लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका उक्त आयोजना विशेषगरी उपलब्धिविहीन भएका हुन् । जिल्लाको तिला गाउँपालिकामा चार, हिमामा चार र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् ।
प्रति आयोजनामा कम्तीमा रु ५० लाखभन्दा बढी बजेट खर्च गरिएका छन् । तर, अहिले चारवटा आयोजना मात्र सञ्चालनमा छन् । बाह्रवटा लिफ्ट सिँचाइका आयोजना लथालिङ्ग अवस्थामा छन् । तातोपानी गाउँपालिकामा आठवटा लिफ्ट सिँचाइका आयोजना निर्माण भए पनि अहिले दुईवटा मात्र सञ्चालनमा रहेको योजना अधिकृत ओमबहादुर चन्दले बताए ।
यहाँ निर्माण भएका लिफ्ट सिँचाइ आयोजना अघिल्लो पाँचवर्षे कार्यकालमा निर्माण भएका हुन् । सोलार प्रणालीबाट सञ्चालन गरिएका लिफ्ट सिँचाइ आयोजना खासै टिकाउ भएनन् । अहिले यो चालु आर्थिक वर्षमा १ र ६ नं वडामा विद्युतीय प्रणालीबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेको गाउँपालिका योजना शाखाका अधिकृत चन्दको भनाइ छ ।
हिमा गाउँपालिकामा चारवटा सोलार प्रणालीमार्फत निर्माण भए पनि अहिले सबै आयोजना सञ्चालनमा नरहेको गाउँपालिका सूचना अधिकारी रतन रावतले जानकारी दिए । सोलार प्रणालीबाट सञ्चालन गरिएका सिँचाइ आयोजना खासै सफल भएका छैनन् । गाउँपालिका–३, मोप्लागाउँमा २८५ घरपरिवारले सिँचाइ पुग्ने गरी २०७७ सालमा लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो ।
कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयको सहयोगमा गाउँमा रु ५० लाखमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो । सोलार प्यानलको आयु कम्तीमा २५ देखि ३० वर्षसम्म हुने र त्यतिबेलासम्म सिँचाइ गर्न सकिने अपेक्षा गरिएको थियो, अहिले प्रयोगविहीन भएको सूचना अधिकारी रावतको भनाइ छ । तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार तिलामा चारवटा लिफ्ट सिँचाइ आयोजना छन् ।
चारवटा आयोजनामध्ये विद्युतीय प्रणालीबाट जडान गरिएका दुईवटा आयोजना मात्र सञ्चालनमा रहेको बताए । जुम्लाको कुल क्षेत्रफल दुई लाख ५३ हजार १०० हेक्टरमध्ये ३९ हजार ४८६ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार ३६४ हेक्टर र असिञ्चित (पाखो) २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । अहिले २६ हजार ४३५ हेक्टरमा मात्र खेती भएको छ ।
जिल्लामा खेतीका लागि सिँचाइ सुविधा पुगेको भन्दा नपुगेका जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेषगरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखर लगाइँदै आएको छ । सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पुर्याउन एक दशकअघिदेखि नजिकको तिला र हिमा नदीको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिँचाइ गर्ने योजना ल्याए पनि आयोजना दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको यहाँका स्थानीयवासी बताउँछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जुम्ला