प्रहरी प्रधान कार्यालयले गृहमन्त्री रमेश लेखकको रुचिमा केही जिल्ला र कार्यालय प्रमुखहरुको सरुवा गर्ने तयारी गरेको छ । काठमाडौं परिसर तथा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखको सरुवा गरेर गृहमन्त्रीलाई खुशी पार्ने भएको हो ।
पुस २९ गते राति लामो रस्साकस्सीपछि नेपाल प्रहरीका २५ प्रहरी उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिससँगै चार जिल्लाका प्रहरी प्रमुख पद खाली भएपछि काठमाडौ प्रहरी परिसर र उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रमुखहरुको पनि सरुवा चर्चा चलेको छ ।
काठमाडौ परिसरमा वसन्त रजौरे र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराई आएको साढे आठ महिना मात्रै भएको छ । सामान्यतया कार्यालय प्रमुखहरुको सरुवा एक वर्षभन्दा अघि हुँदैन । यी दुई कार्यालयमा आउनका लागि ठूलै शक्ति केन्द्रको दलबल आवश्यक पर्ने भएकाले दुई एसएसपीहरु यसका लागि तयारी अवस्थामा रहेका छन् ।
खासगरी एसएसपी रमेश बस्नेत र विश्व अधिकारीले यी दुई कार्यालयको कमाण्ड गर्ने इच्छा जाहेरमात्र गरेका छैनन् न्वारानदेखिको बलसमेत लगाएर शक्ति केन्द्र धाइरहेका छन् । आइजीपी वसन्त कुँवरले पनि उनीहरुलाई त्यहाँ ल्याउने आश्वसन दिइसकेका छन् । उनीहरुको सरुवा हुनु अघि सिआइबीबाट सुदर्शन कोइराला लागु औषध व्यूरोको प्रमुखमा पुगिसकेका छन् ।
उनी नुवाकोटस्थित शेरा दरबार जग्गा प्रकरणको अनुसन्धानमा मुख्य अधिकृतको भूमिकामा थिए । अहिले बारा प्रहरी प्रमुख महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का, नुवाकोटका शान्तिराज कोइराला र इलामका प्रभु ढकाल एसएसपीमा बढुवा सिफारिस भएसँगै त्यहाँ प्रमुख रिक्त भएको छ । यसका साथै अन्य केही जिल्लाका एसपीहरुसमेत सरुवाको तयारी भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार दर्जन जिल्लाका प्रहरी प्रमुख हेरफेरको तयारी छ । जस्तो पर्सा, रुपन्देही, बाँके, गोरखा, काभ्रे, कञ्चनपुर, झापा, बागलुङ, कैलाली, डोटी, गुल्मी, मोरङ, सुर्खेत लगायत जिल्लाका एसपीहरुको एक बर्ष समयावधि पुग्न लागेको छ । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवर सरुवाको तयारीमा गरेका छन् ।
जसमध्ये पर्सा, बारा, रुपन्देही, बाके, काभ्रे, झापा, मोरङ, कैलाली, कञ्चनपुर जानको लागि एसपीहरु दौडधुप सुरु भइसकेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा जानको लागि आधा दर्जन एसपीहरु लागिपरेका छन् । पर्सामा कुमोद ढुंगेललाई काठमाडौं सरुवा गराएर त्यहाँ जानका लागि केही एसपीहरु अहिले गृहमन्त्रीको सरकारी निवासमा धाउन थालेका छन् ।
आकर्षक जिल्लाको रुपमा चिनिएको पर्साका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सुरक्षा अधिकारीहरुले ताकेका छन् । एसपीद्वय सन्तोष तामाङ र राजन लिम्बूले आफ्नो च्यानल प्रयोग गरिरहेका छन् । तामाङले झापाका कृष्ण सिटौलालाई पनि उपयोग गरिरहेका छन् । लिम्बुको यसअघि जिप्रका मोरङ काज सरुवा भएको थियो ।
तर उनलाई बीचमै फर्काएकाले यसपल्ट राम्रो जिल्ला कमाण्ड गर्न दिने तयारी रहेको छ । प्रबन्धमा बसेर बद्नामी कमाएका एसपी गोविन्द पुरीले पनि आकर्षक जिल्लाका लागि एमाले पंक्तिलाई प्रभावमा पार्न खोजिरहेका छन् । तर आइजीपीले उनलाई बारा पर्सा, झापा बर्दिया, बाँके, रुपन्देहीमा पठाउन चाहेका छैनन् । उनले रुपन्देही जानका लागि लविङ गरिरहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं