सूचनाको शक्ति - The Power Of Information

        

ऊर्जामन्त्री खड्काको लाजमर्दो चर्तिकला, नाङ्गिँदै असली हर्कत

केपी शर्मा ओलीको मन्त्रिमण्डलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका दीपक खड्काका कारण मन्त्रिपरिषद नै खल्लो हुने गरेको एक मन्त्रीले सुनाएका छन् । संखुवासभाका अर्बपति खड्काले विद्युत प्राधिकरणमा आफ्नो कार्यालय खोल्नेदेखि जलविद्युत कम्पनीहरूमा लगानी गर्ने र आफू अनुकुल ठेक्का दिने काम गर्न थालेपछि मन्त्रिपरिषद नै खल्लो हुन थालेको ती मन्त्रीको दाबी छ ।

डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट)को निर्माण कार्यको ठेक्का आह्वानको विषयमा उनी जोडिएका थिए । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले ऊर्जामन्त्री दीपक खड्काकै होटलमा मन्त्रालयसँग सम्बन्धित विधेयकमाथि छलफल गरेपछि झन् विवादमा तानिएका छन् । मन्त्री खड्काको लगानीमा खुलेको होलिडे इन रिसोर्टमा गत माघ ७ र ८ गते मन्त्रालयकै आयोजनामा जलस्रोत विधेयकमाथि समितिले आवासीय छलफल गरेको विषय बाहिर आएको छ ।

सामान्यतया मन्त्रालय र सांसदहरू बिच विधेयकमाथिको छलफल संसदीय समितिकै हलमा हुन्छ । तर मन्त्री खड्काले आफ्नो होटलमा मन्त्रालयको तर्फबाट विधेयकमाथि छलफल आयोजना गराएका थिए । आफ्नो होटलमा र आफ्नै मन्त्रालयको विधेयकमाथि छलफल राखेर मन्त्री खड्काले स्वार्थ बाँझिने काम गरेका छन् । खड्का दम्पतीको नाममा काठमाडौँको बुढानीलकण्ठ र संखुवासभामा घरजग्गा छन् । खड्काको जमिनमात्रै बुढानीलकण्ठ र चन्द्रागिरिमा २१ रोपनी दुई आना छ ।

बुढानीलकण्ठमा भने खड्काले होटल खोलेका छन् । सोही होटलमा कार्यक्रम आयोजना गरेका थिए । खड्काविरूद्ध पूर्वाधार समितिमा एक महिनाअघि नै छानबिनको माग गर्दै उजुरी परेको थियो । ४५४ मेगावाटको किमाथाङ्का अरूण जलविद्युत आयोजना र १९०२ मेगावाटको मुगु कर्णाली जलासययुक्त आयोजनाको विषयमा सूचना निकाल्नुअघि नयाँ कार्यविधि निर्माण गरिएको र सेटिङमा आयोजना दिने गरी अघि बढाइएको उजुरीमा उल्लेख छ । ललिन्द्र राईका तर्फबाट पुस १२ गते दिइएको उजुरीमा छानबिन माग गरिएको थियो ।

यसैगरी खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि र नेपाल स्काउटबीचको विवाद उत्कर्षमा छ । नेपाल स्काउटको लैनचौरस्थित तीन रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर मन्त्री खड्काको कम्पनीले लामो समयदेखि व्यापार गर्दै आएको थियो । खड्काको कम्पनीले उक्त जग्गामा पार्टी प्यालेस सञ्चालन गर्दै आएको थियो भने दुई वटा भवन विभिन्न पसलहरूलाई भाडामा लगाउँदै आएको थियो । यसरी भाडाबापत पैसा उठाए पनि खड्काको कम्पनीले स्काउटलाई पैसा तिर्न अटेर गर्दै आएको छ ।

यो विषय साम्य हुन नपाउँदै जगदुल्ला ठेक्का प्रकरण उनीसँग जोडिएको थियो । हाइड्रो पावरका लगानीकर्तासमेत रहेका खड्कालाई कांग्रेसले स्वार्थ बाझिने गरी उर्जा मन्त्रालयको साँचो सुम्पेपछि उनले आफ्नो असली हर्कत देखाएको मन्त्रालयकै कर्मचारीहरूले समेत आरोप लगाएका छन् । लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी र मेन्छेयाम हाइड्रो पावर लिमिटेडका संस्थापक अध्यक्ष रहेका खड्का उर्जा उत्पादकहरूको संस्था इप्पानका सल्लाहकार हुन् । खड्काको कम्पनीले संखुवासभामा सानो क्षमताका जलविद्युत आयोजनाहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १३:३४

लोकप्रिय