सूचनाको शक्ति - The Power Of Information

        

अध्ययन भन्छ, ‘मोटोपनाको नयाँ परिभाषा दिनुपर्छ’

अहिले धेरै मानिसमा मोटोपना भएको भनिँदै छ जबकि त्यसको ‘अझ बढी सटिक’ र ‘सूक्ष्म’ परिभाषा आवश्यक रहेको विश्वभरिका विज्ञहरूको एउटा अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

उक्त अध्ययन अनुसार धेरै बोसो भएका बिरामीहरूको समग्र स्वास्थ्यबारे चिकित्सकहरूले विचार गर्नुपर्छ न कि उनीहरूको बडी मास इन्डेक्स (बीएमआई) मात्र हेर्नुपर्छ । साथै तौलका कारण दीर्घरोग निम्तिएका मानिसहरूलाई ‘क्लिनिकल मोटोपना’ भएका र कुनै स्वास्थ्य समस्या नदेखिएका मोटा मानिसलाई ‘प्रि–क्लिनिकल मोटोपना’ भएका भन्नुपर्ने उल्लेख छ ।

विश्वभरि मोटोपना भएका एक अर्बभन्दा बढी मानिस रहेका छन् र तौल घटाउने प्रेस्क्रिप्शनका औषधिहरूको माग उच्च रहेको छ । द ल्यान्सेट एन्ड इन्डोक्राइनोलजी नामक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनलाई विश्वभरिका ५० जनाभन्दा स्वास्थ्यविद्हरूले समर्थन गरेका छन् ।

‘पुनः परिभाषा’

‘मोटोपना एउटा स्पेक्ट्रम हो,’ समूहको नेतृत्व गरेका किङ्ग्स कलेज लन्डनका प्राध्यापक फ्रान्सुको रुबिनो भन्छन्, ‘केही मानिसहरूलाई मोटोपना छ र उनीहरू सामान्य जीवनयापन गरिरहेका छन् । सामान्य ढङ्गले काम गरिरहेका छन् ।’

अरू चाहिँ हिँड्न वा राम्रोसँग सास लिन सक्दैनन् अथवा विभिन्न स्वास्थ्य समस्यासँगै ह्विलचेअरमा उनीहरू निर्भर हुन्छन् । रोगसहितका बिरामी र स्वस्थ तर भविष्यमा रोगको जोखिममा रहेका मोटा मानिसबीच फरक छुट्ट्याउनका निम्ति मोटोपनाको परिभाषा ‘बदलिनुपर्ने’ अध्ययन प्रतिवेदनले जनाएको छ ।

हाल धेरै देशमा बीएमआई ३० भन्दामाथि भएका मानिसहरूलाई मोटोपना भएको भन्ने गरिएको छ । उक्त मापनमा मान्छेको उचाइ र तौलमा आधारित भई शरीरमा रहेको बोसोको अनुमान गरिन्छ । यूकेका धेरै हिस्सामा तौल सम्बन्धी मानिसहरूको स्वास्थ्य अवस्थाको जानकारी एनएचएसलाई आवश्यक हुन्छ ।

तर उक्त अध्ययन प्रतिवेदनका अनुसार बीएमआईले बिरामीको समग्र स्वास्थ्य अवस्थाबारे केही खुलाउँदैन र मांसपेशी र शरीरको बोसो छुट्ट्याउन विफल हुन्छ अथवा कम्मर अनि अरू अङ्ग वरपर जम्ने खतरनाक बोसोबारे खुलाउँदैन ।

विज्ञहरूले नयाँ मोडेलको वकालत गरेका छन् जसले शरीरका अङ्गलाई असर पार्ने, उदाहरणका लागि मुटुरोग, श्वासप्रश्वास सम्बन्धी रोग र टाइप टू डाइबिटिज अथवा जोर्नीमा हुने दुखाइ– मोटोपनाका लक्षणलाई र दैनिक जीवनमा तिनले पार्ने असरलाई हेर्छ । यसले मोटोपना एउटा क्लिनिकल रोग भइसकेको र त्यसको औषधोपचार गर्नुपर्छ भन्ने देखाउँछ ।

