भारतबाट नेपालगन्ज नाका हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले बढ्न थालेको हो । चालु आर्थिक वर्ष २०८१–०८२ को छ महिनामा नेपालगन्ज नाकाबाट यी सबै वस्तुको आयातमा उल्लेख्य वृद्धि भएको हो ।
गत वर्ष सबैभन्दा धेरै घटेको चिनीको आयात समीक्षा महिनामा सोह्र गुणाले वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार गत आव २०८०–०८१ को छ महिनामा ८४ लाख ७३ हजार रुपैयाँको चिनी आयात भएकोमा चालु आवको सोही अवधिमा सोह्र गुणाले वृद्धि भई १४ करोड १२ लाख ९२ हजार रुपैयाँको चिनी आयात भएको छ ।
गत आवको छ महिनामा चिनी आयातबाट ३९ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा छ करोड २३ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको पनि कार्यालयले जनाएको छ । चामल आयात पनि बढेको कार्यालयले जनाएको छ । गत आवको छ महिनामा दुई अर्ब २६ करोड ८९ लाख ९० हजार रुपैयाँको चामल आयात भएकोमा चालु आवको सोही अवधिमा दुई अर्ब ९२ करोड १७ लाख ९४ हजारको चामल आयात भएको छ ।
चामल आयातबाट २५ करोड ९८ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएकोमा चालु आवमा ३० प्रतिशतले वृद्धि भई ३३ करोड ८१ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । दालको आयात पनि बढेर ८२ करोड १० लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आवको छ महिनामा यो नाकाबाट ७१ करोड ५५ लाख ५० हजार रुपैयाँको दाल आयात भएको थियो । नेपालगन्ज नाकाबाट आयातमा वृद्धि भएका चिनी, चामल, दाल र सुती कपडा सबैभन्दा बढी अवैध आयात हुने सामानमा पर्छन् ।
चालु आवमा तस्करी र अवैध आयातमा कडाइ गरिएकाले वैध आयात वृद्धि भएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले अवैध आयात बढेपछि वैध आयात घट्ने गरेको जनाउँदै अहिले वैध आयात बढ्नुको अर्थ अवैध आयात घटेको नै मान्नुपर्ने बताए । उनले त्यसका साथसाथै माग र खपत बढ्दा पनि आयात वृद्धि हुने गरेको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके