काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । जसअनुसार नेपाली सेना, प्रहरी परिचालन गरिएको छ ।
जिल्लाको बेथानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा डढेलोका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत डढेलोको सम्भावित घटना हुन सक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ । डढेलोका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं.१, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।
सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो । डढेलो नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन् । ‘हामीले डढेलो लागेको क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएका छौँ,’ अधिकारीले भने ।
खानीखोला गाउँपालिका–१ थामलेकडाँडास्थित सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताए । उनका अनुसार सुरक्षाकर्मीले डढेलोको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिने गरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।
डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मंगलबार दिउँसो २ बजेदेखि डढेलो सुरु भएको हो । हाल डढेलो नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाउँदै आएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको यकिन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए ।
उनका अनुसार वनमा आगो फैलिरहेकाले नियन्त्रणका लागि जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासंघसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ । पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जंगली जनावरको बासस्थान रहेको महाभारत जगलमा तीन दिनदेखि डढेलो लागिरहेको रहेको हो ।
बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउको माथिल्लो क्षेत्रको बस्ती डढेलोको नजिक रहेको बताइएको छ । त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रूख, जंगली जनावर तथा चराको बासस्थान रहेको यस क्षेत्रलाई जोगाउन आवश्यक रहेको स्थानीय बताउँछन् । डढेलो लागेको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काभ्रेपलाञ्चोक