सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा तीन महिनामा १३५ सडक दुर्घटना, २० जनाको मृत्यु

बाँके जिल्लामा पछिल्लो तीन महिनामा सडक दुर्घटनामा परेर २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार जिल्लामा गत तीन महिनामा भएका १३५ सवारी दुर्घटनामा परेर २० जनाको मृत्यु भएको हो ।

तीन महिनाको अवधिमा भएका ती दुर्घटनामा २१ जना गम्भीर घाइते भएको र १६५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुसार कात्तिक महिनामा भएका २० वटा दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो ।

सात जना गम्भीर र १७ जना सामान्य घाइते भएका थिए । मङ्सिरमा भएको ४० सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो । ११ जना गम्भीर घाइते र ३८ जना सामान्य घाइते भएका थिए भने पुस महिनामा भएका ७५ सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।

तीन जना गम्भीर घाइते र ६५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । कार्यालयका अनुसार पुस महिनामा दुर्घटना र मृतकसँगै घाइतेको सङ्ख्या पनि बढ्नुमा हुस्सु र कुहिरो प्रमुख कारण रहेको छ ।

ट्राफिक प्रहरी कार्यालयले पुसमा हुस्सु र कुहिरोका कारण अत्यधिक दुर्घटना भएपछि सार्वजनिक सूचना जारी गर्दै गति कम गरेर सवारी चलाउन अपिल गरेको थियो । कात्तिक, मङ्सिर र पुस गरी तीन महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका आठ हजार ७७५ सवारी साधनलाई कारबाही गर्दै ७५ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

५९१ पटक सचेतना कार्यक्रम

सडक दुर्घटनाहरू बढ्दै गएपछि ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले तीन महिनामा जिल्लाका विभिन्न ठाउँमा ५९१ वटा ट्राफिक प्रहरी सचेतना कार्यक्रम गरेको जनाएको छ ।

ट्राफिक सचेतना कार्यक्रमबाट २९ हजार ६७७ जना प्रत्यक्ष लाभान्वित भई ट्राफिक नियमहरूका बारेमा जानकार र सचेत दुवै भएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए ।

उनले सो अवधिमा ट्राफिक प्रहरी बाँकेले हुस्सु र कुहिरोले दुर्घटना निम्त्याउन सक्ने भन्दै सवारीको गति कम गर्न रातको समयमा सवारी साधनमा रिफ्लेक्टभ स्टिकर टाँसेर सवारी चलाउन आग्रह गर्दै आएको पनि बताए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार १६:४४

लोकप्रिय