सूचनाको शक्ति - The Power Of Information

        

जंगली जनावरको आतंकले आर्थिक र मानसिक समस्या

बाँकेको राप्तीसोनारी गाउँपालिका–२, राजपुरका किसानहरु जंगली जनावरको आतंकले आर्थिक र मानसिक दुवै समस्या झेलिरहेका छन् । बाघ, बाँदर, निलगाई र बँदेलका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुगेको छ तर समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनीहरूको गुनासो छ ।

स्थानीय खडकबहादुर ओली भन्छन्, ‘बाघले खोरबाटै बाख्रा तानेर लग्छ । समस्या लिएर गाउँपालिका र राष्ट्रिय निकुञ्जमा गयो भने कसैले सुन्दैन ।’ उषा सुनारको अनुभव अझै मार्मिक छ । उनले भनिन्, ‘मेरो बाख्रा खाइदिएको तीन वर्ष भयो । राहतका लागि निवेदन दिन निकुञ्ज जाँदा स्थायी लेखा नम्बर मागिन्छ । यस्तो झन्झटिलो प्रक्रियामा को जाने ?’

यसैगरी, रामबहादुर रोकायले बाघले गाईका बाच्छा खाए पनि राहत लिने प्रक्रियाको झन्झट सुनेर निवेदन नै नदिएको बताए । ‘हप्तौँ पिच्छे बाघले पशुचौपाया तान्छ, तर कुनै सुनुवाई हुँदैन,’ उनले भने । एकबहादुर खत्रीले राहतका लागि निवेदन दिएर फाइल अगाडि बढाउने खर्च राहतभन्दा बढी हुने भएकाले धेरैले आशा गुमाएको बताए ।

वनशक्ति सामुदायिक वन उपभोक्ता समितिकी सचिव शान्ति चन्दले भनिन्, ‘क्षतिको राहत र बीमाबारे समुदायलाई जानकारी नै छैन । यसले समस्या अझै बढाएको छ ।’ लोकबहादुर विश्वकर्माले निकुञ्ज र स्थानीय निकायबीच समन्वयको अभावले राहत प्रक्रिया झन् कठिन बनेको गुनासो गरे । वन्यजन्तुबाट हुने क्षतिबाट समुदायले भोग्नुपरेको बताउँदै क्षति अनुसारको राहत नपाएको राजपुरका किसानहरूको गुनासो छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार ०८:२८

लोकप्रिय