सूचनाको शक्ति - The Power Of Information

        

एमालेमा ओलीको आलोचना गर्दा एक महिनामै आधा दर्जन नेता कारबाहीमा

नेकपा एमालेले आफ्ना थप दुई नेतालाई कारबाही सिफारिस गरेको छ । एमाले जिल्ला कमिटी कैलालीले प्रदेश सदस्य कृष्णराज सुवेदी र जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गर्न प्रदेश कमिटीमा सिफारिश गरेको हो । कृष्णराज प्रदेशका पूर्वसामाजिक विकास मन्त्रीसमेत हो । भीष्मराज र कृष्ण बाबुछोरा हुन् ।

शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकले सुवेदीद्वयलाई कारबाही सिफारिस गरेको एमाले कैलालीका सचिव ममताप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार सुवेदीद्वय एमालेबाटै निष्कासित नेता डा.भीम रावलको गतिविधिमा सामेल भएकाले कारबाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको हो ।

रावल कारबाहीमा परेपछि उनीहरू मातृभूमि जागरण अभियानमा सक्रिय छन् । रावल धनगढी आउँदा दुवैजना स्वागतमा खटिएका थिए । एमालेले कारबाहीको औपचारिक निर्णय गरेपछि रावलको अभियानलाई सहयोग गर्ने सुवेदीले बताए । एमालेको कारबाहीमा पर्नेमा सुवेदीद्वय मात्रै होइनन् । एमालेले पछिल्लो समय नेताहरूमाथि कारबाहीको शृंखला नै चलाएको छ ।

पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले पछिलो एक महिनामा ६ नेतालाई कारबाही गरेको हो । जसमा पूर्वउपाध्यक्ष डा.भीम रावलदेखि स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनासम्म छन् । यसैगरी, एमालेले कोशी प्रदेश सभाका पूर्वसांसद एवं उदयपुरका नेता विमल कार्कीलाई पनि कारबाही गरेको थियो ।

पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावल, पाण्डे र तिम्सिनालाई कारबाही गरेको थियो । रावललाई पार्टी सदस्यताबाटै हटाएको एमालेले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको हो । यसअघि एमालेले कोशी प्रदेश सभाका पूर्वसांसद कार्कीलाई फेसबुकमा पार्टीविरुद्ध लेखेको भन्दै ६ महिनाका लागि सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङसँग जग्गा दानमा लिएपछि कार्कीले खरो आलोचना गर्दै फेसबुकमा स्ट्याटस लेखेका थिए । पाण्डे र तिमिल्सिना माथिको कारबाहीको कारण पनि जग्गा दान प्रकरण नै थियो ।

एमालेले दानमा जग्गा लिन नहुने धारणा राखेको भन्दै पाण्डे र तिमिल्सिनालाई कारबाही गरेको थियो । गुरुङले पार्टीका लागि कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा अत्याधुनिक भवन बनाइदिने भन्दै भवन शिलान्यास गरेपछि उनीहरूले विरोध गरेका थिए । फरक मत राखेकै आधारमा कारबाही हुन थालेपछि एमालेका कतिपय नेताहरू सशंकित बनेका छन् ।

पार्टीमा बोल्नसमेत नपाउने अवस्था आएको भन्दै उनीहरूले चिन्ता प्रकट गरेका छन् । तर, एमाले अध्यक्ष ओली निकटका नेताहरू भने आफूलाई लागेको कुरा बोल्न पार्टी कमिटीहरूमा छुट भए पनि जथाभावी बोल्नलाई अनुशासनभित्र बसेको मान्न नसकिने बताउँछन् । पार्टी अनुशासन नमान्ने जो कसैलाई पनि कारबाही हुने उनीहरूको चेतावनी छ । पार्टीभित्रको अनुशासन सबैले मान्नुपर्ने उनीहरूको तर्क छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ०८:०५

लोकप्रिय