कोहलपुर नगर पालिका कार्यालयले विभिन्न समयमा केहि महत्वाकांक्षी योजनाहरू अगाडि बढाएको र ती योजनासँग सम्बन्धीत कार्यहरू गर्दै आएको छ, तर केही अति महत्वपूर्ण भनेर निर्माण गरिएका तथा अगाडि बढाइएका ठुला अनुत्पादक योजनाले नगरको आर्थिक स्थितिमा नकरात्मक असर पारेको छ । दशौं करोडको लगानीमा बनेका बन्दै गरेका योजना विकासले कोहलपुरको भूगोल र भूमिलाई छोएर पनि समाज समुदाय र कोहलपुरको समृद्धिलाई छुन सकेको छैन ।
देशको अर्थतन्त्रमा मन्दी छाएर संकटग्रस्त बन्दै गएको आर्थिक बिषमता पूर्ण परिस्थितिमा राज्यको लगानी तथा ऋणात्मक बजेटमा निर्माण गरिएका यी योजनाहरूमा विशेषगरी भ्युटावर (धरहरा), नयाँ बसपार्क, कवर्ड हल, उत्पादनहिन आयात गरिएका कोनोकार्पस वृक्षारोपण, गुणस्तरहिन शिक्षक भर्ती केन्द्र, कर्मचारी अपारदर्शी तवरको कार्यकर्ता भर्ती केन्द्र, प्राबिधिक र योजनाको मिलेमतोमा गोप्य उपभोक्ता समितिहरू र कोटेसनजस्ता क्रियाकलापहरु छन् । यी सबै कार्यहरूले कोहलपुरको समृद्धि र विकासको मार्गलाई गतिशीलता प्रदान गर्नुको साटो अन्यौल र उपलब्धिको मार्ग अवरुद्ध गरेको देखिन्छ । यस लेखमा, यी योजनाहरूको आलोचना गर्ने र कोहलपुरको भविष्यका लागि के कस्ता सुधारात्मक उपायहरू आवश्यक छन् भन्ने बिषयमा चर्चा गरिनेछ ।
कोहलपुर नगरपालिकाले भ्युटावर घणटघर धरहरा निर्माण गर्ने निर्णय जून उद्देश्य लक्ष्य लिएर गरेको थियो । जुन स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्नको लागि एक उद्देश्यको रूपमा प्रस्तुत गरिएको थियो । यसको निर्माण कार्यान्वयनको क्रममा न त पर्याप्त पूर्व प्राविधिक तयारी भए, न त यसको वास्तविक आवश्यकता र लाभको मूल्याङ्कन गरिएको थियो । भ्युटावरको निर्माणले न तत्कालीन अवस्थाको लक्ष्य र जनसाधारणको आवश्यकता नै पुरा गरेको छ ? सारमा यसले नगरको वित्तीय संसाधनको ठूलो हिस्सा मात्र खर्च गरिरहेको छ ।
कोहलपुरको नगर बिकास समितिको तत्कालीन योजना बिकासको रणनीति मुताविक निर्माण भएको पुरानो बसपार्कले सहज रुपमा सेवा प्रवाह र स्थानीय स्वरोजगार सङ्गै उत्साहजनक कारोबार संचालन गरेकै थियो । जनप्रतिनिधिहरुले लहड नाम र दामको चलखेलले अन्ततः महत्वाकांक्षी ऋणात्मक योजना तयार गरी अत्याधुनिक आधुनिक नयाँ बसपार्कको निर्माण परियोजनाले नागरिकलाई आवागमनमा सहजता दिने उद्देश्य राखेको भए पनि यसको प्राविधिक व्यवस्थापन र सञ्चालनमा दर्जनौं समस्या आएको छ । नगर बिकास कोषलाई सावाँ ब्याज २०९७ साल सम्म निरन्तर रुपमा तिर्नुपर्ने बाध्यता थोपरिएको छ । यस परियोजनाले कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार्ने सट्टा उल्टै अव्यवस्था र असुविधा निम्त्याएको छ ।
कोहलपुरमा आर्यघाटको निर्माण पनि एक विवादास्पद विषय बनिसकेको छ । धार्मिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिएको यो योजना ठीक ढंगले कार्यान्वयन भएको छैन । अपारदर्शी आर्थिक चलखेल अपरिपक्व योजनाको प्राविधिक कार्यले अन्ततः बिबाद मुक्त छैन । आर्यघाटको निर्माणले स्थानीयको धार्मिक र सांस्कृतिक चासोहरूलाई मद्दत पुर्याउन सक्थ्यो, तर यसको कार्यान्वयनमा आर्थिक र प्राविधिक समस्याहरू देखिएका छन्, अदालतको इजलासमा बिचाराधिन रहेको छ । कवर्ड हल निर्माण पनि अनुत्पादक योजनाको एउटा उदाहरण हो । निर्माण थालनी भएको बर्षौसम्म पुर्णता पाउन नसकेको यो योजना निर्माण सामाग्रीको कवाडी खाना बनेको छ ।
यत्रतत्र छरपस्ट बर्षौदेखि फालिएका निर्माण सामाग्रीहरुको प्राविधिक परिक्षण बिना नै प्रयोग भैरहेको देखिन्छ । चारैतिरबाट सरकारी गैरसरकारी निजि क्षेत्रको चेपुवामा परेर साघुरिएको तेह्र बिगाह खेलमैदान क्षेत्र सत्ताधारी राजनीतिक दलको समेत निशाना बनेको छ कहिले फुटबल मैदान त कहिले अन्य नामले चर्चामा आएकै छ । यसको उद्देश्य आवासीय सुविधाजनक खेलमैदान ब्यायामशाला निर्माण देखिन्छ । तर यहाँको प्राविधिक कमजोरी र अनुत्पादक संघ संस्था र पार्टी कार्यालय सम्म निर्माणको स्थान चयनले यो योजना पनि प्रभावकारी साबित हुने देखिदैन । यसरी, यी योजनाहरूको कार्यान्वयनले नगरको बजेटमा ठूलो दबाब बनाएको छ ।
नगरपालिकाले शिक्षामा शिक्षण सहायक सहजकर्ता, ज्यालादारी, अनुदान, राहत लगायत क्षेत्रमा शिक्षक कर्मचारीहरूको भर्तीको लागि केन्द्र स्थपित गरेको देखिन्छ । पहिलो चरणको भर्ती केन्द्रको परिणाम आधारभूत तह परिक्षाको नतिजाले ब्यवहारिक रुपमा असफल भएको छ । यसरी गरिने अपारदर्शी अनियंत्रित भर्ती केन्द्रले गुणस्तरहिन शिक्षकहरूको चयन गरी नगरका शिक्षा संस्थाहरूमा समस्याहरू उत्पन्न गरेको छ । यस्ता निर्णयले नगरका बालबालिकाको शिक्षा स्तरमा गिरावट ल्याउने मात्र होइन, नगरको भविष्यमा दीर्घकालिक असर पनि पार्नेछ । यस्तै, अपारदर्शी कार्यकर्ता भर्ना प्रक्रियाले नगरपालिकाको कार्यक्षमता र विश्वासको क्षति गरेको छ । जब सार्वजनिक नियुक्ति प्रक्रिया स्पष्ट, निष्पक्ष र पारदर्शी हुँदैन, तब जनताको विश्वास गुम्छ र भ्रष्टाचारका सम्भावनाहरू बढ्छ ।
कोहलपुर नगरपालिकामा पछिल्ला बर्षहरुमा नीतिगत रुपमै नियोजित हिसाबले आफ्नो स्वार्थपूर्तिको माध्यमको रुपमा सुनियोजित उपभोक्ता समिति गठन र मिलेमतोमा कोटेसन बनाउने कार्य प्राथमिकतामा रहेको छ । यसरी गोप्य उपभोक्ता समितिहरू र कोटेसनको प्रक्रियाले निम्त्याउने भ्रष्टाचार र अनियमितताका कारण आलोचनाको घेरामा परेको छ । यी समितिहरू र प्रक्रियाबिना कुनै प्रक्रिया र वास्तविक निगरानीको बिना चलिरहेका छन्, जसले नगरका परियोजनाहरूलाई अपारदर्शी र अस्थिर बनाएको छ । यसकारण नगरपालिकामा आर्थिक अपव्यय र अनुत्पादक योजनाहरूको प्रक्षेपण भइरहेको छ ।
कोहलपुरको भविष्य उज्जवल बनाउनको लागि उपयुक्त ती योजनाहरूको मूल्याङ्कन र समीक्षा अत्यन्त आवश्यक छ । हिजो उमेरका बा ले गरेको योजना बिकासको जगले भौतिक खण्डहर बनाएको सुन्दर नगरी कोहलपुरले समृद्धिको यात्रा तय गर्न असफल नै रह्यो । पुरातनवादी सोच अब्यवहारिक कार्य योजनाले नवीन सोच युवा जोशलाई मार्ग निर्देश गर्न सकेन । आवधिक स्थानीय निर्वाचनको पछिल्लो सरकारले परम्परागत रैथाने जिवनजगत शैलीलाई पूर्णतः निशेध मात्रै गरेन नयाँ स्वनिर्णित रणनीति तयार गरेको देखियो । स्थानीय सरकार जनप्रतिनिधि र सेवारत कर्मचारी सेवा प्रदायकभन्दा पनि सेवा प्रालिका संचालक कर्मचारी र लाभका समान हिस्सेदार जस्ता देखिन्छन् ।
कुनै नाफामुलक संस्थाको निश्चित उद्देश्य पुरा गर्न तहगत रणनीतिक योजनामा लागि परेको देखिन्छ । समग्रमा यस क्षेत्रमा भैरहेका ठुला र अनुत्पादक योजनाहरूको कारण नगरपालिकाको वित्तीय स्थिति बिग्रिरहेको छ । आर्थिक स्थिरता हासिल गर्नको लागि, नगरपालिकाले योजना निर्माण गर्दा साँचो आवश्यकता र दीर्घकालिक फाइदाको मूल्याङ्कन गर्नुपर्नेछ । नगरको भविष्य निर्माणका लागि योजनाहरूको पारदर्शीता र पारदर्शी कार्यान्वयनमा ध्यान दिनु अत्यन्त महत्त्वपूर्ण छ ।
सारांशमा, कोहलपुर नगरपालिकाले जो योजनाहरू अघि बढाएको छ, ती योजनाहरूको प्रभावकारिता र परिणामहरूको मूल्याङ्कन नगरी कार्यान्वयन गर्दा नगरको आर्थिक स्थिति कमजोर बनिरहेको छ । भविष्यमा यस्ता योजनाहरूलाई निरिक्षण र समीक्षा गरेर, नगरका नागरिकका वास्तविक आवश्यकता र समस्या समाधान गर्ने तर्फ अग्रसर हुनु आवश्यक छ । स्थानीय सरकारका अनियमित अनियंत्रित अपारदर्शी कार्य योजना र नीतिगत सुक्ष्म निरीक्षण अनुगमन गर्नुपर्ने जिम्मेवारी राजनीतिक दल प्रतिपक्षी दल नागरिक समाज र संचारकर्मीले उत्कृष्ट भुमिका निर्वाह गर्न अपरिहार्य छ अन्यथा आज गरिने देखावटी बनावटी महत्वका योजना सिङ्गो समाजका लागि अभिशाप बन्ने निश्चित छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
भुमबहादुर भण्डारी । युवा नेता एवं समाजसेवी