कक्षा १२ को परीक्षा सकेर रोजगारीको खोजीमा रहेका १८ वर्षीय किरण धामी र उनका साथी रुविन तामाङ गत पुस २३ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परे । सुरक्षागार्डका रूपमा कार्यरत किरणका बुवा कल्याण धामी छोरा लागुऔषधको कसुरमा प्रहरीले नियन्त्रणमा पुगेदेखि बेचैन छन् ।
दुःखकष्ट गरी हुर्काएको पढाएको छोरा लागुऔषधको कसुरमा पक्राउ परेपछि अब के कारबाही भोग्नुपर्ने हो भन्ने चिन्ताले रुविनको परिवारलाई पोलेको छ । काठमाडौँको महाराजगन्जस्थित खाडी बस्ती मार्ग (सुकुम्बासी टोल)मा बस्दै आएका रविन र किरण रोजगारी नपाएपछि बिस्तारै साथीभाइसँग बरालिँदै धूमपानको लतमा फस्दै गएका थिए ।
रुविनको कोठाबाट प्रहरीले फर्मास्युटिकल ड्रग्स र ५० हजार नगद बरामद गरेसँगै किरणलाई पनि नियन्त्रणमा लिई प्रहरी वृत्त महाराजगन्जले थप अनुसन्धान गरिरहेको जनाइएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले गत भदौमा एक लाख ८० हजार ४३० थान लागुऔषध ट्रमाडोल क्याप्सुलसहित छ जना युवा पक्राउ गर्यो ।
काठमाडौँको गोकर्णेश्वर–७, माकलबारीबाट भदौ १८ गते पक्राउ परेका उदयपुर गाईघाटका श्रीबहादुर राईको साथबाट ३४ हजार ५०० थान ट्रमाडोल क्याप्सुल र कागेश्वरी मनहरा बाबाचोकबाट भदौ १९ गते पक्राउ परेका सर्लाही हरिपुर–१ का विपिनकुमार महतोको साथबाट प्रहरीले लागुऔषध ट्रमाडोल क्याप्सुल ५३ हजार ९०० र नाइट्राजेपाम ८९२ थान बरामद गर्यो ।
भदौ ३१ गते काठमाडौँको मित्रनगरबाट ९०० थान ट्रमाडोलसहित पर्वत महाशिला–५ का बालकृष्ण अधिकारी र ८३ हजार थान ट्रमाडोल र नगद दुई लाख ५० हजार नगदसहित झापा अर्जुनधाराकी सम्झना रोका पक्राउ परे । गत असोज २ गते सो लागुऔषधका मुख्य कारोबारी बारा परवानीपुर–३ का प्रदीप सर्राफलाई ३० थान लागुऔषध ट्रमाडोल क्याप्सुलसहित प्रहरीले काठमाडौँको टोखा–१० बाट पक्राउ गर्यो ।
यी केही प्रतिनिधि घटना मात्र हुन् । लागुऔषधको प्रयोग तथा कारोबारमा युवा पुस्ताको संलग्नता बढ्दै जाँदा नियन्त्रण र अनुसन्धानमा थप चुनौती बढ्दै गइरहेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा लागुऔषधको कारोबार र ओसारपसारको आरोपमा ३१ हजार ३६७ जना पक्राउ परेका छन् । यो सङ्ख्या वार्षिक रूपमा बढ्दो छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७१–०७२ मा देशभरबाट लागुऔषध कारोबारमा संलग्न एक हजार ८८० जना पक्राउ परे । हरेक वर्ष यसरी पक्राउ पर्ने सङ्ख्या बढ्दै आव २०८०–०८१ मा चार हजार ३९९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले लागुऔषधको कारोबार र प्रयोगमा युवापुस्ताको संलग्नता बढ्दै गइरहेकाले उत्पादन, ओसारपसार, कारोबार र प्रयोगकर्तामाथि निगरानी बढाइएको बताए ।
युवापुस्ताले लागुऔषध प्रयोग गर्नुअघि चुरोट, हुक्का, भेप जस्ता धूमपानको प्रयोग गर्ने र बिस्तारै लागुऔषधमा आकर्षित हुने बताए । आचार्य भन्छन्, ‘हाम्रो समाजमा ८० प्रतिशतभन्दा बढी युवा सङ्गतकै कारण लागुऔषधको कुलतमा फस्ने गरेको अध्ययनले नै देखाएको छ । आफ्ना सन्ततिलाई यसको कुलतबाट जोगाउन अभिभावक र आसपासमा लागुऔषध प्रयोग र कारोबार रोक्न समुदाय नै सजग हुनु आवश्यक छ ।’
युवापुस्तालाई लागुऔषधको कुलतमा फस्न नदिन प्रहरीले समुदाय स्तरमा सचेतनासँगै प्रयोग र कारोबारमा कडाइ गरिरहेको र स्वयम् अभिभावक तथा समुदायस्तरमा गरिने प्रयास अझ प्रभावकारी हुने आचार्य बताउँछन् । लागुऔषधको कारोबारको असर कारागारसम्म पुगेको छ । देशभरका कारागारमा रहेका झन्डै २८ हजार कैदीबन्दीमध्ये करिब सात हजार लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ ।
सरकारी तथ्याङ्क अनुसार नेपालमा हाल एक लाख ३४ हजार व्यक्ति लागुऔषध प्रयोगकर्ता रहेको उल्लेख छ, तर लागुऔषधविरुद्ध क्रियाशील संस्था नार्कोनन नेपालले भने नेपालमा सातदेखि आठ लाख सङ्ख्याको हाराहारीमा लागुऔषध प्रयोगकर्ता दाबी गर्दै आएको छ । नार्कोन नेपालका प्रमुख वसन्त कुँवरले उनी भन्छन्, ‘नेपालमा प्रत्येक वर्ष झन्डै ५० हजार लागुऔषधका प्रयोगकर्ता थपिँदै गइरहेको बताए ।
उनका अनुसार सरकारी तथ्याङ्कमा पक्राउ परेका, उपचार गराइरहेका वा लागुऔषको कसुरमा कारागारमा रहेका व्यक्तिको मात्र विवरण रहेको र लुकिछिपी लागुऔषध प्रयोग गर्ने र कारोबार गर्ने ठुलो सङ्ख्या यो तथ्याङ्क बाहिर रहेको देखिन्छ । उनी भन्छन्, ‘यसलाई नियन्त्रण गर्न घर, समुदाय, स्कुल, कलेजमा पाठ्यक्रमसहित विशेष सचेतना अभियान नै सञ्चालन गर्नुपर्छ ।’
कुँवरले लागुऔषधमा फसेकाको उपचारका लागि देशभरका १७५ वटा पुनस्र्थापना केन्द्र (रिह्याब सेन्टर) मा छ हजार ५०० क्षमता पर्याप्त नरहेकाले यसको सङ्ख्या र क्षमता विस्तारमा जोड दिनुपर्ने भन्दै युवापुस्तालाई लागुऔषधको कुलतमा फस्न नदिन लागुऔषध प्रयोगमा रोक्ने, प्रयोगकर्ताको पहिचान, पहिचानको व्यवस्थापन र उपचार तथा पुनः लागुऔषधको कुलतमा फर्किन नदिन विशेष ध्यान दिनुपर्ने र बेचबिखनको रोकथाम नै महत्वपूर्ण हुने बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं