सूचनाको शक्ति - The Power Of Information

        

मध्यरातमा हथौडा र छिनो बोकेर बैंकभित्र छिरेपछि…

दाङको तुलसीपुरस्थित एनएमबि बैंकको शाखा कार्यालयमा चोरी गर्न छिरेका युवक समातिएका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासका २७ वर्षीय सन्तोष चौधरी छन् ।

उनलाई आइतबार राति दुई बजे तुलसीपुर उपमहानगरपालिका–५ बिपी चोकस्थित एनएमबि बैंकभित्रबाट पक्राउ गरिएको तुलसीपुर प्रहरीले जनाएको छ । एक व्यक्ति मध्यरातमा बैंकमा प्रवेश गरेको भन्ने सूचना पाएपछि इन्स्पेक्टर विनोद खत्री नेतृत्वको टोली बैंकको कार्यालय रहेको स्थानमा पुगेको थियो ।

प्रहरी पुग्दा ती युवक बैंकको ताला फोडेर भित्र प्रवेश गरिसकेका थिए । प्रहरीले उनीसँगै हथौडा, छिनो, ह्याक्सो आदि बरामद गरेको छ । चौधरीले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार उक्त बैंकमा राति सुरक्षा गार्ड राखिएको छैन । त्यही थाहा पाएर चोरी गर्न युवक गएको आकलन छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतवार १३:२०

लोकप्रिय