अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । यसअघि ४५ औँ राष्ट्रपतिको रूपमा पहिलो कार्यकाल पूरा गरेका ट्रम्पको यो दोस्रो कार्यकालका लागि शपथ हो । सन् २०२० को चुनावमा पराजित उनी २०२४ मा चुनाव जितेर पुनः राष्ट्रपतिमा फर्केका हुन् । यस्तो इतिहास बनाउने उनी दोस्रो अमेरिकी राष्ट्रपति हुन् ।
यसअघि स्टेफेन क्लिभल्याण्डको नाममा यस्तो अजीव–इतिहास बनेको थियो । सन् १८८५ मा अमेरिकाको २२ औँ राष्ट्रपति भएका उनी सन् १८८९ मा पराजित भएर सन् १८९९३ मा २४औँ राष्ट्रपतिका रूपमा ह्वाइट हाउस फर्केका थिए । यो आजभन्दा १३२ वर्ष पहिलेको एक दुर्लभ घटना थियो । ट्रम्पले १३२ वर्षपछि त्यो दुर्लभ इतिहासको पुनरावृत्ति गराएका छन् ।
नेपाली कथनमा भन्दा ह्वाइट हाउसको ओभल अफिसमा १३२ वर्षपछि खोलो फर्किएको छ । यो खोलो वर्षाको भेल जस्तो देखिएको छ । यसले उसको वरिपरि भएका ‘राता’लाई आफूसँगै घिसारेको थियो नै, टाढा टाढा भएका ‘नीला’लाई पनि बगाएको छ । तर, यतिले नै हो यो भेल नदी भयो भन्न सकिने अवस्था छैन । यसको गति र चापको निरन्तरता र स्थायित्वले नै त्यसको निर्णय गर्नेछ । तर, अब के होला ? कसो होला ? भन्ने चासो र चिन्ता भने बढेकै छ ।
यो चासो र चिन्ता अमेरिकामा त छ नै, बाँकी विश्व पनि यसबाट मुक्त छैन । यसको मूल कारण ट्रम्पको उग्र अमेरिकीवाद, चुनावी प्रतिबद्धता र सामान्यतः अनुमान र प्रक्षेपण नै गर्न नसकिने उनको स्वभाव हो । पहिलो दिनदेखि नै तानासाह हुन्छु भनेर घोषणा गरेका ट्रम्पले त्यसको छनक भने दिएका छन् । शपथ लिएको केही समयपछि नै १०० भन्दा बढी कार्यकारी आदेश नै जारी गरे । यसबाट अमेरिकामा फेरि एकपटक कानूनको भन्दा पनि आदेशको शासन सुरु भयो । आदेशको शासन भनेको एक किसिमको तानासाही नै हो ।
लोकतन्त्रको आवरणमा अहिले विश्वको शासन व्यवस्था यही बाटो भएर अगाडि बढिरहेको छ । अझ ट्रम्प त अमेरिकी कंग्रेसका दुवै च्याम्बरमा बहुमतसहित ह्वाइट हाउस फर्केका हुन् । यसपटक उनले कलेज इलेक्ट्रल मतको बहुमत मात्र हैन, जनमतको पनि बहुमत जुटाएका छन् । प्रस्तुत पृष्ठभूमिमा स्वभावैले अतिवादी उनी एक निर्वाचित तानासाह हुनु अस्वाभाविक पनि हैन । अमेरिकामा ट्रम्पको दुन्दुभि बजेको बेला हो यो ।
अहिले उनीसँग टक्कर लिने सामथ्र्य कोहीसँग पनि छैन । नोभेम्बर ५ को आमनिर्वाचनमा भएको ठूलो पराजयले प्रतिपक्षी डेमोक्रेट पार्टीको शीर निहुरेको छ । उसले सानो स्वरमा बढीमा भन्ने भनेको ‘हेरौं कसरी पूरा हुँदारहेछन् चुनावी वाचा ?’ मात्रै हो । उसलाई लागेको होला, ट्रम्पले चुट्कीको भरमा समाधान गरिदिन्छु भनेका सारा समस्या समाधान हुँदैनन् । त्यसपछि जनतालाई भन्न सक्छ, हामीले त भनेकै थियौ, ‘ट्रम्प ढाँट हो । उसले चुनाव जित्नका लागि झुटो वाचा गरेको थियो ।’ यो क्रम बढ्दै जाँदा उसले खुच्चिङ पनि गर्न सक्छ ।