तर ’प्रि–क्लिनिकल ओबेसिटी(मोटोपना)’ भएका व्यक्तिहरूलाई औषधि दिनु वा शल्यक्रिया गर्नुको साटो तौल घटाउन सल्लाह दिनुपर्छ, परामर्श दिनुपर्छ र स्वास्थ्य समस्या निम्तिने जोखिम कम गर्नका लागि हेरिराख्नुपर्छ । उपचार पनि आवश्यक हुन सक्छ ।

‘अनावश्यक उपचार’

‘मोटोपना एउटा स्वास्थ्य जोखिम हो, फरक के हो भने कतिपय मानिसका लागि यो एउटा रोग पनि हो,’ प्राध्यापक रुबिनोले भने । ‘मोटोपनाको अहिलेको अस्पष्ट दृश्य’को सट्टा ठूलो जनसङ्ख्यामा त्यसको जोखिमको स्तर बुझ्नका निम्ति मोटोपनलाई पुनःपरिभाषित गर्नु तर्कसङ्गत हुने उनी बताउँछन् ।

यो अध्ययन प्रतिवेदनमा योगदान पुर्याएका बालबालिकाको मोटोपना सम्बन्धी विज्ञ एवं सिड्नी विश्वविद्यालयस्थित प्राध्यापक लुइस बाउरका अनुसार नयाँ परिभाषाले मोटोपनका शिकार भएका बालबालिका तथा वयस्कको ‘अझ उपयुक्त स्याहार गर्न’ सघाउन सक्छ भने मोटोपनाको सङ्ख्या धेरै प्रमाणित गर्ने र अनावश्यक उपचारको समस्यालाई घटाउन सक्छ ।

शरीरको तौल २० प्रतिशतसम्म घटाउने औषधिको प्रेस्क्रिप्शन ठूलो स्तरमा भइरहेका बेला अध्ययन प्रतिवेदनले मोटोपनालाई पुनः परिभाषित गर्न ‘अझ बढी सान्दर्भिक’ रहेको औँल्याएको छ । किनकि त्यसले मोटोपना प्रमाणित गर्ने कार्यलाई अझ विश्वासिलो बनाउने छ ।

‘सीमित सहयोग’

रोयल कलेज अफ फिजिसिअन्सले ‘मोटोपनाको उपचार अरू दीर्घरोगको उपचार जस्तै उही चिकित्सकीय ध्यान र करुणाका साथ गर्न’ एउटा बलियो आधार अध्ययन प्रतिवेदनले तयार गरेको जनाएको छ । प्रि–क्लिनिकल र क्लिनिकल मोटोपनाबीच फरक छुट्ट्याउनु ‘एउटा महत्त्वपूर्ण कदम’ हुनेछ ।

साथै यसले गम्भीर रूपमा असर परिसकेका बिरामीलाई उपयुक्त स्याहार दिन प्रतिवेदनले मोटोपनाको पहिचान गर्न तथा समयमै आवश्यक कदम चाल्ने विषयमा जोड दिएको कलेजले जनाएको छ । तर स्वास्थ्य बजेटमा पर्ने असरबारे चिन्ताहरू छन् जसको अर्थ ‘प्रि–अबेसिटी’ समूहमा पर्ने बिरामीहरूका लागि थोरै रकम उपलब्ध होला भन्ने पनि हुन्छ ।

न्यूजील्यान्डको ओटागोस्थित एड्गार डाइबिटिज एन्ड ओबिसिटी रिसर्च सेन्टरका सहनिर्देशक एवं प्राध्यापक सर जिम मेनका अनुसार ‘चिकित्सकीय रूपमा मोटोपना भएको परिभाषामा पर्नेहरूको आवश्यकतामा जोड दिएको देखिन्छ’ र उनीहरूका लागि सहायता उपलब्ध हुने ‘सम्भावना निकै’ देखिन्छ ।

स्रोत : बीबीसी
प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ०८:५८

लोकप्रिय