सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डले भने, ‘सरकार आयु धेरै छैन’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको आयु धेरै नभएको दाबी गरेका छन् । केपी ओली सरकार छिटै ढल्ने संकेत गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकारमा नभएको स्पष्ट पारे ।

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली सरकारको भविष्यवाणी गर्दै भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक छैन । स्वाभाविक छैन । पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’

कांग्रेस नेता डा.शशांक कोइराला, नेता चन्द्र भण्डारीको बीचमा बसेका प्रचण्डले सरकार धेरै दिन नटिक्ने दाबी गरेका हुन् । यस्तै नेता चन्द्र कोइरालाले पनि सरकार ढल्न सक्ने सङ्केत गरे । राजनीतिमा सरकार तलमाथि हुनुलाई स्वाभाविक हुने उनको तर्क थियो । सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा उनले आपत्ति जनाए ।

ओली नेतृत्वको सरकार बनेदेखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको प्रचण्डले आरोप लगाए । सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैधानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १५:१७

लोकप्रिय