उसलाई त्यसको फाइदा सन् २०२२ मा हुने मध्यावधि चुनावमा हुन सक्छ । अमेरिकी मूलधारको मिडियालाई लिगेसी मिडिया भन्ने नयाँ नाम दिइएको छ । चुनावको बेला लगभग सबैजसो लिगेसी मिडिया ट्रम्पको विपक्षमा थियो । घोषणा गरेर होस् वा नगरेर धेरैले कमला ह्यारिसकै पक्ष लिएका थिए । तर, ट्रम्पले जिते । जो जित्छ, उही शिकन्दर हुने भएकाले हार्ने र उसको पक्षमा लाग्नेहरूको स्वर सानो वा बोल्ती नै बन्द हुने हो । अहिले अमेरिकाको लिगेसी मिडिया एक किसिमको नुन खाएको कुखुराजस्तो झोक्राएको अवस्थामा छ ।
अझ यो अवस्थालाई सातो हराएर लय नपक्रेको अवस्था पनि भन्न सकिन्छ । ट्रम्पले भनेकै थिए, ‘मेरो विरूद्धमा लाग्ने मिडिया अमेरिका र अमेरिकी जनताका शत्रु हुन् । उनीहरूसँग बदला लिइने छ ।‘ बुझ्नुपर्ने चुरो कुरो के हो भने मूलधारका मिडियाको बल र चारो दुवै पैसा हो । अहिलेको वैश्य युगमा पैसा भनेको बजार हो र बजार भनेको जनता । अहिलेको अमेरिकी जनतामा ट्रम्प ब्रान्डको एक छत्र छ । यस्तो अवस्थामा ट्रम्प देब्रे भए भने लिगेसी मिडियाको चारो नै नबच्न सक्छ ।
यस्तो अवस्थाबाट गुज्रिरहेका मिडियाहरूको प्रतिपक्षी भूमिका स्वतः निम्सरो हुन्छ । यद्यपि, सानै स्वरमा भए पनि उनीहरू अमेरिकी चरित्र, हित र जिम्मेवारीको कुरा भने गर्न छोडेको छैनन् । अहिले अमेरिकामा तनाव र अनिश्चितताको पारो ह्वात्तै बढेको छ । यो पारो बढाउन महँगी, बेरोजगारी त कारण थिए नै, त्योभन्दा पनि जब्बर कारणका रूपमा ट्रम्प थपिएका छन् । यसको असर दुवै कित्तामा छ । ट्रम्पवादीहरू सारा दाउहरू आफ्नो पक्षमा पल्टिन्छ भन्ने ठानिरहेका छन् । यो अव्यवहारिक अपेक्षाको एक एक गरेर बिस्तारै अवसान हुनेछ । त्यसले उनीहरूमा अर्कै किसिमको निराशा, हतासा र कुण्ठा जन्माउने छ । त्यसले के परिणाम दिन्छ ? अहिले नै भन्न सकिने अवस्था छैन ।
अर्कोतिर, ट्रम्प विरोधीहरूमा एक किसिमको भय र अनिश्चितता छ । त्यसको सबैभन्दा ठूलो निशानामा गहुँगोरो अनुहार भएका ‘ब्राउन फेस’ छन् । उनीहरू कुनै पनि बेला अपराधीका रूपमा करार भएर देश निकाला हुन सक्छन् । अमेरिकी नागरिकका रूपमा प्राप्त अङ्गीकृत नागरिकता समेत अध्ययनको विषय हुन सक्छ भनेर त्रासको खेती गरिएको छ ।
ट्रम्प.२ सुरु भएसँगै अमेरिका आएर यतै बस्ने सोच बनाएका नेपालीहरूको अमेरिकी सपनामाथि आकाश खसेको छ । उनीहरू अब अमेरिकी सपनाको ‘बाटो बन्द’ भएको ठानेर निराश छन् । माथिल्लो बाटो भएर आउनेहरू अमेरिका बस्ने सोच बदल्न बाध्य छन् । तल्लो बाटो त अब लगभग बन्द नै हुने भएकाले उनीहरूले अमेरिकी सपना नै देख्न छोड्नुपर्ने हुन्छ, छोड्नेछन् । यद्यपि, जसरी भए पनि अमेरिका पुर्याइन्छ, अमेरिका पुगेपछि सबै ठीक हुन्छ भनेर ठग्ने मानव तस्करहरूको जालमा सोझा साझा नेपाली पर्ने सम्भावना भन्ने निमिट्यान्ने हुने देखिँदैन ।
