलो विवाद भएको देखिंदैन । तर, त्यही प्रेम र शारीरिक सम्बन्धको प्रस्ताव अस्वीकार गरेपछि ‘७६’ आवेगमा आउँछन्,’ डीएसपी भण्डारीले भने, ‘७६ ले सरस्वतीको टाउकोमा हानेपछि जुन ठाउँमा पुग्दा टाउकोमा लाग्छ त्यही ठाउँमा ढल्छिन् । टाउकोमा ठूलो चोट लागेपछि उनको निधन हुन्छ ।’

‘७६’ ले तत्कालै सरस्वतीको ज्यान गएको थाहा पाउँछन् । र, आफूले गरेको हो भन्ने थाहा नहोस् भनेर प्राकृतिक बनाउन माथि जान्छन् र हातले अडेस लगाएर ढुंगा पहिरो गएजस्तो गरी तलतिर झार्छन् । ढुंगा लडाएको आवाज आएपछि ‘७३’ के आवाज रहेछ भनेर ‘७६’ भएको ठाउँतिर आउँछन् । ढुंगा ज्यान गुमाइसकेकी सरस्वती र त्यतिबेलासम्म जिउँदै रहेकी ईशारा गइरहेको हुन्छ । ढुंगा ईशारातिर गइरहेको देखेपछि ‘७३’ ले उनलाई भाग भन्दै चिच्याउँछन् । भाग्यले त्यतिबेला ईशारालाई ढुंगा लाग्दैन ।

यता ‘७३’ ले सरस्वतीको लास देख्छन् । त्यही बेला हतारहतार उनीहरू भएको ठाउँमा ईशारा पनि आउँछिन् । र, त्यहाँ सरस्वती ढलेको देख्छिन् । उनी पहिले ‘७६’ सँग भएको विवाद सम्झिन्छिन् र यो सबै ‘७६’ ले गरेको अनुमान लगाउँछिन् । ‘तिमीहरूलाई पख, ढुंगा लडाएर फुपुलाई मार्यौ, म भन्दिन्छु भनेकी हुन्छिन्,’ किशोरहरूले दिएको बयान उद्धृत गर्दै डीएसपी भण्डारी भन्छन्, “नभन । जे हुनु भइहाल्यो । माथिबाट ढुंगा लडेर उसको माथि परेको भनेर फकाउँछ । तर, ईशारा पत्याउँदिनन् ।’

उनी रुँदै घरतिर फर्किन खोज्छिन् । त्यही बेला ईशाराका प्रेमी ‘७३’ ले हात समातेर पछार्छन् । र, दुवैले ढुंगाले हान्छन् । ढुंगा लागेपछि ईशारा चिच्याउन थाल्छिन् । नमरेको थाहा पाएपछि फेरि ठूलो ढुंगाले हानेर टाउको फुटाइदिन्छन् । ‘हेड इन्जुरी र ओभर ब्लिडिङका कारण ईशाराको पनि घटनास्थलमै ज्यान जान्छ,’ डीएसपी भण्डारी सुनाउँछन्, ‘त्यसपछि युवकहरू घर आउँछन् । र, भाग्ने मनस्थितिमा पुग्छन् ।’ साँझ बाख्रा खोरमा पुग्छन् तर बाख्रा चराउन गएका सरस्वती र ईशारा फर्किंदैनन् ।

त्यसको भोलिपल्ट शनिबार बेलुका ७ बजे दुई किशोरीको शव १५ मिटरको दूरीमा फेला परेको थियो । डीएसपी भण्डारीका अनुसार त्यस लगत्तै दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार घटनाको अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । घटनाको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय अछामको टोलीले अनुसन्धान गरेको डीएसपी भण्डारीले बताए ।

नियन्त्रणमा लिइएका दुई युवकले नै पछि हत्या गरेको स्वीकारेका थिए । त्यसको एक सातापछि १९ माघमा प्रहरीले हत्याको कारण बाहिर ल्याएको छ । युवकहरूको उमेर सानै भएकाले नाम र तस्बिर सार्वजनिक गरिएको छैन । डीएसपी भण्डारीका अनुसार घटनामा दुई किशोरले हत्या गरेको स्वीकारेका छन् । यसमा अन्यको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पोस्टमार्टमको अन्तिम रिपोर्ट र प्राविधिक रिपोर्टहरू आउन बाँकी रहेकाले प्रहरीको अनुसन्धान जारी छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार १९:०४

लोकप्रिय