सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको मनोबल गिराउँदै गृहमन्त्री, सरुवा-बढुवामै हस्तक्षेप

रमेश लेखक गृहमन्त्री भएपछि नेपाल प्रहरीले आफ्नो साख दिनप्रतिदिन गुमाउँदैछ । लेखकले ३० बर्षे सेवावधि हटाउँछु भनेर सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका थिए । सरकारले गिरीबन्धु टी स्टेटको हदबन्दी फुकुवा गर्ने दोषी जोगाउन, कर फस्र्योटमा अरबौैं हेराफेरी गर्ने, चुडामणि शर्मा र सूचना प्रविधिका हरेक ठेक्कामा बीसौं गुणा लगायत बढाएर भ्रष्टाचार गर्ने विकल पौडेलहरुलाई जेलबाट छुटाउन अध्यादेश ल्यायो ।

तर प्रहरी र सशस्त्र प्रहरी बलमा कायम रहेको बिभेदकारी ३० बर्षे सेवावधि हटाउन अध्यादेश ल्याउन सकेन । प्रहरीको सेवावधि सम्बन्धी अध्यादेश ल्याउन नसक्नुमा गृहमन्त्री लेखकको अक्षमता देखिन्छ । नेपाल प्रहरीमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा काबिल भएर बढुवा हुँदैन, राजनीतिक आस्था र बिचौलियानिकट मात्र बढुवा हुन्छ भन्ने मान्यता एसपी, एसएसपी र डीआईजी बढुवामा प्रष्ट देखिएको छ ।

नेपाल प्रहरीको मनोबल उकास्नभन्दा पनि गिराउन सत्ताधारी दल र ती दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको भूमिका बढी देखिएको छ । सादा कागजमा निवेदन लेखेका भरमा नगर प्रहरीमा भर्ना गरिएका दलका कार्यकर्ताहरु प्रहरीमाथि हावी गराइएको छ । उदाहरणका लागि बाराको महागढीमाई नगरपालिकालाई लिन सकिन्छ । महागढीमाई नगरपालिकाकी एक कर्मचारी लाइसेन्सविना मोटरसाइकल चलाउने क्रममा चेकिङमा परिन् ।

ट्राफिक प्रहरीले सडकमा लाइसेन्स माग्दा नगर प्रहरी आएर दुब्र्यवहार गरी प्रहरीको मनोबल गिराउने कार्य गर्दा बारा जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी महेन्द्र खड्काले एक्सन लिन सकेनन् । प्रहरीमाथि दुब्र्यवहार गर्ने नगर प्रहरीका अगाडि एसपी खड्का लाचार भएर बसे । प्रहरीको मनोबल गिराउने महागढीमाईकै अर्को घटना पनि प्रकाशमा आएको छ ।

महागढीमाईका मेयर उपेन्द्रप्रसाद यादवले महिनौंदेखि बक्यौता रहेको तीन लाख रुपैयाँ विद्युत महसुल नतिरेपछि विद्युत प्राधिकरण बाराका कर्मचारी उनको घरको लाइन काट्न गएका थिए । मेयर यादवले आफ्नो घरको लाइन काट्न गएका विद्युुत प्राधिकरणका कर्मचारीलाई नगर प्रहरी लगाएर घेराबन्दी गरी बन्धक बनाएर राखेको बिषयमा जानकारी गराउँदा पनि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र एसपी महेन्द्र खड्का लाचार भएर बसेको आरोप छ ।

प्राधिकरणका कर्मचारीलाई बन्धक बनाउने मेयरलाई नियन्त्रणमा लिएर शरीर बन्धक मुद्दा चलाउनुपर्नेमा प्रजिअ अधिकारी र एसपी खड्काले दस औंला जोडेर कर्मचारीलाई मुक्त गराउनुपरेको थियो । मेयरले विद्युत महसुलबापत ३ लाख ६४ हजार ९७४ रुपैयाँ तिर्न अटेर गरेपछि बाध्य भएर प्राधिकरणले गएको पुस २९ गते लाइन काट्न कर्मचारी खटाएको थियो । अरुले विद्युत महसुल नतिरे तिराउन लाग्नुपर्ने मेयरले नै महसुल नतिरेको र लाइन काट्न जाने कर्मचारीलाई बन्धक बनाएका थिए ।

मेयर यादव र उनले भर्ना गरेका नगर प्रहरीले नगरपालिकामा गरेको मनपरी कार्यका बिरुद्ध स्थानीय नागरिक आक्रोशित भई नगर प्रहरी र र मेयरलाई लखेट्न बाध्य भएका थिए । जनआक्रोशबाट जोगिन मेयर यादव गढीमाई मन्दिरको विवाहमण्डपमा लुक्न बाध्य भएका थिए । गृहमन्त्री रमेश लेखक नेतृत्वको नेपाल प्रहरीले सत्य तथ्य छानबिन गरी जनआक्रोश शान्त पार्नुपर्नेमा बदनाम मेयर र उनका नगर प्रहरीलाई जोगाउन लाठीचार्ज गर्नुका साथै निर्दोष नागरिकलाई मुद्दा लगाएर थुनामा राखी मत्स्यन्याय प्रदर्शन गरेको छ ।

