सूचनाको शक्ति - The Power Of Information

        

आकाशमै ठोक्किए विमान र हेलिकोप्टर, १८ जनाको मृत्यु

अमेरिकामा अमेरिकन एयरलाइन्सको विमान वासिङ्टन डीसी नजिकै मध्य हावामा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको छ । उक्त विमानमा ६४ जना सवार थिए । ६० यात्रु र चार चालक दलका सदस्य थिए भने सेनाको हेलिकोप्टरमा तीन जना थिए ।

प्रहरी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई दिएको जानकारी अनुसार अहिलेसम्म १८ जनाको शव निकालिएको छ । बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान वासिङ्टनबाट कन्सास जाँदै थियो । टक्करपछि विमान हावामा दुई टुक्रा भई पोटोम्याक नदीमा खसेको थियो ।

स्थानीय समय अनुसार राति ९ बजे रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट नजिकै भएको यस दुर्घटनाको अनुसन्धान सुरु भएको छ । नदीमा खोजी तथा उद्धार कार्य जारी छ । अमेरिकाको रिगन वासिंगटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथिको आकाशमा उक्त दुर्घटना भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएका थिए । विमानको टुक्रा तथा हेलिकोप्टरको भग्नावशेष नदीमा फेला परेको छ । ४३ वर्षअघि पनि जनवरी, सन् १९८२ मा एयरफ्लोरिडाको बोइङ ७३७ विमान यही विमानस्थल नजिक दुर्घटना भएको थियो । विमान १४ औँ स्ट्रिट ब्रिजमा ठोक्किँदै पोटोम्याक नदीमा खसेको थियो ।

रोयटर्समा प्रकाशित समाचार अनुसार वासिङ्टन नेसनल एयरपोर्ट (हाल रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट) मा विमान उडेको केही समयमा नै दुर्घटना हुन पुगेको थियो । उक्त दुर्घटनामा विमानमा सवार ७८ जनाको मृत्यु भएको थियो भने पुलमा यात्रा गरिरहेका तीन जनाको मृत्यु भएको थियो । पुलमा यात्रा गरिरहेका सात वटा गाडीमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार १२:४५

लोकप्रिय