झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१–०८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार २३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।
गत आव २०८०–०८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।
कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१–०८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आवको छ महिनामा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०–०८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्क अनुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार १४१, भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलाम लगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा रु १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । झापा