सूचनाको शक्ति - The Power Of Information

        

औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’ गर्छिन् ७६ वर्षीया वृद्धा

क्यारिङका लागि नेपाल–भारत सीमा क्षेत्रस्थित रुपैडियामा भारतीय सरकारले निर्माण गर्न थालेको प्रवेशद्वार नजिकै बसेकी ७६ वर्षीया वृद्धा ।

नेपाल–भारत सीमा क्षेत्रस्थित भारतले निर्माण गर्न थालेको प्रवेशद्वारसँगै अडिएर एक वृद्धा महिला निन्याउरो अनुहार लाएर टुसुक्क बसेकी छिन् । जतिबेला दिउँसोको तीन बजेको हुँदो हो । उनका छेउमै तीन बोरी सामान छन् । उनीका गाला पूरै चाउरी परेका । स्यानो कालो रङको साइड ब्याक भिरेकी छिन् । ब्याकमा एउटा सानो मोबाइल र औषधि पनि छ ।

मोबाइलमा पैसा सकिएर शून्य ‘ब्यालेन्स’ छ । उनी हराएका आफन्तको प्रतीक्षामा निन्याउरो अनुहार लाउँदै बसेकी भने होइनन् । गरिबीका कारण औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’को सामान नेपाल छिराउने मौका छोपिरहेकी हुन् । वृद्ध बिरामी शरीरलाई डोर्याउँदै दैनिक उनी यसैगरी क्यारिङ गर्छिन् । जसबाट हुने आम्दानीले हुने नियमित औषधि र दैनिक खर्च टार्छिन् ।

कोहलपुरबाट दैनिक सार्वजनिक बसमा ओहोरदोहोर गरेर जोखिमपूर्ण काम गर्न उनलाई रहर भने होइन । जीवनको उत्तरार्धसम्म पनि गरिबी पाखा नलागेपछि जीवन जिउन अर्थात् औषधि सेवनका लागि उनी यसरी काम गर्छिन् । चोरीपैठारी गरी भारतीय बजारबाट नेपाल सामान ल्याउनु गैरकानुनी हो, यो उनलाई स्पष्टसँग थाहा छ ।

यसरी ल्याउँदा कर छलिसमेत हुने विषयमा उनी अनविज्ञ भने छैनन् । तर, उनी यो काम गर्न विवश छिन् । किन उनले यस्तो काम गर्छिन् ? विवाहपश्चात् बागलुङबाट बाजेससुरासहित उनको सबै परिवार सुर्खेत आयो । करिब २०२६ सालतिर आएको उनलाई सम्झना छ । सुर्खेतबाट पनि उनीहरु बाँके झरे । उनले १० सन्तानलाई जन्म दिइन् ।

अहिले दुई छोरी र एक छोरा जीवित छन्, तर साथमा छैनन् । उनी बिरामी छिन् । नियमित औषधि खानुपर्छ । औषधि सकियो भने उनको जीवन पनि समाप्त भयो । त्यसैले हर कोसिस गरेर उनले औषधि खानै पर्छ । उनलाई प्रेसर छ, लिभरमा समस्या छ । फोक्सोमा पानी जमेको छ । यति समस्याबाट ग्रसित उनका श्रीमानको पनि साउनमा मृत्यु भयो । उनी बेसहारा भइन् ।

ढल्किएको उमेरमा पनि सास रहँदाको आस भनेजस्तै औषधि र एक छाक खानकै लागि दुःख गरिरहेकी छिन् । त्यो पनि अवैध । सामान्य खुद्रा पसल गर्नलाई उनीसँग लगानी छैन । अरु काम गर्ने उमेर ढल्केको छ । ‘मैले गर्न सक्ने काम के नै छ र,’ उनले भनिन्, ‘कयौं गाली खाँदै हेपिँदै यही क्यारिङको काम गर्छु ।’ दिनमा एकपटक सामान ओसार्दा ३०० देखि ५०० सम्म फाइदा हुने उनी बताउँछिन् । दिनमा एकपटकभन्दा बढी उनले ओहोरदोहार गर्न सक्दिनन् ।

कमाएको पैसाले साँझ बिहानको छाक टार्न र नियमित औषधि खानलाई ठिक्क हुने भन्दै उनले भनिन्, ‘रासन र औषधि किनेर बचेको पैसाले कहिलेकसो भन्सार र सशस्त्र प्रहरीले सामान बरामद गर्छन् । त्यो सामानको खर्च साहुले व्यहोर्दैनन् । बचेको पैसा त्यसलाई मिलाउन ठिक्क हुन्छ ।’ सीमा वारि (नेपालगन्ज, कोहलपुर)का व्यापारीले माग गरे अनुसारका सामान उनले ल्याउँछिन् र केही नाफा राखेर बिक्री गर्छिन् ।

‘जिन्दगी जिउनै पर्यो । भोक बस्न सकिँदैन । उमेर जति ढल्के पनि काम नगरी पुग्दैन,’ उनले भनिन् । मेरो नाम र तस्वीरसहित कथा लेख्न उनले हिम्मत जुगाइन् । भन्छिन्, ‘यहाँ मान्छेले के–के बिक्री गरिसके । देश खोक्रो भइसक्यो । मैले के पाप गरेछुँ र । औषधि खानलाई थोरै सामान ल्याउने त काम गर्छु ।’ उनले यसो भनिरहँदा पनि उनको सुरक्षा र पेसालाई असर नपु¥याउने उद्देश्यले नाम गोप्य राखिएको छ ।

स्रोत : गणेश विशु । नागरिक न्यूज
प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार १६:२१

लोकप्रिय