प्राधिकरणका कर्मचारी बन्धक बनाउने र प्रहरीको मनोबल गिराएबापत दण्डित हुनुपर्ने एसपी महेन्द्र खड्कालाई लेखकले पुरस्कृत गरी एसएसपीमा बढुवा गरेका छन् । नेपाल प्रहरीले पेशागत कर्तब्य बिर्सिदा त्यो क्षेत्रमा साम्प्रदायिक बिद्रोह हुने अवस्था निम्तिंदैछ । पछिल्लो समयमा साम्प्रदायिक हिंसा भड्कने आँकलन गर्दै नेपाली सेनाले गस्ती बढाउन सुरु गरिसकेको छ ।

सरुवा-बढुवामा गृहको हस्तक्षेप

प्रहरीको सरुवा बढुवामा गृहमन्त्री र उनको सचिवालयले निकै चासो दिएको छ । नेपाल प्रहरीमा शुक्रबार बेलुका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस हुँदा त्यसमा उनको सचिवालयले चासो दिएको हो । खासगरी गृहमन्त्रीको सचिवलायमा रहेका जनक भट्ट लगायतको समूहले प्रहरीको सरुवा बढुवामा चलखेल गरेका हुन् ।

एसएसपी बढुवा, एसपी बढुवा तथा एसएसपी सरुवा र पदास्थपनमा समेत उनको सचिवालयले चासो दिएको थियो । गृहसचिव गोकर्ण दुवाडी र आइजीपी बसन्त कुँवर मन्त्रीको सचिवालय अगाडि निरिह भएका छन् । मन्त्री र उनको सचिवालयले जे निर्णय गरेर आउ भन्यो त्यही गर्न बाध्य रहेका छन् । सशस्त्र प्रहरीमा पनि यस्तै भएको छ । नेपाल प्रहरीको एसएसपी बढुवादेखि सरुवा र पदास्थापनमा समेत गृहमन्त्रीको सचिवालयको प्रभाव रहेको छ ।

उता सशस्त्रको ९० जना एसपी सरुवा पनि आइजी आफैले निर्णय गर्न नपाएको गुनासो हल्चोकतिर सुनिएको छ । नेपाल प्रहरीको एसपी बढुवामा २०६१ सालमा दुई पटकमा र २०६२ सालमा भर्ना भएको टोलीबाट एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । उनीहरू डिएसपीमा बढुवा हुँदा पनि दुई पटकमै भएका थिए । २०६१ सालमा भर्ना भएका १७ जना र २०६२ सालमा भर्ना भएका २० जना एसपी बढुवाको सिफारिसमा परेका छन् ।

तर २०६२ सालमा भर्ना भएका टोलीका १० जना २०७२ सालमै डिएसपीमा बढुवा भएका थिए । उनीहरूको टोलीका १० जना एसपीमा सिफारिस भएका छन् । २०७२ सालमा डिएसपीमा बढुवा भएका ७ जनालाई छुटाएर २०७४ मा डिएसपी भएका १० जनालाई बढुवा गरिएको छ । यसले गर्दा संगठनमा ठुलो असन्तुष्टि पैदा भएको छ । यसअघि पनि ३९ नम्बर र ३४ नम्बरलाई अगाडि ल्याउन अगाडि भएकालाई बढुवामा छुटाइएपछि प्रहरी संगठनमा असन्तुष्टि उत्पन्न भएको थियो ।

यसले गर्दा संगठनमा मनोबल खस्केको र विवादितहरूले मात्रै अवसर पाएको भन्दै असन्तुष्टि बढेको हो । २०६१ सालमा भर्ना भएर २०७२ सालमै डिएसपी भइसकेका रविन कार्की, अनिलकुमार खड्का, महेन्द्र नेपाल, वीरेन्द्र थापा र ज्ञानेन्द्रबहादुर बस्नेत बढुवामा छुटेका छन् । यस्तै उनीहरूभन्दा १८ दिनपछि भर्ना भएका र सँगै डीएसपी भएका दीपेन्द्र पञ्जियार थारु र महेश थापालाई पनि बढुवामा छुटाइएको छ ।

तर उनीहरूभन्दा १६ महिना जुनियर १० जना डीएसपीहरू एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । २०६२ सालमा भर्ना भएर २०७४ सालमा डीएसपी भएका मुकुन्द रिजाल, नवीन कार्की, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगम कुँवर एसपीमा बढुवा सिफारिस भएका छन् । यसअघि डीएसपी बढुवामा आफूहरूलाई अन्याय भएको उनीहरूको गुनासो थियो ।

२०६१ जेठमा भर्ना भएका मध्येबाट सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, दीपक गिरी, नविनकृष्ण भण्डारी, तिलक भारती, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही र किशोरकुमार श्रेष्ठ एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । यस्तै उनीहरूकै वैकल्पिक टोली २०६१ असारमा भर्ना भएका कुलदीप चन्द पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् ।

यही टोलीका मनोहरप्रसाद भट्ट, केशवकुमार थेबे, टेकबहादुर कार्की, फणिन्द्र प्रसाईँ, शरदकुमार थापा, युवराज खड्का र राजन चापागाईँ पनि एसपीमा बढुवा सिफारिस भएका छन् । २०६२ भदौमा भर्ना भएर २०७२ चैतमा एसपी भएको टोलीका १० जना नै एसपीमा सिफारिस भएका छन् । यो टोलीबाट पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने र श्यामकुमार सारू मगर यसपटक पनि बाजि मार्न सफल भएका हुन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १६:५७

लोकप्रिय