सरकारी कोणबाट हेर्दा, ट्रम्पको ध्यान बढी अमेरिकामै केन्द्रित हुँदा नेपालमा त्यति बढी अमेरिकी चलखेल नहुन सक्छ । तथाकथित अमेरिकी सपनाको सम्भावित भ्रूणहत्याले धेरै नेपालीले त्यो सपना देख्न छोड्छन् । परिणामस्वरूपः नेपालबाट भइरहेको बौद्धिक तथा पूँजी पलायनमा केही समयकै लागि भए पनि राम्रैसँग तगारो लाग्छ । यसैगरी, अर्को सकारात्मक पक्ष भनेको नेपालमा बढ्न सक्ने डलर रेमिट्यान्सको हो ।
अबको केही समय अमेरिकामा बस्ने सम्भावना सकिदै गएको वा बस्न असुरक्षित महसुस भएका नेपालीहरूले जतिसक्दो बढी पैसा नेपाल पठाउँछन् । अमेरिकी डलरको भाउले कीर्तिमान बनाएको बेला त्यसले नेपालको विदेशी मुद्राको सञ्चिती बढाउन सक्छ । तर, चनाखो हुनुपर्ने कुरा के छ भने त्यो पैसा धेरैजसो हुण्डी वा साटफेरको रूपमा मात्र नेपाल आउन सक्छ । त्यसो हुँदा नेपाली बजारमा मुद्रास्फीति बढ्न पनि सक्छ । यसका अतिरिक्त तल्लो बाटो बन्द हुँदा अमेरिका आउनेहरूलाई चर्को ब्याजमा ऋण लगाउनेहरूको गोरखधन्दा पनि बन्द हुने छ ।
अब त्यो पैसा बैंकिङ च्यानलमा आउने हुँदा त्यसबाट नेपाली अर्थतन्त्र अरू चलायमान हुन सक्छ । त्यसबाट पनि नेपाली अर्थतन्त्रमा सकारात्मक योगदान पुग्न सक्छ । ट्रम्प.२ ले नेपालमा सकारात्मक असर मात्र पार्दैन, केही नकारात्मक असर पनि पार्छ । ‘अमेरिका पहिलो’ नीतिका कारण बाँकी विश्व अमेरिकाका लागि दोस्रो हुन्छ । त्यो मेसोमा नेपाल पनि पर्छ । परिणाम स्वरूपः नेपालले पाउँदै आएको अमेरिकी सहयोगराशीमा ठूलो मात्रामा कटौती हुन्छ । नेपालले निर्यातमा पाउँदै आएको भन्सार सुविधामा पनि कटौती हुन्छ ।
यसले अहिले अमेरिकासँग नाफामा रहेको व्यापार फेरि घाटामा जानेछ । ट्रम्पको अमेरिकी पहिलो नीतिका कारण अमेरिकी डलर अरू बलियो हुनेछ । यसले भारतीय रुपैयाँलाई बढी कमजोर बनाउँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुन्छ । त्यसले महँगो डलर तिरेर आयातमा आधारित अर्थतन्त्रमा टिकेको नेपाल अरू थप अप्ठ्यारोमा पर्छ । देशमा मुद्रास्फीति र महँगी अरू बढ्छ । यद्यपि, रेमिटेन्स बढ्ने हुँदा त्यसले केही राहत दिन सक्छ ।
स्तम्भको मैजारोमा…स्तम्भको मैजारो गर्दा यति भन्नैपर्ने हुन्छ, ट्रम्प.२ सुरु भएसँगै अमेरिका अर्को चार वर्ष विश्वभूमण्डीयकरणको लिकबाट बाहिरिने खतरा बढेको छ । त्यो भनेको अमेरिका कोरा राष्ट्रवादको नाममा एक्लिने हो । त्यसबाट अन्ततः अमेरिका अमेरिका जस्तो हुँदैन, ट्रम्पेरिका हुन्छ । यसो हुँदा त्यसको असर अमेरिका भित्र त पर्छ नै, त्यसको ट्रिकल डाउन संसारभर पर्छ । त्यही संसारको एउटा देश नेपालमा पनि त्यसको छिटो नपर्ने कुरै हुँदैन । छिटो कस्तो र कत्रो ?, त्यसको दिशा र दशा भने समयकै ऐनामा हेर्ने हो । बाँच्नपर्छ, बाँचे देखिन्छ ।
