सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका ३५ हजार किशोरीलाई ‘एचपीभी’ खोप

बाँकेका ३५ हजार बढी किशोरीलाई माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खोप दिइने भएको छ । बाँकेका आठ स्थानीय तहका विद्यालयमा अध्ययनरत ३३ हजार ३७५ र विद्यालय बाहिर रहेका दुई हजार ८५० गरेर ३५ हजार ४४ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाउने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार माघको २२ गतेदेखि फागुनको ६ गतेसम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइनेछ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जिल्लामा दुई चरणमा खोप अभियान सम्पन्न हुने बताए ।

पहिलो चरणमा माघ २२ गतेदेखि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा सात दिनसम्म खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा राप्तीसोनारी, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकामा माघ ३० गतेबाट अभियान सञ्चालन हुनेछ । खोप लगाउनका लागि अहिले जिल्लाका सबै पालिका तहका स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले बताए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार १६:३८

लोकप्रिय