सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा पाँच महिनामा भेटिए ३६ जना नयाँ कुष्ठरोगी

बाँकेमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म पाँच महिनाको समय अवधिमा ३६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन रवीन्द्र शाहले चालु आवको साउनदेखि मङ्सिरसम्मको पाँच महिनाको अवधिमा जिल्लाका विभिन्न भागमा ३६ जना नयाँ कुष्ठरोगी पहिचान भएको बताए ।

उनका अनुसार ३६ मध्ये २३ जना पुरुष र १३ जना महिला छन् । जिल्लामा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १० जना भेटिएको आइएनएफ बाँकेले जनाएको छ । विश्व कुष्ठरोग दिवस २०८१ को पूर्वसन्ध्यामा आइएनएफ बाँके, स्वास्थ्य कार्यालय, बिएनएमटी नेपाल लगायत कुष्ठरोग निवारण सम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममार्फत पत्रकारहरुलाई उक्त कुरा जानकारी गराइएको हो ।

आइएनएफ बाँकेका अनुसार नेपागलगन्ज उपमहानगरपालिकामा आठ, डुडुवा गाउँपालिकामा पाँच, राप्तीसोनारीमा चार, जानकीमा तीन तथा बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकामा दुई–दुई जना नयाँ कुष्ठरोगी भेटिएका हुन् । बाँकेमा योसँगै नियमित औषधी सेवन गर्ने कुष्ठरोगीको सङ्ख्या १२४ पुगेको छ । जसमध्ये ७३ जना पुरुष र ५१ जना महिला छन् । उनीहरुले १२ महिने र १८ महिने कोर्षको औषधीको डोज खाइरहेको शाहको भनाइ छ ।

चाइल्ड (१४ वर्ष उमेरभन्दा कम) र एडल्ट (१४ वर्ष माथि)का गरी दुई समूहमा कुष्ठरोगी पहिचान गरिने भएतापनि यस वर्ष चाइल्ड समूहमा रोगी फेला नपरेको उनले बताए । त्यसैगरी साइनिङ्ग अस्पताल आइएनएफ नेपाल बाँकेका प्रमुख मङ्गलबहादुर थारुले अस्पतालमा चालु आर्थिक वर्षको ६ महिनामा नौ हजार ६१४ जनालाई बहिरङ्ग सेवा प्रदान गरिएको जानकारी दिए । अस्पतालमार्फत चेकजाँच गर्दा ५८ जनामा कुष्ठरोग फेला परेको उनले बताए ।

‘यो चालु आवको छ महिनामा हामीले अस्पतालमा नौ हजार ६१४ जनालाई बहिरङ्ग सेवा प्रदान गरेका छौँ, अस्पतालमार्फत् चेकजाँच गर्दा छ महिनामा ५८ जनामा कुष्ठरोग फेला परेको छ,’ प्रमुख थारुले भने, ‘नेपालका विभिन्न जिल्ला लगायत भारतसम्मका नागरिकमा कुष्ठरोग फेला परेको हो ।’ थारुका अनुसार ४१ जना पुरुष र १७ जना महिलामा कुष्ठरोग फेला परेको हो ।

बाँकेका २३, बर्दियाका १५, सुर्खेतका एक, दैलखेका एक, जाजरकोटका दुई, दाङका एक, सल्यानका दुई, रुकुमका एक, सुदूरपश्चिमका दुई र भारतीय १० जनामा कुष्ठरोग फेला परेको उनले बताए । थारुले समाजमा अझै पनि कुष्ठरोग लागेर निको भए पनि उक्त व्यक्तिलाई कुष्ठरोगीको संज्ञा दिइने गरेको भन्दै त्यो गलत भएको बताए ।

‘कुष्ठरोग आदिमकालदेखि मानिसलाई लागेको पाइन्छ, अहिलेसम्म आउँदा यो रोग सामान्य भइसक्यो, समयमै रोगको निदान गरी पूरा समयसम्म औषधी सेवन गर्दा यो रोग पूर्णरुपमा निको हुन्छ,’ उनले भने, ‘समाजमा अझैपनि कुष्ठरोग लागेर निको भइसकेको व्यक्तिलाई हेर्ने दृष्टिकोण गलत छ, कुष्ठरोग लागेर निको भएको व्यक्ति कुष्ठरोगी हुँदैन, कुष्ठरोग प्रभावित हुन्छ, यो चेतना समाजमा जगाउनुपर्छ ।’

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले नेपालले सन् २०१० मा नै राष्ट्रिय स्तरमा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गरिसके पनि बाँकेमा भने कुष्ठरोगीको सङ्ख्या बढ्दै गएको तथ्याङ्क रहेको बताए । उनले राष्ट्रिय स्तरमा मात्रै निवारणको लक्ष्य प्राप्त गरेर नहुने भन्दै प्रदेश र स्थानीय स्तरसम्म निवारणका लागि पहल हुनुपर्ने बताए ।

उनले भने, ‘बाँकेसहित केही जिल्लाहरुमा पछिल्लो समयमा कुष्ठरोगी भेटिने क्रम बढेको छ, राष्ट्रिय स्तरमा मात्र निवारण भएर हुँदैन, प्रदेश र स्थानीय स्तरमा पनि निवारणका लागि कार्यक्रमहरु बनाइनुपर्छ ।’ शाहीले कुष्ठरोग निवारणका लागि आवश्यक रकम नभए पनि विभिन्न संघसंस्थाहरुसँगको साझेदारीमा कुष्ठरोगको पहिचान, न्यूनीकरण र निवारणका लागि विभिन्न कार्यक्रमरु गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार १६:५२

लोकप्रिय