अमेरिकामा विभिन्न कागजी वा कागजविहीन अवस्थामा ठूलो सङ्ख्यामा नेपालीहरू रहेका छन् । कागजी अवस्था भन्नाले अङ्गीकृत नागरिकका रूपमा रहेका नेपाली–अमेरिकीहरू, स्थायी नेपाली नागरिककै रूपमा स्थायी बसोबास गरिरहेका ग्रीनकार्डवाहकहरू, कामदार भिसा, विद्यार्थी भिसालगायत अन्य भिसामा रहेकाहरू, अस्थायी बसोबासको सुविधा पाएका टीपीएसबाहकहरू र शरणका लागि आवेदन दिएर मुद्दाको प्रक्रियामा रहेकाहरू भन्ने बुझ्नुपर्छ । अनि, कागजविहीन भन्नाले कुनै पनि कानुनी कागज बिना अमेरिकामा लुकेर बस्ने खाँटी नेपालीहरू बुझ्नुपर्छ ।
यद्यपि, यस्तो खाँटी अवस्थाका नेपालीहरूको सङ्ख्या खासै उल्लेख्य छैन । तर, यो महत्त्वपूर्ण छ किनभने ट्रम्पको आँखाका कसिङ्गर नै यो वर्गका ‘ब्राउन फेस’ हुन् । त्यो ‘फेस’ हुनु नेपालीहरूको लागि अभिसाप नै हो । सबै ‘ब्राउन फेस’ नेपालीको मनोदशा उही हो । तर, सानो सङ्ख्यामा उग्र ट्रम्पवादी भएका नेपालीहरू भने मूतको न्यानो तापिरहेका छन् । उनीहरू आफूलाई कागजपत्रवाला खाँटी अमेरिकी ठान्छन् र त्यो अवस्थामा नभका नेपालीलाई सकभर पस्नै नदिने, अनि पसिसकेकालाई चाँहि गोर्खेलौरी लगाएर नेपाल पठाउनुपर्ने ठान्छन् ।
यसमा उनीहरूको तर्क छ, ‘आउरे भाउरे जस्तो पनि नेपाली अमेरिकामा आएपछि आफ्नो के महत्व भयो र ?’ यसरी आफूलाई खाँटी अमेरिकी ठान्नेहरूले आफ्नो ब्राउन फेस परिवर्तन गर्न नसकिएको र त्यसको असर के हुन्छ भन्ने चाँहि हेक्का राखेका छैनन् । अझ गम्भीर कुरा त के छ भने ट्रम्प समावेशी (डिइआइए) सोचका घोर विरोधी हुन् । यसबाट ब्राउन फेस नेपालीले पाउँदै आएको सानो आरक्षण पनि गुम्ने छ । यसको प्रत्यक्ष प्रभाव सङ्घीय र राज्य स्तरमा प्राप्त हुने नोकरी, व्यवसाय र अन्य सुविधाहरूमा पर्छ । त्यसका बारेमा ट्रम्पवादीहरूलाई थाहा छैन नै, बाँकीलाई पनि मनग्य चेतना छैन ।
यस अतिरिक्त ट्रम्पको पक्षपोषण गर्ने अतिवादी क्रिश्चियनहरूका कारण अन्य धर्मको अभ्यास र गतिविधिमा पनि प्रभाव पर्छ । त्यसको छाया असर हिन्दू र वौद्ध धर्मवालम्वी नेपालीहरूले भोग्नुपर्छ । यी धर्मवालम्वीहरूले सामुदायिक केन्द्र निर्माण वा सञ्चालनका नाममा पाउँदै आएको सानो सुविधा पनि गुमाउँछन् । समग्रमा अमेरिकामा रहेका ‘ब्राउन फेस’ नेपालीहरू ट्रम्पकालमा अरू वर्णका अमेरिकीझैँ छाती खोलेर मानसिक रूपमै हामी अमेरिकी भन्न सक्ने अवस्थामा हुँदैनन् । व्यक्तिगत र व्यावसायिक रूपमा अरू बढी असुरक्षा महसुस हुनेछ । फलतः उनीहरू थप अल्पसङ्ख्यक चुनौतीहरू भोग्न अभिसप्त हुनेछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
डा.प्रदीप भट्टराई । अमेरिका