सूचनाको शक्ति - The Power Of Information

        

माइक्रोसफ्टले किन्न लागेको हो टिकटक ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा रहेको बताएका छन् । यद्यपि अमेरिकामा यस एपको भविष्य अनिश्चित रहेको छ । टिकटकले अमेरिकी कानूनको सामना गरिरहेको छ ।

अमेरिकी कानूनले कम्पनीलाई आफ्नो चिनियाँ मालिक बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धित हुन आदेश दिएको छ । सोमबार राति माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने, ‘म हो भन्छु, टिकटकमा धेरै चासो छ, टिकटकमा ठूलो रुचि छ ।’

उनले एउटा ‘बोलकबोल युद्ध’ पनि राम्रो विकास हुने टिप्पणी गरे । चिनियाँ सरकारले अमेरिकीहरूको जासुसी गर्न वा अमेरिकी जनमतलाई गोप्य रूपमा प्रभाव पार्न सक्ने चिन्ताका कारण भिडियो–सेयरिङ प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने कानून जनवरी १९ देखि लागु भएको थियो ।

तर ट्रम्पले बेइजिङसँग समाधान खोज्दै यसको कार्यान्वयन अढाई महिनाका लागि स्थगित गरेका छन् । सिएफआरए रिसर्चका एन्जेलो जिनोका अनुसार माइक्रोसफ्ट सम्भावित खरिदकर्ताहरू मध्ये एक हो जसको टिकटकमा लगानी गर्ने कारण हुनेछ । माइक्रोसफ्टको ‘डिजिटल विज्ञापन क्षेत्रमा अझ बढी स्थापित हुने इच्छा रहेको’ उनको विश्वास छ ।

कानूनको म्याद नजिकिँदै गर्दा टिकटक संयुक्त राज्य अमेरिकामा अस्थायी रूपमा बन्द भएको थियो । त्यसपछि ट्रम्पले पद सम्हाल्ने बित्तिकै ‘सम्झौता गर्न’ समय दिन प्रतिबन्धलाई विलम्ब गर्न कार्यकारी आदेश जारी गर्ने वाचा गरे । त्यसपछि ट्रम्पलाई श्रेय दिँदै टिकटकले देशमा सेवा पुनस्र्थापित गर्यो ।

यद्यपि बाहिरिँदै गरेको बाइडेन प्रशासनले पहिले नै कुनै प्रतिबन्ध लागू नगर्ने बताएको थियो । आफ्नो पहिलो ह्वाइट हाउस कार्यकालमा ट्रम्पले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने प्रयास गरेका थिए ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १२:५३

लोकप्रिय