विश्वकै धनाढ्य एवं अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले ‘मंगल ग्रहमा मान्छे उतार्ने’ भन्दै आएका छन् । जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि मंगल ग्रहमा अमेरिकी अन्तरिक्षयात्री पुर्याउने टिप्पणी गरेका थिए । अन्तरिक्ष अन्वेषणको दौड चलिरहँदा मंगल ग्रह पृथ्वीबाट कति टाढा छ र यहाँ पुग्न कति समय लाग्ने भन्ने उत्सुकता स्वभाविक हुन्छ ।
मंगल ग्रहमा जान एकतर्फी ९ महिना समय लाग्न सक्छ भने फिर्ता आउने ट्रिप लगभग तीन वर्षसम्मको हुनसक्छ । यो आकलनबाहेक पृथ्वीबाट मंगल ग्रहको यात्रा दुई ग्रहबीचको दूरी र अन्य विभिन्न कुराले निर्धारित गर्छ । मंगल ग्रह सूर्यबाट नजिक देखिने चौथो ग्रह हो । पृथ्वीबाट भने शुक्रपछि नजिकको दोस्रो ग्रह मंगल हो । तर, सूर्यको परिक्रमा गर्ने क्रममा दुवै ग्रहबीचको दूरी फेरिइरहन्छ ।
दुवै ग्रहबीचको सबैभन्दा निकटतम दूरी मंगल ग्रह सूर्यबाट सबैभन्दा नजिक (पेरिहेलियन)मा र पृथ्वी सूर्यबाट सबैभन्दा टाढा (अफिलियन)मा रहेको बेला हुन्छ । यतिबेला पृथ्वी र मंगलबीचको दूरी पाँच करोड ४६ लाख किलोमिटर हुन्छ । यद्यपि, यो इतिहासमा कहिले पनि रेकर्ड भएको छैन । दुई ग्रहबीच सबैभन्दा नजिक सन् २००३ मा रेकर्ड भएको दूरी पाँच करोड ६० लाख किलोमिटर हो । दुवै ग्रहहरूबीचको दूरी सूर्यबाट सबैभन्दा टाढा एक अर्काको विपरीत अवस्थामा भएका बेला सबैभन्दा बढी हुन्छ ।
त्यतिबेला पृथ्वीदेखि मंगल ग्रहबीचको दूरी ४० करोड १० लाख किलोमिटरसम्म हुन्छ । यसरी औसतमा दुई ग्रहबीचको दूरी २२ करोड ५० लाख किलोमिटर छ । प्रकाशको गति प्रतिसेकेन्ड दुई लाख ९९ हजार ७९२ करिब तीन लाख किलोमिटर हुन्छ । मंगल ग्रहबाट पृथ्वीसम्म प्रकाश आइपुग्न सबैभन्दा नजिकको विन्दुमा हुँदा ३.०३ मिनेट लाग्छ । इतिहासमा रेकर्ड भएको दूरीबाट ३.११ मिनेट लाग्छ । सबैभन्दा टाढाको विन्दुबाट २२.४ मिनेट र औसतको दूरीबाट १२.५ मिनेट लाग्छ ।
हालसम्म मानव निर्मित सबैभन्दा तीव्र गतिको अन्तरिक्षयान अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पार्कर सोलार प्रोब हो । आफ्नो गतिको रेकर्ड आफैँ ब्रेक गरिरहेको यसको गति अन्तिमपटक सन् २०२४ को डिसेम्बर २४ मा ६ लाख ९२ हजार किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो । यदि पार्कर सोलार प्रोब वा यतिकै गतिको अन्तरिक्षयानमा चढेर मंगल ग्रहमा जाँदा कति समय लाग्ला त ? यस्तो अवस्थामा पृथ्वी र मंगल ग्रह सबैभन्दा नजिकको विन्दुमा हुँदा ७८.८४ घण्टा वा ३.३ दिन लाग्नेछ । सबैभन्दा टाढाको दूरीमा हुँदा ५८१.४ घण्टा वा २४.२ दिन लाग्नेछ ।
पृथ्वीबाट नजिकको विन्दुमा भएको बेला अवतरण गर्न मिल्ने गरी मंगल ग्रहका लागि यान प्रक्षेपण गर्न विभिन्न कुराहरू महत्त्वपूर्ण हुने विश्लेषकहरूको भनाइ छ । मंगल ग्रहका लागि यान प्रक्षेपण गर्दा रकेटको इन्धन, ल्यान्डर एवं अर्बिटरको डिजाइन, प्रक्षेपणका लागि उत्कृष्ट समय लगायतका कुराहरू महत्त्वपूर्ण हुने बताइएको छ ।
यी सबै कुराहरू ध्यानमा राखेर सबैभन्दा छिटो ९ महिनामा मंगल ग्रहमा यान अवतरण हुनसक्ने नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरको आंकलन छ । पृथ्वीलाई सूर्यको परिक्रमा गर्न एक वर्ष लाग्छ भने मंगल ग्रहलाई १.९ अथवा करिब दुई वर्षको समय लाग्छ । पछिल्लोपटक प्रक्षेपण भएको नासाको पर्सिभिअरन्स अन्तरिक्षयान मंगल ग्रहमा पुग्न २०४ दिन वा करिब सात महिनाको समय लागेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं