खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । बाँकेमा गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न सुरु गरिएको थियो ।
गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताए । उनले पुस १९ गतेपछि किसान आउन छोडेको बताए । उनका अनुसार धेरै किसानले धान बिक्री गरिसकेको र अब यस वर्षको धान खरिद लगभग यति नै हो ।
‘हामीले लक्ष्य लिए अनुसार मोटा धानको कोटा पूरा गर्न सकेनौँ, मध्यम धानको भने कोटा लगभग पूरा भयो, माग गरे अनुसार र सोचे अनुसार मोटा धान आएन तर मध्यम धान भने माग अनुसार आयो र हामीले खरिद गर्यौँ,’ उनले भने । गत पुस १९ गतेपछि किसान आउन छाडेको, फोन पनि नगरेको तथा सम्पर्कमा नआएका कारण यसवर्ष बाँकेमा धान खरिद कार्य लगभग सकिएको उनले बताए ।
बाँकेका किसान पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उनले बताए । नेपालगन्ज कार्यालयले यसवर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको थियो ।
मोटा धानको मूल्य रु तीन हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको रु तीन हजार ५८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको कार्यालयले जनाएको छ । कार्यालयले यस वर्ष मोटा धान रु दुई करोड ६१ लाख दुई हजार १३३ रुपैयाँ ६५ पैसामा धान खरिद गरिएको हो ।
कार्यालयका अनुसार मध्यम धान रु आठ करोड ७२ लाख ६९ हजार, १६२ रुपैयाँ २३ पैसा गरी कूल रु ११ करोड ३३ हजार ७१ लाख २९५ रुपयाँ ८८ पैसाको धान खरिद गरिएको हो । धान बिक्रीका लागि जिल्लाका ६७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराए पनि ५६८ जना किसान र पाँच वटा सहकारी संस्थामार्फत् बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके